२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

टिचिङको फार्मेसीमा अत्यावश्यक औषधि छैन

फातिमा बानु

काठमाडौँ — महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को फार्मेसीमा अत्यावश्यक औषधि पनि नपाउँदा बिरामीले दुःख पाइरहेका छन् । अस्पतालको फार्मेसीमा मात्रै पाइने औषधि अभाव हुँदा बिरामीले बाहिरबाट महँगो शुल्क तिरेर पनि औषधि पाउन सकिरहेका छैनन् । फार्मेसीमा अहिले शल्यक्रिया गर्नुअघि बिरामी बेहोस बनाउने ‘मिडाजोलम इन्जेक्सन’ छैन । 

टिचिङको फार्मेसीमा अत्यावश्यक औषधि छैन

चिकित्सकको विशेष प्रेस्क्रिप्सनमा मात्रै पाइने यो औषधि लागू औषध दुरुपयोगमा प्रयोग हुने भएपछि सबै फार्मेसीले बेच्न पाउँदैनन् र बिरामी औषधि खोज्नकै लागि भौंतारिरहन्छन् । फार्मेसीमा अहिले कोडिनफोस्फोड, ट्रामाडोलजस्ता दुखाइ कम गर्ने औषधि छैन ।

अस्पतालमा धेरैजसो शल्यक्रिया योजना साँझ र रातिको समयमा हुन्छ ।


जसका लागि बिरामीले राति नै औषधि किनेर राख्नुपर्ने हुन्छ । चिकित्सकले लेखेका सबै औषधि अस्पताल फार्मेसीमा नपाउँदा रातिको समयमा औषधिका लागि भौंतारिनुपर्ने बिरामी पक्ष गुनासो गर्छन् । अस्पताल प्रशासनले फार्मेसीमा औषधि अभाव नभएको दाबी गरे पनि यहाँका भएका औषधिले अस्पतालको सबै वार्डमा आवश्यक औषधि परिपूर्ति गर्न सकिरहेको छैन । अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खडकाले फार्मेसीमा २ हजार प्रकारका औषधि भएको बताए पनि ७ सय थरीभन्दा बढी औषधि नभएको फार्मेसी स्रोतको दाबी छ ।


अस्पतालले नयाँ आर्थिक वर्षको औषधि खरिदमा नयाँ टेन्डर गर्न नसक्दा फार्मेसीमा औषधि अभाव दिनप्रतिदिन बढिरहेको छ । नयाँ टेन्डर नभएकै कारण फार्मेसी पुरानो स्टकका औषधि बेचिरहेको छ । सरकारी फार्मेसीमा औषधि अभावको फाइदा भने अस्पताल वरपर खुलेका निजी फार्मेसीले उठाइरहेका छन् ।


टिचिङ अस्पताल परिसरबाहिर झन्डै २० निजी फार्मेसी सञ्चालनमा छन् । तिनै फार्मेसीलाई पोस्न अस्पतालले आफ्नो फार्मेसीमा औषधि नराख्ने गरेको स्रोत बताउँछ । ‘आईसीयूमै चाहिने औषधि पनि अभाव भइरहेको हुन्छ । स्टोरमा भए पनि फार्मेसीमा औषधि आउँदैन ।’ अस्पताल स्रोतका अनुसार भित्रका फार्मेसीमा महँगो मूल्यका औषधि अभाव हुनु नौलो विषय होइन । अस्पतालले कमसिनको लोभमा व्यापारीसँग मिलेमतो गरी अस्पतालभित्र औषधि अभाव गर्ने गरेको छ ।


टिचिङ अस्पतालको आफ्नै २ वटा फार्मेसी छन् । यी फार्मेसीमा औषधि अभावसँगै जनशक्ति पनि कम छन् । जनशक्ति अभावकै कारण अस्पतालले २४ घण्टा फार्मेसी सञ्चालन गर्न सकेको छैन । २ वटा फार्मेसीमध्ये एउटा मात्रै २४ घण्टा खुल्ने गरेको छ । बिरामीको चाप, रोगको प्रकार र जटिलताअनुसार औषधि व्यवस्थापन मिलेको छैन ।


यस्तै १२ घण्टा खुल्ने फार्मेसीको नजिक चर्मरोग र बालरोग उपचार कक्ष भए पनि ती फार्मेसीमा यी रोगका औषधि पाइँदैन । ‘अस्पतालबाट दैनिक २५ सयजति औषधि प्रेस्क्रिप्सन आउँछन् । हामीले बेच्न सकेको ७ सय थरी औषधि मात्रै हो,’ फार्मेसी स्रोतले भने । औषधि किन्न आउनेमध्ये ७५ प्रतिशत बिरामी बाहिर जाने गरेको स्रोतको दाबी छ ।


शल्यक्रियाका लागि आकस्मिक औषधिका लागि बिरामीले बाहिर भौंतरिनुपर्ने समस्या समाधानका लागि वार्डमै औषधि पुर्‍याउने व्यवस्था गर्न लागिरहेको निर्देशक डा. खडकाले बताए । उनले भने, ‘शल्यक्रियाका लागि चाहिने सबै औषधिको एउटै प्याकेज बनाउँछौं । यसले औषधि अभाव केही कम गर्छ होला ।’


भण्डारण गर्ने ठाउँ अभाव हुँदा अस्पतालले थोरै मात्रामा औषधि खरिद गर्ने हुँदा अभाव भइरहने उनले बताए । सरकारी फार्मेसीमा औषधिको मूल्य ३० देखि ५० प्रतिशतसम्म सस्तो हुन्छ । २०७२ देखि सरकारी फार्मेसी स्थापना गर्नुको उद्देश्य पनि औषधिका लागि बिरामीले निजीबाट चर्को मूल्यमा तिर्नु नपरोस् भन्ने नै थियो ।

प्रकाशित : असार ३१, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?