१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीर अस्पताल विस्तार अन्योल

लीला श्रेष्ठ

भक्तपुर — वीर अस्पतालको सेवा विस्तार कार्य अन्योलमा परेको छ । चाँगुनारायण नगरपालिका १ र ४ दुवाकोटमा वीर अस्पतालको सेवा विस्तार गर्ने भन्दै सरकारले गत वर्ष ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष ०७६/७७ का लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त बजेटमार्फत अस्पताल विस्तार गर्न विस्तृत अध्ययन सम्पन्न गरी अत्याधुनिक भवन निर्माण अघि बढाउने उल्लेख छ । प्रत्येक वर्ष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि अस्पताल विस्तारको पूर्वाधार निर्माणका लागि डीपीआर समेत तयार नहुँदा अन्योलमा परेको चाँगुनारायण नगरप्रमुृख सोमप्रसाद मिश्रले बताए ।


०७३ साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको विस्तारका लागि दुवाकोटमा रहेको ५ सय ७० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले अस्पताल विस्तारका लागि चाँगुनारायण नगरपालिका १ र ४ दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराइसकेको छ । अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीका अनुसार अस्पताल विस्तार तथा संरचना निर्माणको लागि सरकारले छुट्याएको बजेट पर्याप्त छैन । ‘पर्याप्त बजेट नहुन्जेल संरचना निर्माण सम्भव छैन,’ उनले भने ।


अस्पताल प्रशासनका अनुसार विस्तारित वीर अस्पताल निर्माणको गुरूयोजना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेटले पास गरिसकेको छ । गुरुयोजनामा उक्त क्षेत्रमा एक हजारदेखि १५ सय शय्याको अस्पताल, नर्सिङ, फार्मेसी, स्वास्थ्यसँग सम्बन्धित कलेज, आवास गृहलगायतका पूर्वाधारहरू बन्ने छन् । अस्पतालमा हेलिप्याडको सुविधासहितको भवन निर्माण हुने छ ।


अस्पताल प्रशासनका अनुसार गुरुयोजना बनाउने क्रममा ३० अर्बको लागतमा विस्तारित वीर अस्पताल बन्ने अनुमान गरिएको छ । निर्माण र अनुमानित लागत डीपीआरपछि मात्र थाहा हुने जनाएको छ । दुवाकोटसँगै वीर अस्पताल रहेको स्थानमा समेत अस्पतालको क्षमता विस्तार भने जनाएको छ ।


हाल वीर रहेको स्थानमा एक हजार ५ सय शय्या क्षमताको आधुनिक केन्द्रीय वीर अस्पताल रहने छ । जग्गा रहेको क्षेत्रमा बनेको सामुदायिक भवनमा वीरले एक वर्षदेखि क्लिनिक सञ्चालन गरेको छ । उक्त क्लिनिकले प्रभावकारी नभएको स्थानीय तहको गुनासो छ । ‘क्लिनिक मात्र खोलेर अर्थ रहँदैन, फार्मेसी पनि सञ्चालन हुनुपर्‍यो,’ नगरप्रमुख मिश्रले भने, ‘फार्मेसी र ल्याब नहुन्जेल बिरामी अन्यत्र जान बाध्य हुन्छन् ।’


सरकारले न्याम्सलाई स्वीकृति दिएको ५ सय ७० रोपनी जग्गामध्ये १ सय ७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेजले भोगचलन गर्दै आएको नगरपालिकाले जनाएको छ । अरू केही जग्गामा परोपकार केन्द्र र चाँगुनारायण माविले प्रयोग छ ।


इन्जिनियरिङ कलेजको ३६ रोपनी आफ्नै जग्गा भएको र न्याम्सको जग्गामा खेलमैदान, प्रयोगशाला र गर्ल्स होस्टललगायत भवन रहेका छन् । अस्पताल विस्तारको काम गर्न चीन सरकारले चासो देखाएको पाइएको नगरप्रमुख मिश्र बताउँछन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?