कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पीडितको बिल्लीबाठ

प्रशान्त माली

ललितपुर — जिल्लाका विभिन्न भागका बाढीपीडितको बिचल्ली भएको छ  । दक्षिण भेगमा करिब ६० प्रतिशत कृषक दुग्ध र तरकारी व्यवसायीमा आबद्ध छन्  ।

पीडितको बिल्लीबाठ

पहिरोले सडक अवरुद्ध हुँदा किसान मर्कामा परेका छन् । दक्षिणका गाउँमा पुग्ने तीन वटा मूल सडक छन्– कान्तिलोक पथ, टीकाभैरव–घुसेल र लेले–चन्दनपुर सडक । पहिरोले तिनै सडकका ठाउँठाउँमा अवरोध खडा गरेपछि किसानको तरकारी गाउँमै थन्किएको छ । चापागाउँका तरकारी व्यापारी हुदराज घिमिरे भन्छन्, ‘तरकारी र दुध बोक्ने गाडीलाई सहज आवतजावतको व्यवस्था मिलाउने काम जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी हो । तर, दुई दिन आएको पहिरो पन्छाउन अहिलेसम्म कसैले पहल गरेको छैन ।’ उनले पहिरोले तरकारी बोक्ने गाडी राम्रोसँग नचल्दा तरकारी गाउँमै थन्किएको बताए ।


‘बेलुका बजारमा लैजान टिपेर ठिक पारेको तरकारी बासी हुँदा बिक्री गर्न गाह्रो पर्छ,’ उनले भने । सीडीओ जोशीले अवरुद्ध सडक खुलाउन स्थानीय तहले पहल गर्नुपर्ने बताए । ‘कोन्ज्योसोम गाउँपालिकामा सडक अवरुद्ध भएको छैन,’ उनले भने । दैनिक लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठुर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजार आउने गर्छ । कान्तिलोक पथअन्तर्गत पर्ने भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो अफ सिजनमा ९ हजार किलोसम्म आउँछ । दक्षिणबाट काउली, बन्दा, रायो साग, सिमी, बोडी, काँक्रो, फर्सी, घिरौला, तितेकरेला, मटरकोसा, गोलभेडा इत्यादि उत्पादन हुन्छ ।


सहरी क्षेत्रमै बिजोग
दोलखाकी ३६ वर्षीय सुनीता तामाङले नख्खुमा डेढ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक माछापालन र तरकारीखेती गर्दै आइरहेका छन् । उनले एउटा पोखरीमा चैतमा एकथरी भुरा एउटाको १० रुपैयाँ तिरेर साढे ७ हजार छोडेका थिए । अर्को पोखरीमा एउटाको साढे ३ रुपैयाँ पर्ने सानो भुरा १४ हजार छोडेका थिए । एकथरी भुरा असारको अन्तिममा र अर्को भाद्रमा बिक्री गर्ने तयारी थियो उनको । पोखरी र खोलाको दूरी डेढ सय मिटर टाढा छ ।


टहरामा बाढी पस्ने उनीहरूले कल्पना पनि गरेका थिएनन् । तामाङ भन्छिन्, ‘यहाँ बस्न थालेको १० वर्ष भयो । कहिले बाढीले टहरा छोएको थिएन । यस वर्ष अनर्थ भयो ।’ उनले भुरा मात्रै ९० हजार रुपैयाँको खरिद गरेको बताइन् । ‘साहुलाई २० हजार रुपैयाँ माछा बिक्री गरेर आम्दानी भएपछि तिर्ने सर्त राखेको थिएँ,’ उनले भनिन्, ‘बाढीले सबै सपना चकनाचुर पार्‍यो ।’ बाढीले उनको ३० हजार रुपैयाँको दानासमेत बगाएको उनले बताइन् । ‘करिब ९ लाखबराबरको धनमाल क्षति भएको उनको अनुमान छ ।


दोलखाका ३९ वर्षीय बौद्ध मोक्तानले श्रीमतीसँग मिलेर कोषबाट लिएको २ लाख रुपैयाँ ऋण आधा पनि तिर्न सकेका छैनन् । सम्पूर्ण ऋण ६ महिनाभित्रमा तिरिसक्नुपर्ने भाका छ । यसका लागि उनले मासिक ८ हजार दरले बुझाउनुपर्छ । उनीहरूले नख्खुमा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती, माछा र पशुपालन गरेका थिए । उनका ४ वटा गाई थिए । मोक्तान भन्छन्, ‘काउली मात्रै १५ सय बिरुवा रोपेको थिएँ । काँक्रो, फर्सी, सिमी, स्कुस सबै बगायो ।’ उनले पोखरीको माछा आधा बगाएको बताए । ‘जम्मा ७ लाख रुपैयाँबराबरको क्षति पुग्यो,’ उनले भने । झापाका ५० वर्षीय रोवित किस्कुको नख्खु खोलामा आएको बाढीले भाँडाकुँडा, लुगा, सिरकडस्ना सबै बगाएको छ ।


खाट, किचेनर्‍याक माटोमा पुरिएका छन् । ज्यामी काम गर्ने उनी अहिले कहाँ सुत्न, के खाने भन्नेमै चिन्तित छन् । स्वयम्भू डल्लुका दीपेन्द्र घले ग्रिलको काम गर्छन् । उनीलगायत १४ जना साथी मिलेर नख्खु खोला किनारामा जग्गा भाडामा लिएर टहरामा बस्छन् । शुक्रबार बिहान अनौठो आवाज सुनेपछि बाढी आएको चाल पाए । ‘टहराभित्र पानी पसिसकेको थियो,’ उनले भने, ‘बाहिर निस्कँदा पानी कम्मरसम्म आइसकेको रहेछ । सामान ओसार्न नै भ्याए ।’ उनले हिलोले पुरेका भाँडाकुँडा, खात अझै निकाल्न नसकेको बताए । यी केही प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै बाढी/पहिरोले समस्यमा पर्ने जिल्लामा थुप्रै छन् ।

प्रकाशित : असार २९, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?