१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिनियाँ लामाविरुद्ध बौद्धवासी सडकमा

काठमाडौँ — बौद्ध घ्याङ गुठीका पुजारी चिनियाँ लामा (भूपति बज्र) हटाउनुपर्ने माग राख्दै बौद्धवासीले फेरि आन्दोलन थालेका छन् ।

युनेस्को विश्व सम्पदामा सूचीकृत स्तूपमा प्वाल पार्ने, सार्वजनिक सम्पत्तिलाई निजी रूपमा प्रयोग गर्ने, आफूलाई गुरु रिन्पोछे (पद्म सम्भव) को अवतारी भएको अफवाह फैलाउनेजस्ता कर्तुत गरेको भन्दै बौद्धका बासिन्दासँगै २२ वटा नागरिक संघसंस्था आन्दोलनमा उत्रेका हुन् । उनीहरूले ‘बौद्ध बचाऔं अभियान’ नै सञ्चालन गरेका छन् ।


संघर्ष समितिले बिहीबार साँझ बौद्धनाथ स्तूपमा विरोधस्वरूप बत्ती बालेर जुलुस निकाल्यो । बुधबार बिहान सिठ्ठी फुक्दै र्‍याली निकालिएको थियो । स्तूपलाई तीन फेरो लगाएको र्‍यालीमा बौद्धका दुई दर्जन नागरिक संघसंस्थाका अगुवा र बुद्धिजीवी सामेल थिए ।


चिनियाँ लामामाथि नियुक्ति पाएको तीन वर्ष बित्दा पनि केही नगरेको, दैनिक पूजामा नबसी गुन्डानाइकेहरू प्रयोग गर्दै स्थानीयलाई धम्क्याएको लगायत आरोप स्थानीयले लगाउँदै आएका छन् । उनले भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तूप पुनर्निर्माण आफैंले गरेको भन्दै गुठी संस्थानमा झूटो प्रतिवेदनसमेत पेस गरेका थिए ।


संघर्ष समितिका सचिव सम्पूर्णकुमार लामाका अनुसार चिनियाँ लामाको नियुक्ति लिने बेला भूपति बज्रले बौद्ध परिसरमा अस्पताल, धर्मशाला र संग्रहालय बनाउनेजस्ता योजना गुठी संस्थानमा पेस गरेका थिए ।


‘उल्टै स्थानीयलाई धम्क्याउँदै तर्साउँदै अवाञ्छित गतिविधि गरिरहेका छन्,’ उनले भने, ‘दशकौंदेखि हामी स्थानीयले चिनियाँ लामाको अत्याचार खेप्दै आएका छौं । अब सहन्नौं ।’ संघर्ष समितिले चिनियाँ लामालाई बर्खास्त गरी बौद्ध सम्प्रदायबाट योग्यव्यक्तिलाई पुजारी नियुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित : असार २७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?