१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चाँगुमा पर्या पदमार्ग बन्दै

भक्तपुर — चाँगुनारायण नगरपालिकाले महानपोखरी –महादेव पोखरी पर्या पदमार्ग निर्माण थालेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन र पर्यटकीय गन्तव्य नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्या पदमार्ग ‘इको ट्रेल’ निर्माण गर्न लागेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

चाँगुनारायण(७ र ८ मुहानपोखरी(महादेव पोखरीको ३ दशमलव ८ किलोमिटर दूरीमा सिंढी निर्माणका लागि शनिबारबाट कार्य थालेको नगरपालिकाले जनाएको छ । ‘पर्यटकलाई सधैं हिमाल मात्र देखाएर पर्यटन प्रवर्द्धन हुँदैन,’ नगरप्रमुख मिश्रले भने, ‘स्वच्छ हावा, आकर्षक हरियाली वातावरणले पनि पर्यटक बढाउन सहयोग पुग्छ ।’


आन्तरिक तथा बाह्य पर्यटक बढाउन नगरपालिकाले महामञ्जुश्री, बाहाल, कालिका र ढुंगेपाखा सामुदायिक वन क्षेत्रमा पर्या पदमार्ग निर्माण थालेको हो । पदमार्ग तथा सिंढी निर्माण गर्दा सामुदायिक वनलाई कुनै असर नपर्ने नगरपालिकाको दाबी छ । डिभिजन वन कार्यालय भक्तपुरको समन्वयमा लोठ सल्ला, टिमुरलगायत ५ हजार ५ सय बिरुवा रोपणको तयारी गरेको मिश्रले बताए । पर्या पदमार्ग निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको मध्ये २ करोड ९७ लाख रुपैयाँमा ठेक्का परेको नगरप्रमुख मिश्र बताउँछन् । पर्या पदमार्गबाट नगरकोटको यात्रा गर्दा बँदेल, खरायो, मृग, कालिजलगायत पशुपन्छीको अवलोकन गर्न सकिन्छ ।


गर्मी बढेसँगै भक्तपुर चाँगुनारायण नगरपालिका मुहानपोखरीमा रहेको झरनामा पुगेर रमाउने युवायुवतीको संख्या बढेको छ । उपत्यका र आसपासका जिल्लाबाट समेत युवाहरू तथा परिवारसहित झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । भक्तपुरको नगरकोट बसपार्कबाट करिब ६ किमि पूर्वमा पर्छ मुहानपोखरी । मुहानपोखरीसम्म सजिलै सवारीसाधन पुग्छन् । मुहानपोखरीबाट भने २० मिनेट उकालिएपछि झरनामा पुग्न सकिन्छ । सार्वजनिक बिदामा झरनामा रमाउने र घुम्न जानेको भीड लाग्छ ।


पदमार्गलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष शौचालय, स्वच्छ खानेपानी व्यवस्था, आराम स्थल, रेलिङ, साइक्लिङ ट्रेल निर्माणको योजना रहेको नगरपालिकाको भनाइ छ । त्यस्तै, पर्यटन पूर्वाधार विकासका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि करिब २ करोड रुपैयाँ छुट्याएको छ । उक्त बजेटबाट पर्यटकीय गन्तव्य नगरकोटमा बसपार्क निर्माण तथा व्यवस्थापन, मनोरञ्जन पार्क निर्माण, सार्वजनिक शौचालय निर्माण गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँमा मनोरञ्जन पार्क निर्माण भइरहेको समेत नगरप्रमुख मिश्रले बताए ।

पुनः पर्यटन प्रवेश सेवा शुल्क

नगरकोट अवलोकनका लागि आउने पर्यटकले पुनः प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क उठाउने तयारी गरेको चाँगुनारायण नगरप्रमुख मिश्रले बताए । आगामी आर्थिक वर्ष ०७६/७७ को साउन १ गतेदेखि प्रवेश शुल्क उठाउने ३ करोड रुपैयाँमा ठेक्का प्रक्रिया थालेको उनले बताए ।


नगरप्रमुख मिश्रका अनुसार सार्क र चीनका पर्यटकले करसहित ३ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले करसहित ४ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । चालु आर्थिक वर्षमा नगरकोट अवलोकनका लागि आउने पर्यटकबाट दुई नगरपालिकाले छुट्टाछुट्टै शुल्क उठाएका थिए । दोहोरो शुल्कका विषयमा स्थानीय, व्यवसायीले विरोध गरेपछि चाँगुनारायण नगरपालिकाले प्रवेश शुल्क लिने निर्णय फिर्ता लिएको थियो ।


मण्डन देउपुर नगरपालिकाले भने सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (करबाहेक) प्रतिपर्यटक प्रवेश सेवा शुल्क उठाउँदै आएको छ । यता स्थानीय तथा पर्यटन व्यवसायीले भने पर्यटक प्रवेश सेवा शुल्कप्रति आफूहरूको कुनै समर्थन नरहेको बताएका छन् ।


‘पर्यटन प्रवर्द्धनका लागि कुनै पूर्वाधार छैन, पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार तयार नभई प्रवेश सेवा शुल्क लिनु उचित हुन्न,’ स्थानीय होटल व्यवसायी अशोक थापाले भने, ‘बाटो, बसपार्क, शौचालय, सडक बत्ती निर्माणमा ध्यान पुर्‍याउन जरुरी छ ।’ वर्षौंदेखि निर्माणका नाममा अलपत्र पारिएको कमलविनायक भत्केको पाटी(नगरकोट मूल सडकका कारण नगरकोटको पर्यटन व्यवसाय धराशायी बनेको उनको गुनासो छ ।

प्रकाशित : असार २३, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?