नगरकोट सडकको संसदीय अनुगमन : ठेकेदारको लापरबाही

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो । तर, कामको गतिमा सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दाले घाम लाग्दा धुलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् ।
लीला श्रेष्ठ

भक्तपुर — प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले पर्यटकीय गन्तव्य नगरकोट जाने सडक विस्तार ठेकेदारको लापारबाहीले अलपत्र भएको औंल्याउँदै समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । 

नगरकोट सडकको संसदीय अनुगमन : ठेकेदारको लापरबाही

समितिकी सभापति कल्याणीकुमारी खड्कासहित सांसदहरूको टोलीले आइतबार स्थलगत अनुगमन गर्दै सडक विस्तारमा ठेकेदारले ढिलाइ र लापारबाही गरेको निष्कर्ष निकालेको हो ।


खड्काको नेतृत्वमा समितिका सदस्यहरू, भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधान, नगरउपप्रमुख जुना बस्नेत, स्थानीय जनप्रतिनिधि, स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् ।


निर्माणाधीन सडकको अनुगमन क्रममा सभापति खड्काले कमिसनको खेलमा आयोजना अलपत्र परेको बताइन् । अनुगमनफछि नगरकोटमा आयोजित अन्तर्त्रिया कार्यक्रममा उनले पूर्वतयारी र पर्याप्त अध्ययन नभई ठेक्का हुनुले काममा ढिलाइ तथा लापरबाही हुने गरेको बताइन् ।


समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको कार्यप्रगति चौमासिक कार्ययोजनासहित समितिमा पेस गर्न उनले निर्देशन दिएकी छन् । आउँदो भ्रमण वर्ष २०२० लाई प्रभावित नहुने गरी समयमै सडकको काम सक्न उनले सम्बद्ध निकायलाई निर्देशनसमेत दिइन् ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आयोजना समयमा निर्माण गर्न जनस्तरबाट निरन्तर खबदारी हुँदा सुनुवाइ नभएकाले संसदीय समिति गुहार्नुपरेको बताए । ‘गत सार्क सम्मेलन, बिमस्टेक सम्मेलनमा यो बाटाकै कारण अतिथिलाई स्वागत गर्न सकिएन । अब भ्रमण वर्ष नगुमोस्, सडक विस्तार ढिलाइले पर्यटन प्रभावित भएको सन्दर्भ राख्दै बस्नेतले भने, ‘जनस्तरको यो पटकको दबाब निर्णायक हुनुपर्छ ।’ उनले ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने मागसमेत गरे । उक्त सडक विस्तारको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सनसहितले लिएको हो ।


कार्यक्रममा समितिका सदस्य सांसदहरू गणेश पहाडी, रामबहादुर विष्ट, यज्ञराज सुनुवारलगायतले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही हुनुपर्ने धारणा राखे । कार्यक्रममा सडक अनुगमनका क्रममा स्थानीयले समयमै बाटो निर्माणकार्य सम्पन्न नहुँदा हिलो र धूलोको सास्ती खेप्नुपरेको भन्दै आक्रोश पोखेका छन् ।


‘नगरकोट सडक प्रयोगकर्ता, स्थानीयले कसरी दिन काटेको होला, पर्यटक ल्याउने बाटो यही हो ?,’ नगरकोट सडकपीडित समिति संयोजक राजकुमार लामिछानेले सांसदहरूलाई प्रश्न गरे, ‘टिपरको पछाडि हिलो, धूलोमा वर्षादी ओढेर कति दिन हिँड्ने ?’ सडकसँगैको राजकुलोको क्षति, धुलोका कारण स्वास्थ्यमा परेको असर, बालीनालीको क्षतिपूर्तिको जिम्मा ठेकेदारले लिनुपर्छ भन्दै उनले गुनासो व्यक्त गरेका छन् ।


६ वर्षमा ६५ प्रतिशत काम

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो तर कामको गतिमा खासै सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दाले घाम लाग्दा धूलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् । ‘घाम लागे धूलो, पानी परे हिलो,’ स्थानीय दिनेश लामिछानेले प्रतिप्रश्न गरे, ‘खाल्डाखुल्डी सडकमा कति दिन ज्यानको बाजी थापेर यात्रा गरौं ?’ ‘धुलाम्य सडकका कारण स्थानीयले भोगेको असरको क्षतिपूर्ति कसले तिर्छ,’ उनले गुनासो गरे ।


सन २०१४ जुन ५ मा सम्झौता भई २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा लिएका आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले तीन पटक म्याद थप गर्दा बल्ल ६५ प्रतिशत काम सकाएको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना प्रमुख जगत प्रजापतिले बताए ।


ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको लगायत समस्या देखाएर विस्तारको जिम्मा लिएको ठेकेदारले २०१८ जुनसम्म सम्पन्न गरिसक्ने भन्दै तीनपल्ट म्याद थप गराएको थियो तर हालसम्म काम सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले भने विभिन्न समस्या देखाउँदै अझै म्याद थपको बाटो खोजिरहेका छन् ।


‘एक्जिम बैंक इन्डिया’ को १ प्रतिशत ऋण सहयोगमा कर सहित ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा विस्तार थालिएको हो । ६ वर्षअघि विस्तार थालिएको कमलविनायक भत्केको पाटी–नगरकोट सडक खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तार ढिलाइसँगै ठेकेदारको लापरबाहीका कारण सडक किनारामा लगाएको नाली पर्खाल भत्किसकेको अवस्था छ । कमलविनायक–बाँसबारीसम्म गरेको कालोपत्रेसमेत उक्किएर खाडल पर्न थालेको छ ।


विस्तारका नाममा नगरकोटको मुख्य सडक अलपत्र छोडिदिँदा नगरकोट/नाल्दुम आउने पर्यटकले दुःख पाउनुका साथै पर्यटन व्यवसाय धराशायी बनेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । ‘घाम लागे धूलो, पानी परे हिलो हुँदा आवातजावतमा समस्या परेको छ,’ नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘नगरकोटको सडक हेरेर पर्यटकले गाली गर्छन्, तत्काल सडक विस्तार सम्पन्न नभए भ्रमण वर्ष २०२० कागजमै सीमित हुन्छ ।’ कालोपत्रेसमेत उक्किएर खाडल बनेको उनको गुनासो छ ।


पर्यटकीय मार्गको मुख्य सडकलाई वर्षौंसम्म अलपत्र छोडिदिँदा आन्तरिक तथा बाह्य पर्यटकलाई प्रत्यक्ष असर परेको पर्यटन व्यवसायी धीरज लामाले बताए । पर्यटन प्रवर्द्धनका लागि जतिसक्दो छिटो सडक विस्तार गर्न माग गर्दै लामाले अनुगमनमा आएका संसदीय टोलीमाझ आक्रोश पोखे ।


सडक विस्तार कार्य सन् २०१४ जुनमा सुरु भई दुई वर्षभित्र सक्ने लक्ष्य थियो । हालसम्म रिटेनिङ वाल, नाली बनाउने कार्य, कमलविनायक–बाँसबारीसम्म कालोपत्रे (डीबीएसडी) भएको छ । अधिकांश स्थानमा नाली भत्किसकेको छ भने डीबीएसडी उक्किसकेको छ ।


हाल साढे ३ मिटरको सडकलाई बढाएर ७/७ मिटर कालोपत्रे गर्ने, नाली–ढलको व्यवस्थापन गर्ने र मुख्य घुम्तीमा ११ मिटरसम्मको फराकिलो सडक बनाउने योजनासहित आयोजनाले सडक विस्तारको जिम्मा पाएका आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई समयावधिमै कार्य सम्पन्न गर्न पटक/पटक निर्देशन दिँदा समेत काम नभएकाले संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिलाई गुहार्न बाध्य भएको चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।


निमार्ण व्यवसायीका प्रतिनिधिले सुदन गौलीले भने निमार्णको अभाव, स्थानीयको अवरोध, वन क्षेत्रका रुखहरू समयमै कटान नहुँदा सडक निर्माण कार्य समयमै नसकिएको बताए । भेरिएसन अर्डर ढिला हुँदा ९ करोड निकासा हुन बाँकी भएकालेपनि ढिला भएको बताए ।


स्थानीय आन्दोलनमा

भक्तपुरको भत्केको पाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । धूलो, धूवाँ, हिलो र खाल्डाखुल्डीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केको पार्टी–नगरकोट सडक ६ वर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यीय नगरकोट सडकपीडित संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।


एक्जिम बैंक भारतको सहयोगमा भत्केको पाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको १६ किमि सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले ६ वर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।


सडक खण्डअन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीय बासिन्दाको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सडकपीडित संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समितिले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर हुँदै संसदीय समितिसमेतलाई दबाब दिँदै आएको संयोजक लामिछानेले बताए ।

प्रकाशित : श्रावण १३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?