३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पोखरीमा बन्दै थियो विद्यालय

दामोदर न्यौपाने

काठमाडौँ — टेकुको प्रसिद्ध पचली भैरवको पोखरीमा विद्यालयले भवन बनाउन सुरु गरेपछि गुठियार, स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायतले भवनको जगै भत्काइदिए । पचली भैरव छेउकै महेन्द्र सरस्वती आधारभूत विद्यालयको जगमाथि पिल्लर राख्न उठाइएको फलामको रड काटिदिए ।

पोखरीमा बन्दै थियो विद्यालय

डीपीसी गर्न तयार पारिएको काठको फर्मा जलाइदिए । पोखरीमा बनाएको भवन रोक्न पटक पटक अनुरोध गर्दा पनि नटेरेकाले भत्काउनुपरेको गुठियार बताउँछन् । ‘गुठीको पोखरी भनेर जनाइएको जमिनमा गुठियारसँग कुनै सल्लाहसमेत नलिई धमाधम विद्यालय भवन बनाइयो,’ पचली भैरवका गुठियार महेन्द्र महर्जन भन्छन्, ‘के गर्ने भनेर छलफल गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधिले नै गुठियारलाई पैसा दिएको भनेर लाञ्छना लगाए । त्यही भएर त्यहाँ जम्मा भएका संरक्षणप्रेमी आक्रोशित भए अनि बनाउन लागिएका संरचना भत्काइदिए ।’

पोखरीमा भवन बनाउन लागेपछि त्यसलाई रोक्न माग गर्दै करिब ५ सय जना जम्मा भएका थिए ।’ विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बन्न लागेको हो । चारकोठे भवन बनाउन प्राधिकरणले ६९ लाख रुपैयाँ दिएको छ । विद्यालयका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठका अनुसार जग भत्काउने र रड काट्ने गर्दा करिब १५ लाख रुपैयाँ क्षति भएको छ । ‘रड सबै काटिएको छ । जग पनि भत्काइएको छ । अब काम सुरु गर्दा जगैबाट गर्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘यसलाई पूरै सफा गर्नुपर्छ । यसो गर्दा झन् डबल खर्च भयो ।’

'पोखरी भन्ने थाहै थिएन’

विद्यालयले भवन बनाउन लागेको जमिनको लालपुर्जा पचली भैरव गुठीको नाममा छ । पचली भैरव मन्दिर वरपर ९ वटा कित्तामध्ये २ वटा कित्ता विद्यालयले प्रयोग गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १२ को कित्ता नम्बर १९६ र १९८ को जग्गामा विद्यालयले भवन बनाउन लागेको हो ।

यी दुवै कित्ताको विवरण जग्गाधनी प्रमाणपुर्जामा पोखरी जनिएको छ । पोखरी जनिएको यो जग्गा भने विद्यालय खुलेदेखि नै विद्यालयको कम्पाउन्डभित्र रहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । ‘यहाँ वर्षौंदेखि चउर थियो,’ श्रेष्ठ भन्छन्, ‘अहिले पोखरी थियो भनेर हुन्छ ? यत्रो वर्ष के हेरेर बसेको ?’ श्रेष्ठका अनुसार चारकोठे भवन बनरिहेको यो ठाउँमा पहिला दुईकोठे भवन बनाइएको थियो । उक्त भवन २०७२ सालको भुइँचालोमा क्षति पुग्यो । त्यही भवनको क्षतिपूर्तिबापत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ भवन बनाइदिन लागेको हो ।

विद्यालय २०१७ सालमा स्थापना भएको हो । विद्यालय पहिला यही छेउको जगन्नाथ मन्दिरको सत्तलमा राखिएको थियो । खाली जग्गामा भवन सारिएको श्रेष्ठले बताए । ‘भवन बनेकै छ, अहिलेसम्म कसैले छाड भन्न आएका थिएनन् । त्यही भएर अरू विकल्प पनि खोजेनौं,’ श्रेष्ठ भन्छन्, ‘हाम्रै हो भन्ने अनुभूति भएको थियो । अहिले समस्या आइलाग्यो ।’

विद्यालयमा विवाद आएपछि जग्गाबारे खोजी गर्न सुरु गरेको श्रेष्ठले बताए । ‘विवाद आएपछि जग्गबारे खोज्न मालपोत गएँ । नापी गएँ,’ श्रेष्ठ भन्छन्, ‘बल्ल हो रैछ भन्ने भयो । व्यक्तिगत काममा प्रयोग गरेको होइन । बालबालिकाको भविष्यका लागि हो भन्ने भयो । त्यही भएर जग हाल्यौं । अब के गर्ने भन्ने अन्योल भएको छ । शिक्षा पनि सामाजिक काम भएकाले गुठियारसँग सम्झौता गरेर अघि बढ्छौं । गुठीलाई भूवहाल दिन्छौं ।’

गुठी संस्थानमा भूवहाल तिर्ने विषयमा समेत कुराकानी भएको श्रेष्ठले बताए । ‘गुठीले २५ हजार मागेको थियो,’ श्रेष्ठ भन्छन्, ‘हामीले सामाजिक काम नै हो । आम्दानीको स्रोत छैन । १५ हजार रुपैयाँ दिन्छौं भनेका थियौं । कुरा मिलेन ।’ विद्यालयले नक्सासमेत बनाएको थिएन । ‘आफ्ना नाममा जग्गै छैन,’ श्रेष्ठ भन्छन्, ‘यो विषयमा वडा अध्यक्षसँग कुराकानी भइरहेको थियो ।’

पहिला नेवार जातिको शव लैजाने बाटो थियो यो । वसन्तपुर क्षेत्रको दाहसंस्कार गर्ने घाट टेकु दोभान छ । यहाँ आउन वसन्तपुर क्षेत्रका लगन, कोहिटी लगायतबाट आउने बेग्लाबेग्लै बाटो छ । लगन, कोहिटी लगायतबाट आउने बाटो टेकुको उकालो हो । यहाँबाट पचली भैरव हुँदै घाट लगिन्छ ।

वडा नम्बर २१ को दलाक्षी, ब्रह्मटोल लगायतबाट इनारवा हुँदै शव ल्याउँछन् । यहाँ भएका दुई बाटामध्ये एक यो स्कुल बनेको ठाउँमा थियो । त्यही ठाउँमा विद्यालय बन्यो । विद्यालय बनेपछि शव अर्को बाटो लान थालियो । ‘यो जातिको शव लैजाने बाटो बेग्लै हुन्छ । ‘यो बाटो छोटो छ भनेर छोटो बाटो रोजिँदैन,’ स्थानीयवासी विजयरत्न खड्गी भन्छन्, ‘पोखरीसँगैको स्कुल बन्यो । शव लाने बाटो बन्द भयो ।’ विद्यालयको अहिलेको भवन बनेको कित्ता पर्ती जग्गा जनिएको छ । ‘हाम्रो टेक्ने ठाउँ भएन,’ श्रेष्ठ भन्छन्, ‘यत्रा विद्यार्थी लिएर कहाँ जाऔं हामी ? गरिबका छोराछोरी पढ्ने स्कुल हो यो ।


हराए तीन पोखरी

स्कुल भवन बनाइरहेको पोखरी पञ्चनाली पोखरी हो । यो पोखरीबाहेक अर्का दुईमा बगैंचा भएको पोखरी थियो । पञ्चनाली पोखरी पचलीको मुख्य द्वारका दायाँबायाँ थिए । यो पोखरीमा पचली भैरवमा चढाइएको रक्सी र जाँड पञ्चनालीबाट बग्दै पोखरीमा जम्मा हुने व्यवस्था थियो ।


स्थानीयवासी भूषण बज्राचार्यका अनुसार करिब तीन सय मिटर भूमिगत नालीबाट पोखरीसम्म आउँथ्यो । पोखरी छेउकै अर्को छेउमा धारा थियो । त्यो धारामा नुहाउने भीड हुन्थ्यो । मन्दिरमा चढाएका जाँड, रक्सी, समयबजीजस्ता भक्तजनले जे चढाउँछन्, ती सबै त्यही नालीबाट पोखरीमा जम्मा हुन्थ्यो । ‘बस्ती विस्तार भएसँगै यो नाली मासियो,’ गुठियार महेन्द्र महर्जन भन्छन्, ‘नाली मासिएपछि पोखरी मासियो । पोखरी चउरमा परिणत भयो ।’


पोखरीले प्रयोग गरेको जमिनको छेउमा पनि पोखरी थियो । त्यो ठाउँमा अहिले पनि रोडा, बालुवा, ढुंगालगायत निर्माण सामग्रीको डिपो राखिएको छ । ‘त्यो डिपोचाहिँ नहटाउने । अरू ठाउँका समस्या नहेर्ने अनि साना नानीबाबु पढाउने स्कुलमा चाहिं जाइ लाग्ने ? हामीलाई आतंकित बनाउने ?’ प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘अहिलेको युगमा को आउँछ जाँडले नुहाउन ? घरघरमा बसेर सावरले नुहाउँछन् अब । जाँडले नुहाउँदैनन् ।’


अभियन्ता भने यसलाई पोखरी कायम गराएरै छाड्ने बताउँछन् । ‘पहिला के भयो भनेर चुप लाग्ने कुरा हुँदैन,’ राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘अब यसलाई पोखरी कायम गराउनुपर्छ । पचास वर्ष सुकेको भाजु पोखरी भक्तपुरले ब्युँतायो भने चालीस वर्ष सुकेको यो पोखरी ब्युताउन सकिँदैन ?’


यही पोखरीमा फुल्ने कमल र हिले माछा पचली भैरवलाई चढाउने चलन थियो । पोखरीमा फुल्ने कमलको फूल सांस्कृतिक क्रियाकलापमा प्रयोग गरिन्थ्यो । पचली भैरवको मुख्य खानाका रूपमा ‘सनाघसा’ बनाउने गरिन्छ । सनाघसा भनेको कर्कलाको डाँठबाट बनाइने विशेष परिकार हो ।


कर्कलाको डाँठलाई चाना बनाएर त्यसमा बेसार, रायोका दानाको लेप, पचली भैरवको जल मिसाएर बनाइन्छ । यसरी मोलिएको कर्कलोलाई भाँडामा राखिन्छ अनि आठ दिन गालिन्छ । यो एक किसिमको अचारजस्तै खाद्यान्न हो । आठ दिनपछि यो प्रसाद गुठियारले ग्रहण गर्छन् अनि बाँड्न टोलटोल जान्छ । ‘झन्डै एक ट्रक डाँठको सनाघसा बनाइन्छ,’ गुठियार सानु महर्जन भन्छन्, ‘यसलाई कमलको पातमा बाँड्नुपर्छ । आफ्नै पोखरीको कमल हुन्थ्यो । त्यो सुकेपछि कमल किनेर प्रसाद बाँड्नुपर्छ ।’


पचली भैरव नवौं शताब्दीमा स्थापना भएको मानिन्छ । पचलीलाई पञ्चलिंगेश्वर पनि भनिन्छ । मूर्ति खुला स्थानमा छ । यो स्थानमा भैरव, छेपुतोरण र ६ वटा सिंहका मूर्ति छन् । यहाँ खड्गी, ज्यापू, मालाकार र रञ्जितकार गरी ५ समुदायले जात्रा सञ्चालन गर्छन् । दसैंको पञ्चमी र घोडेजात्रामा यहाँ जात्रा लाग्छ ।



प्रकाशित : श्रावण ६, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?