१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संस्थानले रोक्दारोक्दै जबर्जस्ती भवन

दामोदर न्यौपाने

काठमाडौँ — गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो । काठमाडौं महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए ।

संस्थानले रोक्दारोक्दै जबर्जस्ती भवन

नवौं शताब्दीबाट पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कुलले भवन बनाउन लागेको हो । गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठियारलगायतले भवन भत्काइदिएका थिए ।


विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दाबी गर्दै आएको छ । भवन निर्माण रोक्न गत जेठ १९ गते गुठी संस्थान काठमाडौं शाखा कार्यालयले पहिलो पल्ट पत्राचार गरेको थियो । शाखा कार्यालयले पत्राचारलाई स्कुलले बेवास्ता गर्‍यो । त्यसपछि गुठी संस्थान प्रधान कार्यालयले असार १३ गते पत्राचार गर्‍यो । त्यसलाई पनि स्कुलले वास्ता गरेन ।


गुठी संस्थानका प्रशासक नारायण चौधरीले पत्र लेखी पटकपटक पत्राचार गर्दा पनि अटेर गरेको आजकै ‘मितिबाट निर्माण स्थगित राखिदिन’ महानगर वडा कार्यालयलाई पत्राचार गरे । यो पत्रको पनि कुनै सुनुवाइ भएन । चौधरीपछि फेरि उपप्रशासक हरिप्रसाद जोशीले पत्राचार गरे असार १८ गते । महानगरले निर्माण नगरोकी भवन बनाउन मौखिक आदेश दिएको थियो ।


वडा कार्यालयको समेत संलग्नतामा भवन बनाएको भन्दै गुठियार आक्रोशित भएका थिए । गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले ‘पचली भैरवका नाममा दर्ता स्रेस्ता भएको कित्ता नम्बर ७० बाट दुई कितामा विभाजन भएर १९६ र १९८ कित्ता कायम भएको जग्गामा स्थानीय गुठियारको समेत स्वीकृति नलिएर निर्माण गरिएको’ भन्दै निर्माण रोक्न सहयोग गर्न महानगरलाई पत्र लेखेका थिए । ‘संस्थानले पटकपटक पत्र पठाउँदा पनि बलमिच्याइ गरेर बनाइयो,’ अयिभन्ता सुमन सायमी भन्छन्, ‘जबरजस्ती गरेपछि गुठियारलगायतले निर्माणमा अवरोध गरेका हुन् । अब हाम्रो सम्पदा जसरी पनि जोगाउन यहाँका आदिवासी नेवार जागिसकेका छन् ।’


विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बन्न लागेको हो । चारकोठे भनव बनाउन प्राधिकरणले ६९ लाख रुपैयाँ दिएको छ । स्कुल भवन बनाइरहेको पोखरी पञ्चनाली पोखरी हो । यो पोखरीबाहेक अर्का दुईमा बगैँचा भएको पोखरी थियो । पञ्चनाली पोखरी पचलीको मुख्य द्वारका दायाँबायाँ थिए ।


यो पोरखीमा पचली भैरवमा चढाइएको रक्सी र जाँड पञ्चनालीबाट बग्दै पोखरीमा जम्मा हुने व्यवस्था थियो । स्थानीयवासी भूषण बज्राचार्यका अनुसार पाखरीसम्म बगेर आउन करिब तीन सय मिटर भूमिगत नालीबाट पोखरीसम्म आउँथ्यो । पोखरी छेउकै अर्को छेउमा धारा थियो । त्यो धारामा नुहाउने भीड हुन्थ्यो ।


मन्दिरमा चढाएका जाँड, रक्सी, समयबजीजस्ता भक्तजनले जे चढाउँछन् ती सबै त्यही नालीबाट पोखरीमा जम्मा हुन्थ्यो । ‘बस्ती विस्तार भएसँगै यो नाली मासियो,’ गुठियार महेन्द्र महर्जन भन्छन्, ‘नाली मासिएपछि पोखरी मासियो । पोखरी चौरमा परिणत भयो ।’ पोखरीले प्रयोग गरेको जमिनको छेउमा पनि पोखरी थियो । त्यो ठाउँमा अहिले पनि रोडा, बालुवा, ढुंगा लगायत निर्माण सामग्रीको डिपो राखिएको छ । ‘त्यो डिपोचाहिँ नहटाउने । अरू ठाउँका समस्या नहेर्ने अनि स्कुल बनाउनचाहिँ नदिने ?’


प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिलेको युगमा को आउँछ जाँडले नुहाउन ? घरघरमा बसेर सावरले नुहाउँछन् अब । जाँडले नुहाउँदैनन् ।’ अभियन्ता भने यसलाई पोखरी कायम गराएरै छाड्ने बताउँछन् । ‘पहिला के भयो भनेर चूप लाग्ने कुरा हुँदैन,’ राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘अब यसलाई पोखरी कायम गराउनुपर्छ । पचास वर्ष सुकेको भाजु पोखरी भक्तपुरले ब्युँतायो भने चालीस वर्ष सुकेको यो पोखरी ब्युँताउने सकिँदैन ?’


यही पोखरीमा फुल्ने कमल र हिले माछा पचली भैरवलाई चढाउने चलन थियो । पोखरीमा फुल्ने कमलको फूल सांस्कृतिक क्रियाकलापमा प्रयोग गरिन्थ्यो । पचली भैरवको मुख्य खानाको रूपमा ‘सना घसा’ बनाउने गरिन्छ । सनाघसा भनेको कर्कलाको डाँठबाट बनाइने विशेष परिकार हो ।


इन्द्रजात्राको कर्कलाको डाँठलाई चाना बनाएर त्यसमा बेसार, रायोको दानाको लेप, पचली भैरवको जल मिसाएर बनाइन्छ । यसरी मोलिएको कर्कलोलाई भाडा राखिन्छ । अनि आठ दिन गालिन्छ । यो एक किसिमको अचारजस्तै खाद्यान्न हो । आठ दिनपछि यो प्रसाद गुठियारले ग्रहण गर्छन् अनि बाँड्न टोलटोल जान्छ ।


‘झन्डै एक ट्रक डाँठको सना घसा बनाइन्छ,’ गुठियार सानु महर्जन भन्छन्, ‘यसलाई कमलको पातमा बाँड्नुपर्छ । आफ्नै पोखरीको कमल हुन्थ्यो । त्यो सुकेपछि कमल किनेर प्रसाद बाँड्नुपर्छ ।’ पचली भैरव नवौं शताब्दीमा स्थापना भएको मानिन्छ । पचलीलाई पञ्चलिंगेश्वर पनि भनिन्छ । मूर्ति खुला स्थानमा छ । यो स्थानमा भैरव, छेपुतोरण र ६ वटा सिंहका मूर्ति छन् । यहाँ खड्गी, ज्यापू, मालकार र रञ्जितकार गरी ५ समूदायले जात्रा सञ्चालन गर्छन् ।


दसैंको पञ्चमी र गोडेजात्रामा यहाँ जात्रा लाग्छ । स्थानीयवासी शरण डंगोलका अनुसार पचली जात्राको सुरुवात शिव सिंहले १६३५ मा धातुको घ्याम्पो बनाएर गरेका हुन् । पचली भैरव मन्दिरमा र गुठियारको घरमा गरी दुई ठाउँमा देउता राख्ने चलन छ । गुठीमा ९ जना गुठियार छन् । जात्रा सञ्चालन गर्न हरेक वर्ष गुठियार फेरिन्छन् ।


डंगोलका अनुसार नवरात्रिको पहिलो दिनबाट पचली भैरवको जात्रा सुरु हुन्छ । पचली भैरवको मूर्ति अंकित तामाको घ्याम्पोलाई गुठियारको घरबाट क्वाहिटीको चित्रकारको घरमा लगिन्छ । चित्रकारको घरमा रंगरोगन गरिन्छ । चित्रकाले सिंगारेको घ्याम्पोलाई तीन दिनसम्म कोहिटीमा पूजा गरिन्छ ।


नवरात्रिको चौथो दिन भीमसेस्थानका थकुजुजुको घरमा राखिन्छ । डंगोलका अनुसार थुकुजुजु १० औं देखि १३ औं शताब्दीदेखि राज्य गर्ने ठकुरी मल्ल वंशका सन्तान हुन्, थकुजुजुको घरमा राखिएको भैरवलाई विधिपूर्वक पूजा गरिन्छ । अनि टेकुमा रहेको पीठमा लगिन्छ । अनि वर्ष दिन घ्याम्पोमा राखिएको जाँड बगाइन्छ । त्यही विधिपूर्वक बगाइएको जाँड, रक्सी यही पोखरीमा जान्छ । यही विधिबाट पोखरीमा गएको रक्सीले नुहाउन वसन्तपुर क्षेत्रको तल्लो भागका भक्तजन नुहाउन जाने डंगोल बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?