नगरकोटमा पर्यटक प्रवेश सेवा शुल्क

(भक्तपुर) — पर्यटकीय गन्तव्य नगरकोट आउने पर्यटकले प्रवेश सेवा शुल्क तिर्नुपर्ने भएको छ । काभ्रेको मण्डन देउपुर र भक्तपुरको चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा बुधबारबाट पर्यटन सेवा शुल्क संकलन गर्ने सहमतिअनुरुप नयाँ आर्थिक वर्ष ०७६/७७ को साउन १ गतेबाट शुल्क उठाउने भएको हो । गतवर्ष दुई नगरपालिकाले छुट्टाछुट्टै प्रवेश सेवा शुल्क उठाएको थियो ।

नगरकोटमा पर्यटक प्रवेश सेवा शुल्क

दोहोरो शुल्कको विषयमा स्थानीय, पर्यटन व्यवसायीलगायतको विरोध भएपछि चाँगुनारायणले ठेक्का रद्ध गरेको थियो भने, मन्डन देउपुर नगरपालिकाले भने शुल्क उठाई नै रह्यो । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा दुवै नगरपालिकाले संयुक्त रूपमा पर्यटक सेवा शुल्क उठाउने निर्णय गरेको चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।


नगरकोट अवलोकनका लागि आउने पर्यटकले साउन १ गतेबाट चाँगुनारायण ६ भट्टेडाँडा र ८ कलमसीमा प्रवेश शुल्क बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ । पर्यटन प्रवेश शुल्क उठाउन ठेक्का प्रक्रिया सुरू भएको र ठेक्का सम्झौता भई नसकेको मिश्रले बताए । ठेक्का सम्झौता नभएसम्म नगरपालिकाकै कर्मचारीले पर्यटक प्रवेश सेवा शुल्क उठाउने उनले बताए ।


दुई नगरपालिकाको सहमतिमा न्यूनतम ३ करोड रुपैयाँमा ठेक्का प्रक्रिया थालेको समेत जनाएको छ । नगरकोट आउने सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय ५० रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय ५० रुपैयाँ प्रवेश सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।


पर्यटकबाट संकलिन रकम नगरकोटको पर्यटन विकास तथा प्रवद्र्धनमा खर्च गरिने छ । पर्यटन प्रर्वद्धनका लागि सडक बत्ती जडान, पर्यटक बसपार्क, सार्वजनिक शौचालय निर्माण,

पार्क निर्माणलगायत गर्ने चाँगुनारायण नगरप्रमुख मिश्रले बताए ।


पर्यटकीय क्षेत्र नगरकोट दुई जिल्लाको सिमानामा पर्ने भए पनि ८० प्रतिशत भूभाग मण्डन देउपुर नगरपालिकामा पर्छ । मण्डन देउपुर र चाँगुनारायणको सिमानामा पर्ने नगरकोटमा करिब १ सय साना तथा ठूला होटल/रेस्टुराँ छन् । अधिकांश होटल तथा रेस्टुराँ मण्डन देउपुर नगरपालिका १ र २ मा पर्दछन् ।


पर्यटक प्रवेश शुल्क संकलनको विषयमा व्यवसायीले भने असन्तुष्ट जनाउँदै आएको छ । नगरपालिकाले पर्यटन प्रर्वद्धनका लागि ठोस कार्य गर्न नसकेको र संरचना निर्माण नभइसकेको अवस्थामा हतारिएर शुल्क संकलन गर्नु सकारात्मक नभएको नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष नवीन गुरुङ बताउँछन् । ‘कानुनी रुपमा ठेक्का सम्झौतासमेत भइसकेको छैन, कुन आधारमा प्रवेश सेवा शुल्क लिने ?,’ उनले प्रतिप्रश्न गरे । ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन शुल्क लिन नहुने उनले बताए ।


चाँगुनारायण नगरपालिकाले विश्व प्रसिद्ध ऐतिहासिक चाँगुनारायण मन्दिरमा समेत पर्यटन प्रवेश शुल्क संकलन गरिरहेको छ ।

प्रकाशित : श्रावण १, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?