प्रतिबन्धित औषधि बिक्रीवितरण

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधि नेपालमा बिक्री भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधि पसलमार्फत् यो औषधि बिक्रीवितरण भइरहेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९ (१० दिनअघि) मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीविरतण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो । कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचारका लागि प्रयोग हुने यो औषधिले अप्रत्यक्ष रूपमा मानव स्वास्थ्यलाई समेत गम्भीर असर गर्ने भन्दै भारतले राजपत्रमा अंकित गरी यो औषधि प्रतिबन्ध गरिसकेको छ । नेपालमा भारतबाटै आयात गरी यो औषधिको

बिक्रीवितरण गरिने गरेको छ ।

पशुमा लाग्ने रोग निको बनाउन र पशुका खाद्यपदार्थमा प्रयोग गरिने भनिए पनि पछिल्लो समय पशुजन्य पदार्थको उत्पादन बढाउनका लागि ‘कोलिस्टिन’ को दुरुपयोग बढाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । र, यसले मानव शरीरमा ‘एन्टिबायोटिक रेसिस्टेन्ट’ बढेको पनि उल्लेख छ । ‘कोलिस्टिन’ को दुरुपयोग रोक्नकै लागि प्रतिबन्ध लगाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।


पशु सेवा विभागका डा. दिकरदेव भट्टका अनुसार नेपालमा विशेषगरी कुखुरामा लाग्ने रोग निको पार्न ‘कोलिस्टिन’ को प्रयोग हुन्छ । उनले भने, ‘कतै कुखुराको दानामा पनि यसको प्रयोग गर्छन् । दानामा एन्टिबायोटिक मिसाएर बेच्न र यस्तो दाना कुखुरालाई खुवाउने अभ्यासमा हामीले रोक लगाएका छौं ।’ रोक लगाए पनि लुकिछिपी यसको दुरुपयोग भने नरोकिएको उनले बताए ।


भारतबाट नेपालमा आयातित हुने औषधिमाथि तत्काल प्रतिबन्ध लगाउन नसकिने औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । उनले भने, ‘औषधिको प्रयोग र बिक्रीवितरण रोक्ने प्रक्रिया लामो छ । मन्त्रिपरिषद्बाटै निर्णय गरेर राजपत्रमार्फत् औषधि प्रतिबन्ध गर्नुपर्ने हुन्छ ।’ आन्तरिक छलफल र औषधि सल्लाकार समितिको बैठक बसेर मात्रै यो औषधिबारे केही निर्णय लिन सकिने उनले बताए ।



प्रकाशित : श्रावण १९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?