२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ललितपुरमा साइकल कानुन

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले साइकल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कानुन निर्माण गर्ने तयारी गरेको छ । स्थानीय तहले कानुन बनाउन पाउने अधिकार प्रयोग गरी महानगरले साइकल ऐन बनाउन लागेको महानगरले जनाएको छ । 

गत वर्ष महानगरले परमार्शदाताका रूपमा नेपाल साइकल समाजलाई नियुक्त गरेको थियो । जसको परामर्शअनुसार साइकल लेन निर्माण गर्ने भएको थियो । हाल महानगरले नेपाल साइकल सोसाइटीलाई कानुनको प्रारम्भिक खाका बनाउन जिम्मा दिएको छ ।

साइकल समाजले तयार पारेको प्रारम्भिक खाकालाई महानगरको विधेयक समितिले कानुनको ढाँचा दिने र आगामी हुने नगरसभाले अनुमोदन गरेपछि मात्र उक्त कानुन कार्यान्वयनमा आउने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । ‘कानुन बनाउँदा ललितपुरलाई साइकल सिटी बनाउन सजिलो हुने छ,’ उनले भने, ‘यसले साइकलमा यात्रुलाई प्रोत्साहित पनि गर्ने छ ।’

महानगरले ललितपुरलाई साइकल सिटी बनाउन साइकल लेनको योजना अघि बढाएको छ । साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख महर्जनले बताए । ‘साइकलमैत्री सडकमा प्रदूषण कम हुन्छ, सहर सफा पनि हुन्छ,’ उनले भने ।

अब बन्ने कानुन साइकल यात्रुको सुरक्षामा केन्द्रित हुने र संविधानसँग नजुध्ने गरी बनाइने साइकल समाजका अध्यक्ष रत्नराम श्रेष्ठले बताए । ‘नेपालमा साइकल यात्रुलाई प्राथमिकता दिएको छैन,’ उनले भने, ‘साइकल यात्रीलाई महत्त्व पनि दिइँदैन, त्यसैले अब बन्न लागेको कानुनले साइकल यात्रा सुरक्षित र सहज महसुस हुनेछ ।’ अपांगता, पैदल यात्रु तथा साइकल यात्रुलाई विशेष प्राथमिकता दिएर कानुनको मस्यौदामा राख्ने उनको भनाइ छ ।

मस्यौदामा साइकल यात्री दुर्घटनामा पर्दा पाउने क्षतिपूर्ति, सडकमा साइकल यात्रीलाई अन्य सवारीसाधनले दुर्व्यवहार गरे त्यसबापत् उसले तिर्नुपर्ने जरिवाना, सडकमा साइकल चलाउँदा साइकल यात्रीले पालना गर्नुपर्ने नियमहरू उल्लेख गरिनेछ ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?