एउटै गाउँमा बढ्यो आत्महत्या

कान्तिपुर संवाददाता

ललितपुर — असार ७ गते राति माल्टाका ११ वर्षीय समीर लुङवाले घरको भुइतलामा डोरीले झुन्डिएर आत्महत्या गरे । असोजमा माल्टाकै ४६ वर्षीय रवीन्द्र मगर टहरामा झुन्डिए । त्यसको सातापछि २७ वर्षीया आशा आलेमगरले झुन्डिएर आत्महत्या गरिन् ।

वाग्मती गाउँपालिका–२ माल्टामा झुन्डिएर आत्महत्या गर्ने यी तीनजना मात्र होइनन् । त्यसअघि ७५ वर्षीय बद्रीप्रसाद रोयला र एक २६ वर्षीय महिलालेझुन्डिएर आत्महत्या गरेका थिए ।

महांकाल गाउँपालिकाका व्यथा पनि उस्तै छ । गुम्बाडाँडामा भाडामा बस्दै आएकी २६ वर्षीया जानु शर्माले २१ महिनाकी छोरीलाई कोठाको दलिनमा झुन्ड्याएपछि आफूले पनि आत्महत्या गरिन् । शर्माकी श्रीमान्ले कान्छी श्रीमती लिएर बसेको ३ महिना बितेपछि घटना घटेको थियो । चापागाउँकी १५ वर्षीया सुनिता घलनले घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्यागरेकी थिइन् । ललितपुर दक्षिण भेगमा आत्महत्या गर्नेको संख्या कहालीलाग्दो छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार प्रतिमहिना ५ जनाले आत्महत्या गर्ने गरेका छन् । परिसरका डीएसपी नारायणप्रसाद चिमोरिया भन्छन्, ‘प्रहरीको दृष्टिकोणबाट हेर्दा आत्महत्या गर्न प्रेरित गर्ने वातावरण समाजले बनाइरहेको हुन्छ । आत्महत्या गर्नुको पछाडि व्यक्तिगत कारण मात्र नभई सामाजिक कारण पनि हुन्छ ।’ उनका अनुसार सामाजिक दबाबका कारण मान्छेले एक्लो महसुस गर्छ । ‘अनि समस्याको समाधान खोज्दाखोज्दै अन्तमा आत्महत्या रोज्छ । सामाजले बलियो हौसला दिने हो भने आत्महत्या गर्नेको संख्यामा कमी आउँछ,’ उनले भने, ‘परीक्षा फेल भएर विद्यार्थीले आत्महत्या गर्ने होइनन् । परिवार र समाजको कारणले हो ।’

प्रहरी तथ्यांकअनुसार यो वर्ष ७८ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जसमध्ये विष सेवन गर्ने २१ र औजार प्रयोग गर्ने २ जना छन् । साउनमा ८, भदौमा ५, असोज १०, कात्तिकमा ६, मंसिरमा ५, पुसमा ८, माघमा ९, फागुनमा ७, चैतमा ७ र वैशाखमा १३ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ०७४/७५ मा दर्ता भएका ९ सय ४५ घटनामध्ये ९३ वटा आत्महत्याका छन् । ०७३/७४ मा पनि ९१ र ०७२/७३ मा ७७ जनाले आत्महत्या गरेका छन् । उमेर समूहका हिसाबले १६ वर्षदेखि २५ वर्ष उमेरका मानिसले धेरै आत्महत्या गरेका छन् ।

प्रहरीको अध्ययन प्रतिवेदनअनुसार आत्महत्या वृद्धि हुनुमा पारिवारिक कलह मुख्य कारक रहेको छ । ४ वर्षको अवधिमा मृत्यु रोज्नेमध्ये १ सय १४ जना पारिवारिक कलहका कारण आत्महत्या गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ । ८३ जनाले पढाइलगायतमा असफलता भोगेको कारण, ४ वर्षको अवधिमा ६८ जना प्रेममा असफल भएका कारण आत्महत्या गरेको प्रहरी रेकर्ड छ ।

४३ जनाले मानसिक रोग, ३८ जनाले आर्थिक कारण आत्महत्या गरेका छन् । २६ जनाले सामाजिक समस्याका कारण मृत्यु रोजेका छन् । दर्ता भएका आत्महत्याका घटनामध्ये सबभन्दा बढी जनजातिका छन् । ४ वर्षको अवधिमा एक सय ९२ जना जनजातिले आत्महत्या भएका छन् । यो अवधिमा ७३ जना क्षेत्री र ५३ जना ब्रहृमाण समुदायका छन् । २७ जना दलित समुदाय छन् ।

आत्महत्या गर्नेमा भने महिलाभन्दापुरुष बढी देखिन्छ । डीएसपी चिमोरिया भन्छन्, ‘दक्षिण भेगमा आत्महत्याका घटना बढी हुने गरेकाले प्रहरीले मनोवैज्ञानिकहरूलाई साथमा लिएर गाउँमै पुगेर परामर्श दिन थालेको छ ।’ उनले प्रहरीले चलाएको आत्महत्या न्यूनीकरण अभियानले धेरैलाई बचाएको दाबी गरे ।

प्रकाशित : असार २४, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

माइतीघर–बबरमहल सडकमा जोखिम 

विद्या राई

काठमाडौँ — माइतीघर–बबरमहल सडक खण्डमा दुर्घटनामा परेर पछिल्लो एक महिनामा ४ जनाले ज्यान गुमाए । सडक फराकिलो तथा राम्रो भए पनि गाडी चालकको लापारबाहीले गर्दा जेब्राक्रसमा सावधानीपूर्वक बाटो काटिरहेका पैदलयात्रुसमेत मृत्युको सिकार बनेका छन् । 

शनिबार बबरमहलस्थित ‘आर्ट काउन्सिल’ अगाडि ट्याक्सीको ठक्करबाट स्कुटरमा सवार १९ वर्षीया दीपक थापा र रोहित सिंह गम्भीर घाइते भए । महानगरीय ट्राफिक प्रहरी वृत्त सिंहदरबारअनुसार बिजुली बजारबाट माइतीघर जाँदै गरेको बा २ ज ११८८ नं को ट्याक्सीले बबरमहल कर कार्यालय भएर चोकतर्फ आउँदै गरेको बा ८३ प ४०३५ नं को स्कुटरलाई ठक्कर दिएको थियो । एकाबिहानै सवा एक बजे भएको दुर्घटनाका घाइते थापा र सिंहलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगियो । अस्पताल पुर्‍याएपछि डाक्टरले थापाको ज्यान गइसकेको घोषणा गर्‍यो ।

‘आर्ट काउन्सिल’ अगाडि नै जेठ २० गते जेब्राक्रसबाट बाटो काटिरहेकी पैदलयात्री बझाङकी कल्पना चन्दलाई मोटरसाइकलले ठक्कर दिएको थियो । दिउँसो करिब एक बजेतिर माइतीघरबाट बानेश्वरतर्फ तीव्र गतिमा आइरहेको बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलको ठक्करले चन्द गम्भीर घाइते भइन् । चन्दकी साथी सांसद आशाकुमारी विकका अनुसार घाइते भएकै दिन थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरियो । चार दिनसम्म उपचार सम्भव नभएपछि ट्रमा सेन्टरमा लगिएकीउनको जेठ २६ मा मृत्यु भयो ।

उक्त मोटरसाइकल चन्दलाई ठक्कर दिएपछि मोटरसाइकल थप तीव्र गतिमा बानेश्वरतर्फ भागेको थियो । हतारमा भाग्दै गरेको मोटरसाइकलले जिल्ला अदालत अगाडिको जेब्राक्रसमा बाटो काटिरहेका दुई जनालाई फेरि ठक्कर दियो । मोटरसाइकलका चालक नै गम्भीर घाइते भए । नागरिकता बनाएर फर्कंदै गरेका सरोज लामा र सुजाता लामा काठमाडौं जिल्ला अदालत अगाडिको जेब्राक्रसमा दुर्घटना परे । उनीहरू उपचाररत रहेको सिंहदरबारवृत्तले जानकारी दिएको छ ।

अन्यत्रको तुलनामा माइतीघर(बबरमहल सडक राम्रो भए पनि चालकहरूको लापारबाही, तीव्र गतिले गर्दा सावधानीपूर्वक यात्रा गर्नेहरूसमेत असुरक्षित बन्नुपरेको छ । सिंहदरबार वृत्तको तथ्यांकअनुसार चालू आवको जेठ मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ११ गम्भीर घाइते, १ सय ८५ सामान्य घाइते भए । जसमध्ये प्रहरीले माइतीघर, बबरमहल हुँदै बिजुली बजार पुलवारिसम्मलाई अत्यधिक दुर्घटना हुने क्षेत्र भनेको छ । बितेको एक महिनामा बबरमहलको आर्ट काउन्सिल अगाडिको दुर्घटनामा २ र माइतीघरमा आर्मी गेट अगाडिको दुर्घटनामाथप दुईले ज्यान गुमाएका थिए ।

बबरमहल खण्डमा सार्वजानिक बस, माइक्रो चढ्ने यात्रुले पनि असुरक्षित महसुस गर्ने गरेका छन् । केही समयअघि कोटेश्वरबाट नेपाल यातायात चढेकी एक युवतीलाई बबरमहलमा ओर्लने क्रममा दुर्घटनामा परेर चोटपटक लाग्यो । ‘ओर्लिनसक्दै गाडी माइतीघरतिर हुइँकायो, म हुर्रिएर लडेँ, लडेर हातखुट्टामा नमिठो चोट लाग्यो ।’ उनी लडेको देखे पनि गाडी हुइँकिसकेको थियो । ट्राफिक प्रहरीसमेत त्यहाँ थिएनन् ।

उनले न प्रहरीलाई ‘कम्प्लेन’ गर्न पाइन् । न त उपचार गर्दाको खर्च असुल्न नै । ट्राफिक प्रहरी कार्यालय भद्रकालीका अनुसार काठमाडौं उपत्यकामा चालु आवको जेठ मसान्तसम्म गाडी दुर्घटनामा २ सय २८ जनाले ज्यान गुमाए । २ सय ८९ गम्भीर घाइते भए भने ५ हजार ३ सय ६१ सामान्य घाइते भए । कार्यालयका प्रवक्ता रविकुमार पौडेलका अनुसार चालकको लापारबाही, अव्यवस्थित सडक, सवारीसाधनको कमजोर अवस्था र मौसमका कारण सवारी दुर्घटना हुने गर्छ ।

ट्राफिक प्रहरीले लेन मिच्ने, मापसे गरेर सवारी चलाउने तथा यात्रुमैत्री सवारी नचलाउनेलाई दैनिक दुई सयको संख्याका सवारीधनीलाई कारबाहीस्वरूप कार्यालयमा ल्याएर ट्राफिक नियम पढाउँछ । वार्षिक कम्तीमा पनि ७० हजारले ट्राफिक कक्षा लिन्छन् । तर दुर्घटनाका गतिविधि भने कमी आउँदैनन् ।

ट्राफिक प्रहरी कार्यालय प्रवक्ता रविकुमार पौडेल भन्छन्, ‘हामी पढाउँछौँ, सिकाउँछौँ, दुर्घटनामा कमी आउँदैन, दुर्घटना कमी नहुनुका पछाडि दैनिक नयाँनयाँ अनुहार सडकमा आउनु र सवारीचालकले जथाभावी गाडी चलाउनु नै छन् ।’ तीव्र गतिमा सवारी हाँक्ने, पैदलयात्रु होस् या अर्को सवारी ख्यालै नगर्ने कारण दुर्घटना हुने गर्छ । घटनास्थलमा गम्भीर घाइते भएकाहरू अधिकांशले ज्यान गुमाउन पुग्छन् ।

केही समयअघि काठमाडौं महानगरको विज्ञ टोलीको स्थलगत अध्ययनले समेत बबरमहल क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ । अध्ययनले पैदलयात्रुको धेरै आवतजावत हुने तर जेब्राक्रसिङहरू पैदलयात्रु मैत्री नभएकाले दुर्घटनाको जोखिम स्थान देखाएको थियो । महानगरले ‘स्मार्ट सिटी’ बनाउने गुरुयोजनाअन्तर्गत माइतीघर तीनकुने सडक खण्डलाई पैदल यात्रुमैत्री बनाउन बबरमहलमा काठमाडौं जिल्ला अदालत र विशेष अदालतको बीच सडकमा अत्याधुनिक जेब्राक्रस राख्ने योजना बनाएको छ ।

प्रकाशित : असार २४, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्