२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

टेकाको भरमा संग्रहालय

संग्रहालयभित्र प्रदर्शनमा राखिएका पुरातात्त्विक सामग्रीहरु दत्तात्रयस्थित धातुकला संग्रहालयमा थन्क्याइएको छ । संग्रहालय अवलोकनका लागि टिकट काटेर आउने आन्तरिक तथा बाहृय पर्यटकले सीमित पुरातात्त्विक सामग्रीको मात्र अवलोकन गर्न पाउँछन्
लीला श्रेष्ठ

भक्तपुर — राष्ट्रियकला संग्रहालय भवनको दक्षिणतर्फको छाना त्रिपालले छोपेको छ । भूकम्पपछि अस्थायी सुरक्षाका लागि राखेको त्रिपाल मक्किएर फाटेपछि पुनः अर्को त्रिपालले छाना ढाकेको हो । सोही त्रिपालबाट समेत पानी छिरेर छानामा प्वाल परेको छ ।

टेकाको भरमा संग्रहालय

पटकपटकको भूकम्पको धक्का तथा पराकम्पहरूले क्षतिग्रस्त भवन थप धराप र जीर्ण बन्दै गएको संग्रहालय अधिकृत प्रतिमा रञ्जित बताउँछिन् ।


टेकोको भरमा अड्याएको धराप भवनमा राष्ट्रियकला संग्रहालयको कार्यालय सञ्चालनमा छ । संग्रहालयभित्र प्रदर्शनमा राखिएका पुरातात्त्विक सामग्रीहरू दत्तात्रयस्थित धातुकला संग्रहालयको चिकंफले मठको भण्डारमा थन्क्याइएको छ । संग्रहालय अवलोकनका लागि टिकट काटेर आउने आन्तरिक तथा बाहृय पर्यटकले सीमित पुरातात्त्विक सामग्रीहरूको मात्र अवलोकन गर्न पाउँछन् । भूकम्प गएको ५० महिना बितिसक्दासमेत विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरको ‘न्ह्याकं झ्या दरबार’ अर्थात् सिंहध्वाका दरबार (राष्ट्रियकला संग्रहालय) पुनर्निर्माण अन्योलमा छ ।


सिंहध्वाका दरबार पुनर्निर्माणका लागि पुरातत्त्व विभागले (लाल बैठकबाहेक) को भवन निर्माणका गर्न आर्थिक वर्ष ०७४/७५ मै ठेक्का लगाइसकेको थियो तर भक्तपुर नगरपालिकाले लाल बैठकसहितको भवन निर्माण मल्लकालीन शैलीमा निर्माण गर्नुपर्ने भन्दै ठेक्का रद्द गर्न विभागलाई अनुरोध गर्‍यो ।


विभागले सिंहध्वाका दरबार पुनर्निर्माणका लागि ५ करोड ६५ लाख ६७ हजार ६ सय १८ रुपैयाँ लागतमा सानु सुवाल/एसपी/जेभीलाई जिम्मा लगाएको थियो । ०७५/७६ भदौ मसान्तभित्र निर्माण सक्ने गरी कार्य प्रारम्भ गर्न लाग्दा नगरपालिकाले ठेक्का प्रक्रिया नै खारेज गर्न विभागलाई आग्रह गरेपछि पुनर्निर्माण रोकिएको भवन थप जीर्ण बनेको राष्ट्रियकला संग्रहालय भक्तपुर प्रमुख सरस्वती सिंहले बताइन् ।


नगर उपप्रमुख रजनी जोशीका अनुसार सिंहध्वाका दरबार नेपाल सम्वत् ८१८ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेको हो । विभिन्न कालखण्डमा पुनर्निर्माण जीर्णोद्धार गरिएका सिंहध्वाका दरबार, मालती चोक प्रवेशद्वार दरबारको रूपमा हाल राष्ट्रिय कला संग्रहालय अवस्थित छ ।


सिंहध्वाको प्रवेशद्वारमा जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र सिंहदेखि पूर्व अर्थात स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन (निओ क्लासिक) शैली दरबार गरी दुई खण्डमा विभाजित छ । सिंहध्वाका दरबारको मूलद्वारमा देवताको मूर्तिमा अभिलेखसहित ढुंगाको एक जोडी सिंह, ढुंगाको हनुमान र नरसिंहको मूर्ति अवस्थित छ । २०७२ वैशाखको भूकम्पले सिंहध्वाका दरबार (लाल बैठक) मा ठूलो क्षति पुगेको छ ।


मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने

भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारक्षेत्रस्थित ऐतिहासिक सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रको सिंहध्वाका दरबार (हाल राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको भवन पुराना प्रमाणहरूका आधारमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय तयारी भएको नगर उपप्रमुख एवं आर्किटेक इन्जिनियर रजनी जोशीले बताइन् ।


गतवर्ष साउनमा बसेको बैठकले मल्लकालीन शैलीमा सिंहध्वाका पुनर्निर्माण गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि पुरातत्त्व विभागमार्फत अनुरोध पठाउने निर्णय भएको नगरप्रमुख प्रजापतीले बताए । बैठकले २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त मालती चोकको पश्चिमतर्फको भवन पुरातत्त्व विभागद्वारा पुनर्निर्माणका लागि ठेक्का भएको भाग निर्माण गर्ने र बाँकी अगाडिपट्टिको भाग युनेस्कोको स्वीकृतिप्राप्त भएपछि नगरपालिकामार्फर्त पुनर्निर्माण गर्ने निर्णय भएको उनको भनाइ छ ।


नगरपालिकाले सिंहध्वाकाका ऐतिहासिक प्रमाण तथा चित्रहरू संकलन गरी सम्पदाकै रूपमा संरक्षण गर्न विस्तृत नक्सा डिजाइनसहित विज्ञहरूबीच छलफल गरेको जनाएको छ । छलफल र अध्ययनको निचोडअनुसार दरबारको सम्पूर्ण भाग मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न मन्त्रालय र विभाग सहमत भएको समेत नगरप्रमुख सुनिल प्रजापतीले बताए ।


‘भक्तपुर’ मासिकमा रवीन्द्र मुनकर्मीले उल्लेख गरेअनुसार सन् १८५६ मा न्हयकं झ्याः दरबारको आधा भाग भक्तपुरको वडा हाकिम धीरशमशेर राणाद्वारा भारतमा सृजना भएको अंग्रेज शैलीको लाल बैठकलाई पहिलो र भुइँ तलामा ६ वटा खम्बा भएको बार्दली राखेको भवन निर्माण गरियो ।


सिंहध्वाकाको पश्चिमतिर अवस्थित संरचना १९९० को भूकम्पबाट क्षतिग्रस्त हुँदा स्वरूप नै परिवर्तन गरेर छानामुनि दोस्रो तलाको बीचमा तीनमुखे झ्यालको दायाँबायाँ सानो झ्याल, पहिलो तलाको बीचमा आकर्षक शैलीको झ्याल राखी दायाँतिर सानो, ठूलो आँखी झ्याल र बायाँतिर पनि सानो झ्याल राखियो । भुइँतलामा सिंहध्वाकाबाट दायाँतिर सानो आँखी झ्याल, ढोका राखेको छ ।


राजा भूपतीन्द्र मल्ललाई भारतबाट ऐना उपहार आएको र त्यो कसैसँग नभएको ऐनाबाट प्रभावित भएर राजाले सबैलाई देखाउनुपर्छ भनी ऐना राखिएको झ्यालसहित दरबार निर्माण गर्न लगाएको मुनकर्मीले लेखमा उल्लेख गरेको छ । ऐना राखिएको झ्यालसहितको दरबारलाई नै ‘न्हयकं झ्याः’ दरबार भनिएको उल्लेख छ । नगरपालिकाले सिंहध्वाका दरबार पुनर्निर्माणका लागि प्राविधिक कार्य तयारी गरिसकेको नगर उपप्रमुख जोशीले बताइन् । सिंहध्वाका पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउने कार्यभइरहेको समेत उनले बताइन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?