१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धाः बाजंमा बुहारी हात

खिचापोखरीमा सुरुवाती दिनमा धाः बाजं बजाउने छोरी पुस्ता विवाह गरेर अन्यत्रै लागे । यस्तोमा महिलाको निरन्तर सहभागिताको जिम्मेवारी उठाएका हुन्, बुहारी पुस्ताले ।
हिमेश

काठमाडौँ — उपत्यकाका बौद्धमार्गीबीच एउटा लोकोक्ति खुबै लोकप्रिय छ र त्यो हो, गौतम बुद्धलाई सबैभन्दा बढी मन पर्ने बाजा हो, धाः बाजं । युवराज छँदा दरबारतिर बरालिँदा उनी धाः बाजं सुन्थे भनिन्छ । यी त सबै लोकप्रिय कथाजस्तै हुन् ।

धाः बाजंमा बुहारी हात

तर एउटा के निश्चित छ भने, धाः बाजंबाट निस्कने स्वर खुबै सुमधुर हुन्छ र मनै प्रफुल्लित हुन्छ । अचेल एक महिनाको गुँलाः पर्व चलिरहेको छ र यसै क्रममा बिहान बिहानै भित्री काठमाडौंमा सुनिने गरिन्छ, यही धाः बाजं ।


अनि आजभोलि यो धाः बाजंको स्वरमा अझ मिठास थपिएको छ, त्यसमा बुहारी पुस्ताको हात परेपछि । यो पर्वको क्रममा बिहान सबेरै बाजा बजाउँदै नजिकका चैत्यविहार घुम्ने चलन छ, विशेषतः स्वयम्भू । यो चलन परापूर्वकालदेखि चल्दै आएको छ तर पछिल्ला केही वर्ष यसमा ठूलै परिवर्तन देखा पनि पर्न थालेको छ । कुनै समय थियो, धाः बाजं महिलाले बजाउने त कता हो कता, छुन पनि हुन्न भनिन्थ्यो । अचेल यी दिन फेरिएका छन् ।


साउन शुक्ल प्रतिपदाबाट सुरु भएको गुँलाः पर्वको प्रत्येक दिन बिहान खिचापाखेरीको पाक्व पुखुद्यांबाट एक हूल महिला धाः बाजं बजाउँदै स्वयम्भू लाग्ने गरेका छन् । त्यति बेला उनीहरू प्रायः पारम्परिक हाकु पटासीमा सजिएका हुन्छन् । यस्तोमा उनीहरू धेरैका लागि आकर्षण पनि हुने गरेका छन् । ‘केहीलाई यो सामान्य लाग्न सक्छ, तर हाम्रो लागि यो ठूलो उपलब्धि हो, महिलाले पनि अब धाः बाजं बजाउने भए, अझ बुहारी पुस्ताले,’ त्यही महिला समूहकी एक सदस्य सजिना मानन्धर भन्छिन् ।


त्यसो त महिलाले धाः बाजं बजाउन सुरु गरेको एक दशक जत्ति भइसकेको छ । सम्भवतः धाः बाजं बजाउने पहिलो महिला थिइन्, पौडीकी पुरानी खेलाडी नयना शाक्य । त्यति बेला छोरीको पुस्ताका महिलाले यो बाजा बजाउन सुरु गरेका थिए । अब आएर यो बुहारी पुस्तामा सरेको छ । त्यही खिचापोखरीमा सुरुवाती दिनमा धाः बाजं बजाउने छोरी पुस्ता विवाह गरेर अन्यत्रै लागे । यस्तोमा महिलाको निरन्तर सहभागिताको जिम्मेवारी उठाएका हुन्, बुहारी पुस्ताले ।


त्यस पुस्ताका केही बुहारीले त नातिनातिनी पनि देखिसके । यिनै महिला खुबै ठाँटले धाः बाजं बजाउँदै भित्री काठमाडौं घुम्दा को मात्र आकर्षित हुन्न होला ? यो सबै परम्परा सुरु गर्ने श्रेय भने खिचापोखरीकै कलाकार सुरेन्द्र मानन्धरलाई जान्छ । लगभग चार दशकदेखि यही बाजा बजाउँदै आएका सुरेन्द्रले नै १० वर्ष जति अगाडि महिलालाई पनि यो बाजा बजाउन सिकाउँदा बाजे पुस्ताले उनको चर्को आलोचना नै गरे । प्रश्न हुने गर्थ्यो, महिलाले पनि बाजा बजाउने र भने ?


तिनै सुरेन्द्रको प्रेरणाले धाः बाजं बजाउन सिकेका सजिना थप्छिन्, ‘महिला घरमै सीमित हुने दिन अब रहेन । अब धाः बाजं बजाउने काम पनि पुरुषको मात्र रहेन, यो महिलाको पनि भएको छ । हामी बुहारी पुस्ताले यो जिम्मेवारी उठाएका छौं, यसले पक्कै समानताको सन्देश दिने छ, सानै स्वरूपमा भए पनि ।’ धाः बाजं बजाउन उनीहरूले लगभग दुई साताको अभ्यास पनि गरे । धेरैको अनुभव छ, उनीहरूले चाँडै यो बाजा बजाउन पनि जाने ।


स्वंय सुरेन्द्र पनि दंग छन्, अब उनको टोलबाट हत्तपत्त धाः बजाउन जान्ने महिलाको कमी हुने छैन, किनभने अब यो टोल तिनै बुहारी पुस्ताको त हो । नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व बौद्ध धर्मालम्बीका लागि विशेष रहने गर्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ । यो महिनामा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप बढी हुने हुनाले पनि त्यसो नहोस् भन्ने कामना गरेर गुँलाः पर्व मनाइन्छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?