जलमग्न र हिलाम्मे सडक, यात्रुलाई सास्ती

विमल खतिवडा

काठमाडौँ — पानी पर्नासाथ राजधानीका अधिकांश सडक जलमग्न बन्ने गरेका छन् । दैनिक सवारी साधनको भीड हुने सडकमै खोलो बग्ने गरेको छ । जलमग्न सडकका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन हम्मे पर्छ ।

सडकमा खाल्डाखुल्डी धेरै छन् । पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिन्छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।

त्यति मात्र होइन, भित्री सडकमा झन् बढी समस्या छ । असार लागेपछि काम गर्ने प्रवृत्तिले गर्दा सडक हिलाम्य बनेका छन् । जथाभावी खनेर भद्रगोल बनाइएका सडकमा हिलोले गर्दा पैदल हिँड्न सकिँदैन । ‘कहिलेसम्म हिलोमा लडदै हिँड्ने हो ?,’ कपन भंगालकी मनमाया श्रेष्ठले भनिन्, ‘गाडीमा हिँडदा गाडी नै खोलामा पस्ला भन्ने डर, पैदल हिँडदा चिप्लिएर लडिएला भन्ने पीर छ ।’ यो समस्या उनको मात्र होइन । जब सडक निर्माणको काम थालियो, त्यो बेलादेखि यो क्षेत्रका स्थानीय समस्या झेल्दै आएका छन् । हिउँदमा धुलो र वर्षातमा हिलोले गर्दा समस्या छ । ठेक्काको समय सकिए पनि कामले गति लिन सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल ठेकदारले समयमै काम नगर्दा समस्या भएको गुनासो गर्छन् । ‘चुनाव लड्नु अघिदेखि नै सडकको समस्या थियो,’ उनले भने, ‘अहिले पनि यही समस्या छ, ठेकदारलाई भन्दाभन्दा वाक्क भइसकेँ, समयमै काम नगर्दा सडक लथालिंग बनेका छन् ।’ उनका अनुसार अहिले आकाशेधारादेखि राममन्दिर खण्डमा सडक भत्काइएकाले समस्या छ । पानी पर्नासाथ डुबान सुरु हुन्छ । ‘चाँडो निर्माण सक्न खबरदारी गरिरहेका छौं,’ उनले भने, ‘ठेकदारले कसैलाई नटेर्ने र अटेर गर्दा ढिलाइ भएको हो ।’ पानी परिरहेकै बेला सडक खन्ने, ग्राभेल गर्ने प्रवृत्तिले गर्दा लथालिंग बनेको छ ।

यो समस्या उपत्यकाका अधिकांश सडकमा छ । चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्ड सडकको अहिले बेहाल छ । दृश्य हेर्दा धान रोप्ने खेतजस्तो लाग्छ । निर्माणको समयावधि सकिएको वर्ष दिन हुँदा बल्ल ५० प्रतिशत मात्र काम भएको छ । यो खण्डमा पानी पर्नासाथ जलमग्न हुन्छ । उपत्यका सडक विस्तार आयोजनाले उक्त सडक आगामी चैतसम्म निर्माण सम्पन्न हुने जनाएको छ । जहाँ पिच र ग्राभेल गरिएको छैन । त्यहाँ बढी समस्या छ । निर्माण व्यवसायीले सडकमा खाल्डाखुल्डी पुर्न भन्दै माटो बिछ्याउँदा हिलाम्य बन्ने गरेको छ । साना सवारीसाधन हिलोमा भासिने गरेका छन् ।

शंखरापुर नगरपालिकास्थित जहरसिंपौवाका शंकर तिवारीका अनुसार हिलाम्य सडकले गर्दा यात्रु बस चल्न छाडेका छन् । पिचसमेत उप्किएको छ । ‘सडकको अवस्था दयनीय छ, सबभन्दा बढी साँखु–खडेश्वर सडक खण्डमा छ,’ उनले भने, ‘सिन्धुपाल्चोकसँग जोडिएको यो सडकमा अहिले गाडी गुड्न छाडेका छन्, गाडी नै डुब्ने हिलो छ ।’ चाबहिल हुँदै यो सडक पुगिन्छ । ‘सांसद र जनप्रतिनिधिले गुनासो सुनेन,’ उनले भने, ‘समस्या जोरपाटी, थली, साँखुतिर पनि यस्तै छ ।’

स्तरोन्नतिको क्रममा रहेका सडक हिलाम्य छन् । लामो समयदेखि ठेक्का भएर पनि काम नसकिँदा वर्षातमा बढी समस्या हुने गरेको छ । तीव्र रूपमा सवारी गुडाउने प्रवृत्तिले पैदलयात्रु त्यसको सिकार बन्दै आएका छन् । पानी र हिलो उछिट्टिँदा त्यसको मार पैदल यात्रुले खेप्नुपर्ने बाध्यता छ, जसले गर्दा हिलाम्य बन्ने गरेका छन् । पिच गरेकै सडक जलमग्न हुने गरेको छ । पुतली सडक, सुन्धारा, चाबहिल, थापाथलीलगायत क्षेत्रको मुख्य सडक नै जलमग्न हुने गरेको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार जथाभावी फोहोर फाल्दा नालीका प्वाल थुनिने गरेकाले सडक जलमग्न हुने गरेको छ । ‘समस्या सडकको भन्दा पनि सहरको हो,’ उनले भने, ‘जथाभावी प्लास्टिक फालिन्छ, त्यही प्लास्टिकले गर्दा नाली थुनिएर पानी सडकमा निस्कने गरेको छ ।’ फोहोर नै मुख्य समस्या रहेको दाबी उनको थियो ।

‘त्यस्तो भयावह स्थिति त छैन,’ उनले भने, ‘तर जथाभावी प्लास्टिकजन्य फोहोर फाल्न बन्द गरिए यस्तो समस्या आउने छैन ।’ वर्षातको समयमा सडक पिच गर्दा टिकाउ नहुने र अर्को वर्षात आउँदा बिग्रिएर हिलाम्य हुने गरेको छ । घाम लागेपछि भने जलमग्न सडक धुलाम्य बन्ने गरेका छन् ।

प्रकाशित : असार २५, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

क्यानडाको नक्कली भिसामा अध्यागमनको छाप !

कान्तिपुर संवाददाता

काठमाडौँ — गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न पाएनन् । क्यानडाको नक्कली भिसा रहेको भन्दै चिनियाँ अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिए । 

त्रिभुवन विमानस्थल । तस्बिरः कान्तिपुर

यो घटनालगत्तै सक्कली र नक्कली भिसासमेत नछुट्याई अध्यागमन अधिकृतले कसरी उडान अनुमति दिए भन्नेबारे अध्यागमन विभागले छानबिन सुरु गरेको छ । स्रोतका अनुसार अनुमति दिन संलग्न दुई अध्यागमन अधिकृतलाई विभागले प्रारम्भिक सोधपुछ गरेको छ ।

विभागले यो प्रकरण छानबिन गर्न प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पनि सम्पर्क गरेको थियो । तर ब्युरोले मानव बेचबिखनभन्दा नक्कली भिसाको विषय भएकाले केन्द्रीय अनुसन्धान ब्युरोमा अनुरोध गर्न सल्लाह दिएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरी पौडेलले उक्त घटनाबारे आफूहरूले अनुसन्धान सुरु गरिसकेको कान्तिपुरसँग बताए ।

अध्यागमन जाँच प्रणालीले नै नक्कली भिसा पत्ता लगाउन नसकेको हो वा अध्यागमन अधिकारीले कसैको प्रभावमा छाप लगाइदिए भन्नेबारे भन्ने खुलिसकेको छैन । अध्यागमनका एक उच्च अधिकारीले भने अध्यागमन अधिकृत कसैको प्रभावमा परेको हुन सक्ने संकेत मिलेको बताए ।

उनका अनुसार उक्त दिन राहदानीमा छाप हान्ने कि नहान्ने भन्ने विषयमा अध्यागमन अधिकृतहरूकै मत बाझिएको र केही अध्यागमन अधिकृतको जोडबलमा छाप हानेर पठाइएको बुझिएको छ ।

प्रकाशित : असार २५, २०७६ २०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्