कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरमा बिरामीलाई भात मात्रै

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालमा भर्ना भएका बिरामी रोगअनुसार खानुपर्ने खानाबाट वञ्चित भइरहेका छन् । अस्पतालले मधुमेहका बिरामीलाई साँझबिहान नै दिँदै आइरहेको रोटीमा कटौती गरिदिँदा उनीहरू बाहिरबाट किनेर खान बाध्य भइरहेका छन् ।

यस्तै एक उदाहरण हुन्( धादिङकी ७० वर्षीया चन्द्रकुमारी श्रेष्ठ । तीन सातादेखि ट्रमा सेन्टरमा उपचाररत उनी अस्पतालले निशुल्क दिदैं आएको खाना खाँदिनन् । रुखबाट लडेर घाइते भएकी उनलाई मधुमेह छ । डाक्टरको सल्लाहअनुसार रोटी खानुपर्ने भएकाले उनी अस्पतालबाट दिएको खाना नखाएको बताउँछिन् । कुर्न बसेका छोरा नारायण श्रेष्ठले भने, ‘डाक्टरले सकेसम्म रोटी खुवाउनु भनेका थिए । आमालाई रोटी किनेरै खुवाउँछु ।’ रोटी दिइहाले पनि कुनै डढेको, कुनै नपाकेकै हुने हुँदा खेर फाल्नुपरेको उनले बताए ।


वीर र ट्रमा सेन्टर दुवैतिर गरेर दैनिक २ सयदेखि २५० बिरामी भर्ना हुन्छन् । तीमध्ये ५० भन्दा बढी बिरामीमा मधुमेह पनि हुन्छ । वीर अस्पतालमा भर्ना भएका बिरामीलाई खाना र नास्ताको निःशुल्क दिने व्यवस्था छ । यसका लागि सरकारले नै बजेट उपलब्ध गराउँदै आइरहेको छ । यी दुवै अस्पतालका अधिकांश बिरामी विपन्न हुन्छन् । कति खान नपाएकै कारण बिरामी परेर भर्ना भएका हुन्छन् । शल्यक्रिया गरेका र दीर्घरोगका बिरामीका लागि आधा औषधि खाना नै मानिन्छ ।


अस्पतालको लपारबाहीका कारण रोगअनुसार खाना मिलेको छैन । खाना मिलेका बिरामीले पनि टन्न खान पाइरहेका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भएदेखि अस्पतालले बिहानको दूध बिस्कुट, दिउँसोको खाना र बेलुकाको खाना अडकलेर दिने गरेको बिरामीको गुनासो छ । कुनै वार्डका बिरामी खाना नपुगेर भोकै हुने गरेका छन् । अस्पतालले खानामा दुवै समय दिँदैं आएको रोटी कटौती गरेर एक छाक रोटी दिन थालेपछि उनी किनेरै खान थालेका छन् । रोगअनुसारको खाना नमिल्दा उनीहरू अस्पतालबाट दिइएको खाना खाँदैनन् ।


विज्ञले बनाएको खाना चार्टअनुसार बिरामीलाई खाना दिइएको वीर अस्पतालका निर्देशक डा.केदारप्रसाद सेञ्चुरीको दाबी छ । उनी भन्छन्, ‘भातजस्तो सानो विषयमा संवाद नगरौं ।×’ वीरमा अहिले खाना चार्ट बनाउने भनिएका विज्ञ अस्पतालबाहिरका ‘डाइटिसियन’ हुन्, जसले गर्दा बिरामीको खाना तलमाथि भइरहेको कर्मचारीको दाबी छ ।


१ रुपैयाँमा ५ किलो गहुँको आँटा

वीर अस्पतालले न्यु सुयोग इन्टरप्राइजेज सप्लायर्स फर्मसँग १ रुपैयाँमा ५ केजी गहुँको आँटा लिने सर्तमा खाद्य सामग्री टेन्डर सम्झौता गरेको थियो । उक्त सम्झौता अघिल्लो जेठ २ गतेको हो । सम्झौताअनुसार चामल प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।


१ रुपैयाँमा ५ केजी गहुँको आँटा सप्लाइ गर्दा घाटा हुने भएपछि फर्मले चामल मात्रै सप्लाइ गरिदिँदा रोटीमा कटौती गरेको देखिन्छ । सुयोग त्यही फर्म हो, जसको योग्यता र अनुभव नपुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले टेन्डर स्वीकृत गरेको थियो । यही फर्मले अस्पतालमा १ पैसामै अन्डालगायत अन्य खाद्य सामग्री दिने सम्झौता पनि गरेको थियो । अस्पताल स्रोत भन्छ, ‘सस्तोमा टेन्डर स्वीकृत गर्दाको परिणाम यसरी नै देखिन्छ ।’


आफ्नो योग्यता पुग्दापुग्दै अयोग्य फर्मको टेन्डर स्वीकृत गरेको भन्दै प्रतिस्पर्धी न्यु आरके ट्रेडर्स (सप्लाएर्स फर्म) ले न्याम्समा निवेदन पेस गरेको थियो । अस्पतालले हुलाकमार्फत न्यु आरकेलाई जवाफ पठाए पनि हालसम्म पत्र पाएका छैनन् । हुलाकमार्फत किन चिठी पठाउनुभएको भन्ने प्रश्नमा वीर अस्पतालको खरिद इकाइकी प्रमुख भगवती थपलिया भन्छिन्, ‘आरकेले निवेदनमा फोन नम्बर नलेखेकाले सम्पर्क हुन सकेन । इमेल पनि थिएन र हामीले हुलाक प्रयोग गरेका हौं ।’

प्रकाशित : असार २३, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?