कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

६० प्रतिशत बजेट विकास निर्माणमा

चाँगुनारायण नगरपालिका

भक्तपुर — चाँगुनारायण नगरपालिकाले करिब ६० प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्ने गरी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले विकास निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएका छन् ।

चाँगुनारायणले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ४१ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आयतर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट १० करोड २७ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ २६ करोड ८३ लाख रुपैयाँ छ ।


प्रदेश सरकारबाट २२ करोड ९४ लाख ५७ हजार रुपैयाँ, अनुदानमार्फत ६१ करोड ९२ लाख १७ हजार रुपैयाँ बजेट अनुमान गरेको छ । नगरपालिकाले जनसहभागितामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको बैंक मौजाद १८ करोड ११ लाख ४५ हजार, आन्तरिक आय २४ करोड ५ लाख २१ हजार अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ । खर्चतर्फ चालुतर्फ ३१ करोड ५० हजार, पुँजीगततर्फ ८३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारको ससर्ततर्फ २६ करोड ८३ लाख र प्रदेशको ससर्तबाट १८ लाख ९१ हजार व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।


जसमध्ये, आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा ठूला सडक पूर्वाधार शीर्षकअन्तर्गत १८ वटा योजनाका लागि १ करोड रुपैयाँ, साना सडक तथा अन्य पूर्वाधारतर्फ १ सय ३९ योजनाका लागि १५ करोड रुपैयाँ, ३८ वटा साना खानेपानी योजनाका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । ३८ वटा अन्य पूर्वाधारतर्फ १ करोड ६० लाख, पर्यटक पूर्वाधारतर्फ २ करोड, चालु ठूला खानेपानी आयोजनाका लागि २ करोड ५० लाख रुपैयाँ, भवन निर्माणका लागि ५ करोड रुपैयाँ, शिक्षक उपदान/तालिम/छात्रवृत्तिलगायतका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ । साझेदारी (६०/४०) योजनाका ११ करोड रुपैयाँ, भैपरी आउने पूर्वाधारका लागि २ करोड, समपूरक योजनाअन्तर्गत ३ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मिश्रले बताए ।


नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, दलित, अपांगता, आदिवासी, जनजाति, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, मठमन्दिर तथा सांस्कृति संरक्षणजस्ता सामाजिक क्षेत्रको विकासमा आवश्यक रकमको व्यवस्था गरेको उनले बताए । पाँचौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरपालिकाले सम्पत्ति कर अनिवार्य गर्ने भएको छ । नगरवासीको सम्पत्ति कर अनिवार्य गर्ने नीति लिएको उल्लेख छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ सम्पत्ति कर लगाउने व्यवस्था भएअनुरूप नगरपालिकाले आगामी आर्थिकवर्ष ०७६/७७ को साउन १ गतेबाट सम्पत्ति कर लागू गर्ने नीति लिएको नगरप्रमुख मिश्रले बताए ।


नगरक्षेत्रभित्र रहेको साधारण निर्माणमुखी खानी तथा खनिज पदार्थको सञ्चालन तथा उचित व्यवस्थापन गरी आन्तरिक आयस्रोत व्यवस्थापन गरिने उनले बताए । नीति तथा कार्यक्रममा नगरकोट अवलोकनका लागि आउने पर्यटकको प्रवेश सेवा शुल्क चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा उठाउने, व्यवसाय करलाई व्यवस्थित कार्यान्वयन गर्न नयाँ आर्थिक वर्षको साउन, भदौ र आश्विन महिनालाई व्यवसाय दर्ता अभियानका रूपमा सञ्चालन गरेर व्यवसायलाई करको दायरामा ल्याउने उल्लेख छ । नगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायहरू वडामार्फत सहजीकरण गरी वडा कार्यालयमा नै दर्ता हुने व्यवस्था गरिएको र दर्ता प्रक्रियामा नआएका व्यवसायलाई व्यवस्थित गर्न व्यवसाय दर्ता अभियान सञ्चालन गरेर हरेक व्यवसायलाई करको दायरा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


नगरलाई आर्थिक समृद्धितर्फ लैजान आन्तरिक आय वृद्धि गर्न नगरवासीलाई सबै प्रकारको सेवासुविधा उपलब्ध गराउन नगरवासीको आर्थिक अवस्थाअनुसार निर्धारण गरी करको दायरा फराकिलो बनाइने, वातावरण मैत्री उद्योग कलकारखाना स्थापना गर्दा दर्ता प्रक्रियामा विशेष सहुलियत प्रदान गरिने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ । सम्पति कर, घरबहाल, व्यवसाय कर र सबै प्रकारका आन्तरिक आयको अभिलेख व्यवस्थापन र संकलन गर्ने कार्यलाई अनलाइन सफ्टवेयर प्रयोग गरी व्यवस्थित नीति बनाइने नगरप्रमुख मिश्र बताउँछन् । नगरको बेरुजु रकम शून्य पुर्‍याउन आवश्यक नीति तयार गर्ने, आर्थिक प्रशासन शाखाका काम कारबाहीलाई छिटोछरितो र पारदर्शी बनाउन खर्च लेखाकंन तथा प्रतिवेदनलाई व्यवस्थित गर्न सूत्र प्रणाली लागू गर्ने तयारी गरेको कार्यक्रममा उल्लेख छ ।


त्यसैगरी, ‘विकासको आधार, भौतिक पूर्वाधार’ नीतिलाई अंगाल्दै नगरवासीलाई व्यवस्थित सडक सञ्जाल जोडिने अपेक्षा पूरा गर्ने, नगरको केन्द्रबाट प्रत्येक नगर बस्ती र वडा केन्द्रलाई सुरक्षित र भरपर्दो सडक सञ्जाल जोडिने योजना रहेको उपप्रमुख बिना बाँस्तोलाले बताइन् । नगरका सबै सडकको नामकरण गरी मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बरको व्यवस्थापन गर्ने, ‘उज्यालो चाँगुनारायण’ अभियानअन्तर्गत नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ति जडान गरिने आगामी वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा छ ।

प्रकाशित : असार २४, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?