कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महानगरको महत्त्वाकांक्षा : ३ वर्षभित्रै मोनोरेल

काठमाडौँ — काठमाडौं महानगरले आगामी ३ वर्षभित्र राजधानीको चक्रपथमा मोनोरेल सञ्चालनमा ल्याइसक्ने महत्त्वाकांक्षी कार्ययोजना घोषणा गरेको छ । काठमाडौं महानगरले नगरसभाबाट पारित चालु अर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र चक्रपथमा मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने योजना घोषणा गरेको हो ।

महानगरको महत्त्वाकांक्षा : ३ वर्षभित्रै मोनोरेल

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पहिलो चरणमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अबको एक/डेढ महिनामै मोनो रेल निर्माणका लागि डीपीआर तयार हुँदै छ,’ उनले भने ।

डंगोलका अनुसार २७ किलोमिटर लम्बाइको चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १३ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । डंगोलले डीपीआर तयार भएपछि बुट प्रणालीमा विदेशी कम्पनीलाई निर्माण गर्न दिने या दातृ समुदायबाट सहयोग जुटाएर केन्द्र, प्रदेश र महानगरसहित राजधानीका सबै स्थानीय तहको लगानीमा बनाउने भन्नेबारे छलफल सुरु हुनेछ । ‘मोनोरेलका लागि लगानीको मोडेल तय हुनै बाँकी छ । डीपीआर आएपछि छलफल सुरु हुनेछ,’ डंगोलले भने ।

काठमाडौं महानगरको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाइसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, पर्यटन पदमार्गको उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।

डंगोलका अनुसार काठमाडौं महानगरले पर्यटन क्षेत्रको विकासका लागि विश्वसम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न विशेष कार्यको थालनीसमेत चालु आर्थिक वर्षबाटै सुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ ।

उनले नीति तथा कार्यक्रममा महानगरभित्र प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्षभित्र प्राविधिक विद्यालय स्थापना गरी सञ्चालन गर्ने योजनासमेत गरिएको जानकारी दिए । महानगरले ज्येष्ठ नागरिकलाई उपचारको उचित व्यवस्था गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेको छ ।

ज्येष्ठ नागरिक अस्पतालका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी डंगोलले दिए । महानगर सभाले चालु वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ । महानगरले अतिक्रमित सार्वजनिक जग्गालाई आफ्नो स्वामित्वमा ल्याई त्यहाँ बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिकमैत्री पार्क र खुला क्षेत्रको विकास गर्ने योजनासमेत नीति तथा कार्यक्रममा अघि सारेको छ ।

महानगरले यसै वर्ष सहरका मुख्यमुख्य चोकमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हाइमास बत्ती जडान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?