कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बानेश्वर चोकमा आकाशे पुल बन्दै

सीमा तामाङ

काठमाडौँ — सडक विभागले व्यस्त क्षेत्र नयाँ बानेश्वर चोकमा स्काई ब्रिज अर्थात् आकाशे पुल निर्माणको कार्य थालनी गरेको छ । पैदल यात्रु र सवारीचालक दुवैको समस्यालाई मध्यनजर गर्दै विभागले नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने भएको हो ।

विभागले पहिलो चरणमा बानेश्वर चोकमा र दोस्रो चरणमा कोटेश्वरमा निर्माण गर्ने भए पनि निर्माणको जिम्मा डिभिजन सडक कार्यालय काठमाडौंलाई दिइएको छ ।


डिभिजन सडक कार्यलय काठमाडौंका अनुसार बोलपत्र आहृवान गरी गत वर्ष चैतमा प्राकृतिक/पवन जेभी कम्पनीसँग सम्झौता गरेको थियो । बानेश्वर चोकमा बन्न लागेको आकाशे पुलको दुवैतिर पायलिङको काम भइरहेको छ । करिब २ करोड ४ लाख रुपैयाँमा कम्पनीले पुल निर्माण गरी डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने छ । नयाँ बन्ने आकाशे पुल अर्थात् स्काई ब्रिज ढलान गरेको नभई इस्पातको पुल बन्नेछ ।


भविष्यमा केही अप्ठ्याराहरू सिर्जना गरे पुललार्ई अन्यत्र ठाउँ लैजान र पुनः प्रयोग गर्न मिल्ने गरी बनाइने डिभिजन कार्यलयले जनाएको छ । उक्त आकाशे पुलको लम्बाइ ३८ मिटर र चौडाइ ३ मिटर रहने छ ।


स्टिल ट्रस्ट ब्रिजको २४ वटा पायलिङमध्ये हालसम्म १२ पायलिङको काम सकिएको डिभिजन सडक कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुदर्शन कार्कीले बताए । ‘एभरेस्ट होटल छेउमा पुलका लागि जग खन्ने काम गरे पनि जमिनमुनि नेपाल टेलिकमको अप्टिकल फाइवर भेटिएकाले हाल काम अवरूद्ध भएको छ,’ उनले भने ।


कम्पनीसँग आगामी पुस मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गरी विभागलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको छ । सवारीसाधनसँगै पैदल यात्रुको पनि भीड लाग्ने बानेश्वर चोकमा वारिपारि गर्न एउटा मात्र जेब्राक्रस छ । जसले गर्दा पैदलयात्रुले करिब २० देखि ३० मिनेट पर्खिनुपर्ने बाध्यता छ ।


त्यस्तै चालकले पनि पखिर्नै पर्ने बाध्यता रहेको छ । त्यसैले पुल बनेपछि सबैभन्दा बढी लाभ पैदलयात्रुलाई अनि सवारीचालकलाई हुने अनुमान छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?