१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सामाजिक विकासमा जोड

कीर्तिपुरको बजेट

कीर्तिपुर नगरपालिकाले आफ्नो बजेट सार्वजनिक गरेको छ  । नगरपालिकाले कुल १ अर्ब १७ करोड ८३ लाख हाराहारी बजेट पारित गर्दै पूर्वाधार विकासभन्दा पनि सामाजिक विकास केन्द्रित बजेट शनिबार सार्वजनिक गरेको हो  ।

नगरसभाबाट असार २५ मै पारित नीति तथा कार्यक्रम तथा आर्थिक र विनियोजन विधेयक काठमाडौं क्षेत्र नं. १० का सांसद राजन कुमार केसीले सार्वजनिक गरेका हुन् ।


नगरमा आगामी आर्थिक वर्षमा चालू खर्चबापत् झन्डै साढे ३९ करोड खर्च गरिने छ । बजेटमा उल्लेख भएअनुसार पुँजीगततर्फ भने ७८ करोड ३४ लाख हाराहारी बजेट विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्रमा १ करोड ६९ लाख रूपैयाँ छुट्याइएकोमा सामाजिक विकास शीर्षकमा ८ करोड २९ लाख विनियोजन गरिएको छ । ‘नगरभित्र पर्याप्त भौतिक पूर्वाधार निर्माण भइसकेको भन्ने होइन । तर सामाजिक विकास पनि उत्तिकै महत्त्वपूर्ण भएकाले जोड दिएका छौं,’ उपमेयर सरस्वती खड्काले भनिन् ।


पूर्वाधार विकास शीर्षकमा ४ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । नगरका जम्मा १० वडालाई १० करोड रुपैयाँ दिइने छ । ‘वडा नं. ४ र ६ भौगोलिक रूपमा ठूला भएकाले प्रतिवडा १ करोड ४० लाख र अन्य ८ वटै वडालाई वडा समितिको निर्णय अनुसारका कार्यक्रमका लागि ९०/९० लाख रुपैयाँका वडागत कार्यक्रम दिएका छौं,’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मेयर रमेश महर्जनले भने ।


नगरले आन्तरिक राजस्व र मालपोत रजिस्ट्रेसनबापत् १२/१२ करोड आय हुने अपेक्षा गरेको छ । राजस्व बाँडफाँडबाट ८ करोड १९ लाख रुपैयाँ प्राप्त हुने नगरले जनाएको छ । विनियोजन विधेयकमा गत वर्षको नगद ११ करोडलाई आयका रूपमा दर्साई नेपाल सरकारबाट ५८ करोड ८९ लाख रुपैयाँ विभिन्न निःसर्त तथा ससर्त अनुदानमा उपलब्ध हुने उल्लेख छ । यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान र अन्य अनुदानबापत् झन्डै ६ करोड ७५ लाख रुपैयाँ अनुदान पाउने नगरको अपेक्षा छ । योजना तथा कार्यक्रमका लागि आर्थिक र सामाजिक विकास क्षेत्र भनेर दुई शीर्षकमा बजेट छुट्याइएको छ । आर्थिकतर्फ कृषि तथा पशुपक्षी विकास कार्यक्रम, उद्योग, वाणिज्य, आयआर्जन तथा रोजगारी, पर्यटन विकास, सहकारी विकास र राजस्व प्रवर्द्धन गरी ५ मुख्य क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

कृषिअन्तर्गत पकेट क्षेत्र निर्धारण, सिँचाइ कुलो मर्मत र सुधारका साथै विषादी नियन्त्रणमा नगरले २५ लाख रुपैयाँ छुट्याएको छ । यसैगरी आयमूलक कार्यक्रममा बीउपुँजी सहयोग गर्नेदेखि उत्पादनको बजार सुनिश्चितता नगरले आउने वर्ष गर्ने छ । यसका निम्ति पनि २५ लाख छुट्याइएको विधेयकमा उल्लेख छ । ‘समृद्धिका लागि आयमूलक कार्यक्रम र रोजगारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरा बजेटमा राखेका छौं,’ मेयर महर्जनले थपे, ‘छुवाछुतमुक्त नगर घोषणा गर्ने उद्देश्यले यस वर्ष लक्षित वर्ग कार्यक्रम धेरै ल्याएका हौं ।’ नगरभित्रका कोर एरियामा परम्परागत शैलीमा घर निर्माणमा नगरले अनुदान दिने भएको छ । होमस्टे प्रवर्द्धन, सार्वजनिक शौचालय निर्माण तथा स्तरोन्नतिका साथसाथै नगरभित्र पर्यटकीय स्थलको खोज र पहिचान गरी विकास गर्ने कार्यक्रम छ । पर्यटनमा कुल बजेट ९५ लाख रुपैयाँ छुट्याइएको छ । राजस्व प्रवर्द्धनका लागि बजेट तथा स्रोत परिचालनमा ४ लाख खर्च गर्ने गरी बजेट ल्याइएको छ ।

प्रकाशित : असार २९, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?