कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोला मिचिए, माथि–माथि पानी

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते खोलामै पौडी सिके । हनुमन्तेको पानी सफा र कञ्चन थियो । बालुवामाथि बगेको सफा पानीमा बालकोट, थिमिका बालकदेखि युवा पौडिन रुचाउने गरेको उनी स्मरण गर्छन् ।

‘त्यो दिन धेरै टिक्न सकेन, खोला साँघुरिँदै गयो,’ उनले भने, ‘जग्गा प्लटिङका नाममा खोलो मिचेर घर बनाउन थालियो । बढदो सहरीकरण र अव्यवस्थित ढल मिसावटले २०४८ पछि हनुमन्ते खोलो फोहोर भयो, फोहोरले खोलो भरियो ।’ इन्जिनियरसमेत रहेका मदनसुन्दर खोलामा अवस्थित पुलको अवस्थालाई हेरेर अतिक्रमित जग्गा अनुमान लगाउन सकिने बताउँछन् ।


‘पहिले खोलाको बहाव क्षेत्रकै आधारमा पुल बनेको हो, अहिले खोलो खोल्सोजस्तो देखिन्छ,’ उनले भने, ‘पुल खोला भन्दा लामो देखिएको छ तर त्यो होइन । पुल जत्तिकै खोलाको बहाव क्षेत्र थियो ।’ सूर्यविनायक नगरपालिका वडा ४, ५ र ७ (साबिक कटुन्जे, दधिकोट र गुण्डु गाविस) को संगमस्थल घट्टेखोलाको पानी बगिरहेकै स्थानमा ढुंगाको पर्खाल लगाई प्लटिङ गरेको छ । जग्गा प्लटिङ गर्नेले नगरपालिकाको ‘भवन इजाजत तथा नक्सापास कार्यविधि २०७४’ को भावनाविपरीत घट्टे खोलाको बीचमै पर्खाल लगाएको छ ।


जग्गा प्लानिङ गर्दा सार्वजनिक जग्गा एवं साबिकका कुलो, पैनी, खोल्सा, खहरे आदिलाई कित्तामा समावेश गरी प्लटिङ गर्न पाइँदैन । खोला, खहरेका पुराना नक्साबमोजिमको अधिकार क्षेत्र मिची प्लटिङ गर्न पाइँदैन । नगरपालिकाले घट्टेखोलामा प्लटिङ एवं संरचना निर्माण गर्दा खोलाको दायाँ र बायाँ ८/८ मिटर छोड्नुपर्ने मापदण्ड तोकेको छ । बस्ती बढ्दै जाँदा आवातजावतका लागि खोलामा पुलको संख्यासमेत थपियो ।


पुल बनाउने क्रममा निर्माण कम्पनीले पुलको बीचमा पिलर राख्ने कार्यले खोलाको बहावलाई असर गरेको उनी बताउँछन् । पुलको बीच पिलरमा प्लास्टिकजन्य फोहोर अड्कने र पानीले निकास नपाउँदा बस्ती डुबान पर्ने सम्भावना बढेको नगरप्रमुख श्रेष्ठले बताए । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक(तीनकुने ६ लेन सडक निर्माण क्रममा पुल बनाउँदा खोलाको सतहभन्दा माथि ढलान गर्नुले भक्तपुरको तल्लो भेगका बासिन्दाले डुबानको सास्ती भोग्नुपरेको भक्तपुर नगरप्रमुख सुनिल प्रजापति बताउँछन् । ‘खोलाको सतह भन्दा धेरै माथि पुलको ढलान भएको छ,’ उनले भने, ‘खोलाको सतह तल पुल माथि भएपछि नगरकोटदेखि बग्दै आएको माटो, बालुवा जमेर खोलाको सतह बढेकाले डुबान बढेको हो ।’


खोला किनारको जग्गा हडप्दै जानु, फोहोर थुप्रिनु र विकास एवं सुविधाका नाममा बनेका संरचनाको अतिक्रमणमा परेको हनुमन्तेको परिणाम विनाश भएको उनी बताउँछन् । नगरको मुख्य सम्पदाका रूपमा रहेको हनुमन्ते खोला फोहोर तथा अव्यवस्थित हुनुमा जर्मन प्रोजेक्ट भएको भक्तपुर नगरपालिकाका पर्यटन तथा वातावरण समिति संयोजक एवं ९ नम्बर वडाध्यक्ष रवीन्द्र ज्याख्वो बताउँछन् । उनका अनुसार नगरमा दुई चरणमा जर्मन प्रोजेक्टले काम गर्न थाल्यो ।


पहिलो चरण (२०२७(०३१) मा साना सम्पदा संरक्षण र ढल निकासको काम भयो । दोस्रो चरण (२०३२(०४४/४५) मा ‘भक्तपुर विकास परियोजना’ शीर्षकमा घरघरमा शौचालय बने । परियोजनाअन्तर्गत नै पाटी, पौवा, सत्तल, बाटो मर्मतलगायतको काम भयो । खानेपानी र ढलको पाइप बिछ्याइयो । माथिल्लो भेग (पूर्वी भेग) को ढल भक्तपुर ७ खंचास्थित २ वटा उपचार पोखरीमा खसाल्न थालेको उनले बताए ।


उपचार पोखरीमा प्रशोधन गरेपछि मात्र हनुमन्तेमा सफा पानी पठाउने प्रक्रिया थालियो । पश्चिम भागबाट बग्ने ढल भक्तपुर १ सल्लाघारीस्थित ४ वटा उपचार पोखरीमा प्रशोधन गरी हनुमन्तेमा पानी पठाउन थालेको ज्याख्वो बताउँछन् । परियोजनाले निर्माण थालेको प्रक्रिया २ देखि ३ वर्षबाट टिक्न सकेन । परियोजनाले पोखरीको प्राविधिक व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिन सकेन ।

प्रकाशित : असार ३०, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?