१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सम्पत्ति प्रशस्तै, आफू टहरामा

बालमन्दिरले ५५ रोपनी जग्गा व्यापारिक प्रयोजनका लागि अरुलाई प्रयोग गर्न दिएको छ । त्यसमध्ये २० रोपनीभन्दा बढी आफूखुसी विभिन्न व्यक्ति र संस्थालाई निःशुल्क दिइएको छ भने ३५ रोपनीबाट न्यून दरमा भाडा उठाउने गरिएको छ ।
विद्या राई

काठमाडौँ — उपत्यकाका तीन जिल्लामा मात्रै एक सय रोपनीभन्दा बढी जग्गा रहेको नेपाल बाल संगठन (बालमन्दिर) आफू भने टहरामा 
बसेर कामकाज धानिरहेको छ । 

सम्पत्ति प्रशस्तै, आफू टहरामा

नक्सालस्थित केन्द्रीय कार्यालयको भवन भूकम्पले भत्काएर जीर्ण बनेयता ‘कामचलाउ’ छ । बालगृहका ९० बालबालिका भवन परिसर छेउको साँघुरो खाली जग्गामा निर्मित टहरोमै छन् । जहाँ संवेदनशील अवस्थाका नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिका हुन्छन् । जीर्ण भवनको भुइँतलामा बालमन्दिर कार्यालय अस्तव्यस्त छ । भवन परिसरको खाली जग्गामा घुर्‍यान थुप्रिएको छ ।


भवन रेट्रोफिटिङ गरुन्जेलसम्म बालमन्दिर मातहतको ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ भवनमा बालबच्चा सार्ने योजना राखिएको थियो । तर जेठ २३ को मन्त्रिपरिषद् निर्णयले खाद्य कार्यक्रमलाई सानोठिमी, भक्तपुरमा सारी कमलपोखरी प्रहरी वृत्तलाई नक्सालमा राख्ने भनिएपछि बालमन्दिर टहरोमै बसेको छ ।


मन्दिरका निर्देशक बालकृष्ण डंगोल भन्छन्, ‘समस्या हुँदाहुँदै पनि विकल्प नभएपछि बालबालिकालाई टहरामै राख्नपर्ने बाध्यता छ ।’ बालमन्दिरले आफूसँग भएको उपत्यकाको कुल १ सय १५ रोपनी ७ आना ३ पैसा ३ दाम जग्गामध्ये ५५ रोपनी १३ आना २ पैसा जग्गा व्यापारिक तथा व्यावसायिक प्रयोजनका लागि अरूलाई प्रयोग गर्न दिएको छ ।


यसमध्ये २० रोपनी १३ आना २ पैसा निःशुल्क प्रयोग गर्न दिइएको हो । ३५ रोपनीको पनि भाडादर न्यून छ । नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा क्षेत्रफलको जग्गा बृहस्पति विद्या सदन, ललितपुरमा ५ रोपनी प्रेरा निर्माण सेवा प्रालि र टेकुमा १ रोपनी ११ हरिनारायण तथा कनक ट्रेडको पेट्रोल पम्पले भाडामा लिएका छन् ।


बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलका अनुसार गत वर्षसम्म यी तीनबाट वार्षिक ८६ लाख २५ हजार ३ सय ६५ रुपैयाँ भाडा उठेको छ । बृहस्पतिले एक वर्ग फिटको ४ रुपैयाँ २५ पैसाका दरले तिर्दै आएकामा यस वर्षदेखि ६ रुपैयाँ २५ पैसाका दरले तिर्नुपर्ने सर्त छ ।


प्रेरा निर्माण सेवाले वार्षिक १ लाख ४३ हजारका दरले तिर्दै आएको छ भने कनक ट्रेड सेन्टरले पेट्रोल पम्प र हरिनारायणसहित सटरले वार्षिक २ लाख १४ हजार तिर्दै आएको छ । नक्सालस्थित कित्ता नम्बर ७६० को ५१ रोपनीमध्ये १४ रोपनी ९ आना बृहस्पति विद्या सदनलाई २०५८ सालमा ३५ वर्षका लागि लिजमा दिइएको थियो ।


सँगैको १३ रोपनी १२ आना १ पैसा जग्गा बृहस्पतिले वार्षिक ६ लाख रुपैयाँ तिरेर खेलमैदानका रूपमा प्रयोग गर्दै आएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समान प्रकृतिका जग्गाको भाडादर घटीबढी भएकाले एकै दरमा कायम गर्न बालमन्दिरलाई निर्देशन दिएको थियो ।


यसबारे बालमन्दिरले बृहस्पतिलाई जानकारी गराउँदा बढी भाडा तिर्न सहमत भएन । बालमन्दिरले उक्त जग्गा २०५९ मा तरुण निर्माण सेवालाई भाडामा दियो । भोगचलन गर्दै आएको जग्गा अर्कैलाई दिएपछि बृहस्पतिले २०६५ मा बालमन्दिरविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्‍यो ।


२०७२ मा मध्यस्थताका आधारमा मुद्दा सल्टाएर उक्त जग्गा बृहस्पतिले नै प्रयोग गर्दै आएको छ । ललितपुरमा कित्ता नं. ३६० को जग्गा प्रेरा निर्माण सेवाले ३० वर्ष अवधि भोगचलनका लागि २०६३ सालमा सम्झौता गरेर प्रयोग गर्दै आएको छ । टेकुमा कित्ता नं. ७, १५ र १८ को जग्गा हरिनारायण र कनक ट्रेडले प्रत्येक १० वर्षमा करार नवीकरण गर्ने गरी २०६२ बाट प्रयोग गर्दै आएका छन् । ललितपुरको ठेचोमा कित्ता नं. ६३६ को ५ रोपनी १३ आनामा स्थानीय क्लबलाई खेलमैदानका लागि निःशुल्क दिइएको छ । क्लबले कवर्डहल बनाएर खेलकुद गतिविधि गर्दै आएको छ ।


कित्ता नं. ६३७ को १ रोपनी १४ आना २ पैसा जग्गा स्थानीय समुदायले देवली, पूजाआजा गर्न प्रयोग गर्छन् । केही देवीस्थल पनि छन् । नक्सालकै कित्ता नं. ७६० को ५ रोपनी जग्गा बहिरा स्कुलले निःशुल्क प्रयोग गरेको छ । ४ रोपनी २ आनामा पौष्टिक आहार कार्यक्रमको कार्यालय बसेको थियो । यस ठाउँमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको छ । २.८ रोपनी जग्गामा अख्तियारको पार्किङ छ ।


बालमन्दिर आफू टहरामा बसेर अरूलाई सहारा बनिरहेको छ । ‘प्रयोगमा नभएको खाली जग्गा स्थानीय समुदाय, कार्यालयहरूलाई दिएका हौं, एकअर्कामा सरसहयोगको भावनाले पनि हुनुपर्‍यो,’ निर्देशक डंगोलले भने ।


बालमन्दिरले २०२१ सालदेखि संरक्षकविहीन बालबालिकालाई संरक्षण दिँदै आएको छ । देशैभरिबाट अस्पताल, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र स्थानीय तहबाट सिफारिस भई आएका बालबालिकाको लालनपालन, शिक्षादीक्षाको जिम्मेवारी बालमन्दिरले लिन्छ ।


बालमन्दिरका काठमाडौं, ललितपुर, काभ्रेपञ्चोक, दोलखा, गोरखा, मकवानपुर, कपिलवस्तु, सर्लाही र म्यादी गरी ९ जिल्लामा १० वटा बालगृह सञ्चालनमा छन् । बालमन्दिरको देशैभरी अर्थात् साविकका ७५ वटै जिल्लामा जग्गा र भवन छन् । तर संरक्षण र प्रयोगमा भने लापरबाही छ । कोषाध्यक्ष रामकृष्ण कँडेलका अनुसार विभिन्न जिल्लामा सञ्चालित बालगृहमा ४ सय बालबालिका संरक्षित छन् ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?