कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माइतीघर–बबरमहल सडकमा जोखिम 

विद्या राई

काठमाडौँ — माइतीघर–बबरमहल सडक खण्डमा दुर्घटनामा परेर पछिल्लो एक महिनामा ४ जनाले ज्यान गुमाए । सडक फराकिलो तथा राम्रो भए पनि गाडी चालकको लापारबाहीले गर्दा जेब्राक्रसमा सावधानीपूर्वक बाटो काटिरहेका पैदलयात्रुसमेत मृत्युको सिकार बनेका छन् । 

शनिबार बबरमहलस्थित ‘आर्ट काउन्सिल’ अगाडि ट्याक्सीको ठक्करबाट स्कुटरमा सवार १९ वर्षीया दीपक थापा र रोहित सिंह गम्भीर घाइते भए । महानगरीय ट्राफिक प्रहरी वृत्त सिंहदरबारअनुसार बिजुली बजारबाट माइतीघर जाँदै गरेको बा २ ज ११८८ नं को ट्याक्सीले बबरमहल कर कार्यालय भएर चोकतर्फ आउँदै गरेको बा ८३ प ४०३५ नं को स्कुटरलाई ठक्कर दिएको थियो । एकाबिहानै सवा एक बजे भएको दुर्घटनाका घाइते थापा र सिंहलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगियो । अस्पताल पुर्‍याएपछि डाक्टरले थापाको ज्यान गइसकेको घोषणा गर्‍यो ।


‘आर्ट काउन्सिल’ अगाडि नै जेठ २० गते जेब्राक्रसबाट बाटो काटिरहेकी पैदलयात्री बझाङकी कल्पना चन्दलाई मोटरसाइकलले ठक्कर दिएको थियो । दिउँसो करिब एक बजेतिर माइतीघरबाट बानेश्वरतर्फ तीव्र गतिमा आइरहेको बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलको ठक्करले चन्द गम्भीर घाइते भइन् । चन्दकी साथी सांसद आशाकुमारी विकका अनुसार घाइते भएकै दिन थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरियो । चार दिनसम्म उपचार सम्भव नभएपछि ट्रमा सेन्टरमा लगिएकी उनको जेठ २६ मा मृत्यु भयो ।


उक्त मोटरसाइकल चन्दलाई ठक्कर दिएपछि मोटरसाइकल थप तीव्र गतिमा बानेश्वरतर्फ भागेको थियो । हतारमा भाग्दै गरेको मोटरसाइकलले जिल्ला अदालत अगाडिको जेब्राक्रसमा बाटो काटिरहेका दुई जनालाई फेरि ठक्कर दियो । मोटरसाइकलका चालक नै गम्भीर घाइते भए । नागरिकता बनाएर फर्कंदै गरेका सरोज लामा र सुजाता लामा काठमाडौं जिल्ला अदालत अगाडिको जेब्राक्रसमा दुर्घटना परे । उनीहरू उपचाररत रहेको सिंहदरबार वृत्तले जानकारी दिएको छ ।


अन्यत्रको तुलनामा माइतीघर(बबरमहल सडक राम्रो भए पनि चालकहरूको लापारबाही, तीव्र गतिले गर्दा सावधानीपूर्वक यात्रा गर्नेहरूसमेत असुरक्षित बन्नुपरेको छ । सिंहदरबार वृत्तको तथ्यांकअनुसार चालू आवको जेठ मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ११ गम्भीर घाइते, १ सय ८५ सामान्य घाइते भए । जसमध्ये प्रहरीले माइतीघर, बबरमहल हुँदै बिजुली बजार पुलवारिसम्मलाई अत्यधिक दुर्घटना हुने क्षेत्र भनेको छ । बितेको एक महिनामा बबरमहलको आर्ट काउन्सिल अगाडिको दुर्घटनामा २ र माइतीघरमा आर्मी गेट अगाडिको दुर्घटनामा थप दुईले ज्यान गुमाएका थिए ।


बबरमहल खण्डमा सार्वजानिक बस, माइक्रो चढ्ने यात्रुले पनि असुरक्षित महसुस गर्ने गरेका छन् । केही समयअघि कोटेश्वरबाट नेपाल यातायात चढेकी एक युवतीलाई बबरमहलमा ओर्लने क्रममा दुर्घटनामा परेर चोटपटक लाग्यो । ‘ओर्लिनसक्दै गाडी माइतीघरतिर हुइँकायो, म हुर्रिएर लडेँ, लडेर हातखुट्टामा नमिठो चोट लाग्यो ।’ उनी लडेको देखे पनि गाडी हुइँकिसकेको थियो । ट्राफिक प्रहरीसमेत त्यहाँ थिएनन् ।


उनले न प्रहरीलाई ‘कम्प्लेन’ गर्न पाइन् । न त उपचार गर्दाको खर्च असुल्न नै । ट्राफिक प्रहरी कार्यालय भद्रकालीका अनुसार काठमाडौं उपत्यकामा चालु आवको जेठ मसान्तसम्म गाडी दुर्घटनामा २ सय २८ जनाले ज्यान गुमाए । २ सय ८९ गम्भीर घाइते भए भने ५ हजार ३ सय ६१ सामान्य घाइते भए । कार्यालयका प्रवक्ता रविकुमार पौडेलका अनुसार चालकको लापारबाही, अव्यवस्थित सडक, सवारीसाधनको कमजोर अवस्था र मौसमका कारण सवारी दुर्घटना हुने गर्छ ।


ट्राफिक प्रहरीले लेन मिच्ने, मापसे गरेर सवारी चलाउने तथा यात्रुमैत्री सवारी नचलाउनेलाई दैनिक दुई सयको संख्याका सवारीधनीलाई कारबाहीस्वरूप कार्यालयमा ल्याएर ट्राफिक नियम पढाउँछ । वार्षिक कम्तीमा पनि ७० हजारले ट्राफिक कक्षा लिन्छन् । तर दुर्घटनाका गतिविधि भने कमी आउँदैनन् ।


ट्राफिक प्रहरी कार्यालय प्रवक्ता रविकुमार पौडेल भन्छन्, ‘हामी पढाउँछौँ, सिकाउँछौँ, दुर्घटनामा कमी आउँदैन, दुर्घटना कमी नहुनुका पछाडि दैनिक नयाँनयाँ अनुहार सडकमा आउनु र सवारीचालकले जथाभावी गाडी चलाउनु नै छन् ।’ तीव्र गतिमा सवारी हाँक्ने, पैदलयात्रु होस् या अर्को सवारी ख्यालै नगर्ने कारण दुर्घटना हुने गर्छ । घटनास्थलमा गम्भीर घाइते भएकाहरू अधिकांशले ज्यान गुमाउन पुग्छन् ।


केही समयअघि काठमाडौं महानगरको विज्ञ टोलीको स्थलगत अध्ययनले समेत बबरमहल क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ । अध्ययनले पैदलयात्रुको धेरै आवतजावत हुने तर जेब्राक्रसिङहरू पैदलयात्रु मैत्री नभएकाले दुर्घटनाको जोखिम स्थान देखाएको थियो । महानगरले ‘स्मार्ट सिटी’ बनाउने गुरुयोजनाअन्तर्गत माइतीघर तीनकुने सडक खण्डलाई पैदल यात्रुमैत्री बनाउन बबरमहलमा काठमाडौं जिल्ला अदालत र विशेष अदालतको बीच सडकमा अत्याधुनिक जेब्राक्रस राख्ने योजना बनाएको छ ।

प्रकाशित : असार २४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?