कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वडा भवनमा किचलो

प्रशान्त माली

काठमाडौँ — ६ वटा सटर । एउटा ठूलो र दुई मझौला कोठा । ठूलोमा वडाध्यक्ष, वडासदस्यहरूसहित वडासचिव बस्ने टेबुल कुर्सी राखिएका छन् । मझौलामा प्राविधिक, लेखा र राजस्व शाखा सञ्चालनमा छ । अर्कोमा दर्ता चलानी शाखा छ ।

काठमाडौं महानगरपालिका–४ चण्डोल टोलमा अवस्थित यो भवन त्यहाँका एक व्यक्तिले २०६४ मा पर्ति जग्गा मिचेर बनाएका थिए । अहिले यस भवनमा वडा कार्यालय सञ्चालनमा छ ।


प्रायः लाई बालुवाटारस्थित वडा भवन भूकम्पले क्षतिग्रस्त बनेपछि कार्यालय यहाँ सरेको लाग्न सक्छ । वास्तविकता भने फरक छ । काठमाडौं निवासी सुशीला तुलाधरले कित्ता नम्बर ४४२ को उक्त पर्ति जग्गामा भवन बनाई १२ वर्षदेखि भाडामा लगाई आम्दानी गर्दै आइरहेकी थिइन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि स्थानीयले तुलाधरविरुद्ध वडा कार्यालयमा उजुरी दिए । वडाले फिल्डबुक नक्सा उताएर हेरे । पर्ति जग्गामा भवन बनाएको देखेपछि खाली गर्न घरधनीलाई म्याद पठाए । तुलाधरले वडालाई विपक्ष बनाएर मुद्दा हाले । अन्ततः अदालतले वडाको पक्षमा फैसला गरिदियो ।


काठमाडौं महानगर–४ का वडाध्यक्ष मोहनबहादुर विष्ट भन्छन्, ‘बालुवाटारस्थित वडा भवन पुनर्निर्माण गर्न ३ करोड ४७ लाख रुपैयाँमा ठेक्कापट्टा भएको छ । अहिले निर्माण सुरु गर्ने तयारीमा छ । कार्यालय भाडामा सर्न कोठा खोज्ने तरखरमा थिए । अदालतले वडाको पक्षमा फैसला गरिदियो । अनि यहाँ सरेका हौं ।’ उनले भाडाबापत् तिर्नुपर्ने रकम मात्रै ५ लाख रुपैयाँ जोगिएको बताए । ‘नगर क्षेत्रभित्र सार्वजनिक मिचेर बनाइएका सरचना थुप्रो छन् । कतिपय व्यक्तिको नाममा दर्ता समेत भइसकेका छन्,’ उनले भने, ‘नेपाल सरकारको नाममा फिर्ता ल्याउन जुटेका छौं ।’


अदालतमा वडा कार्यालयविरुद्ध सार्वजनिक जग्गासम्बन्धी ६ वटा मुद्दा दर्ता छन् । साविक धोबी खोला कित्ता नम्बर ५२८ मा पर्दछ । खोला अतिक्रमण गरी विनोद खत्री, रामनाथ मिश्र, निरञ्जन चापागाई, देवेन्द्र पाण्डे, सुरेन्द्र पौडेललगायतले संरचना बनाएको वडा कार्यालयको दाबी छ । वडाअध्यक्ष विष्टले पौडेलले मिचेको जग्गाको रेखांकन गरी साढे २८ फिट चौडाइ र १ सय ५० फिट लम्बाइको पर्खाल लगाइसकेको बताए । ‘मिश्रले आफैंले भत्काउने भने तापनि अटेर गरिबसेको छ,’ उनले भने । खोला अतिक्रमणसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।


कपन मार्गमा ६ रोपनी सार्वजनिक जग्गा मिचेको सम्बन्धी मुद्दामा पनि उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

वडा कार्यालयका अनुसार हरिशरणसिंह ठकुरी र कान्छासिंह ठकुरीले पर्ति जग्गा आ–आफ्नो नाममा दर्ता गरेका थिए । पछि आआफ्ना श्रीमतीको नाममा अंशबन्ड गरी भागबन्डा गरेको कार्यालयको दाबी छ ।


धोबी खोला करिडोर ढलान पुलस्थित साविक २३ ‘ढ’ कित्ता नम्बर १२९ र १३० ध्रुवनारायण चित्रकारले दर्ता गरे । यससम्बन्धी उजुरी पर्‍यो । अहिले सर्वोच्चमा मुद्दा विचाराधीन छ । चाबहिल धोबी खोला करिडोरमा ३ रोपनी क्षेत्रफल मिचेर बनाइएको टहरा भने हटाइसकेको छ । लक्ष्मी श्रेष्ठले अतिक्रमण गरेको कार्यालयले बताएको छ ।


रारा समाज र वडा कार्यालयको सहकार्यमा उक्त स्थानमा पार्क निर्माण गरिसकेको छ । धुम्बराही हाइटमा करिब एक रोपनी पर्ति जग्गा अतिक्रमण गरी फर्निचर सञ्चालनमा छ । वडा कार्यालयको खाली गर्न निर्देशन दिएको छ । तैपनि अटेर गरिबसिरहेको कार्यालयका भनाइ छ । वडा नम्बर ४ र ५ को सिमानामा उत्सव खडकाले सार्वजनिक जग्गा मिचेर पर्खाल लगाएको कार्यालयको दाबी छ ।


यससम्बन्धी मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ । टुसाल पार्क अतिक्रमणसम्बन्धी मुद्दाको भने फैसला भइसकेको छ । निरु थापा र अनिता थापाले अतिक्रमण गरेका थिए । पार्क २ रोपनी २ आनामा फैलिएको छ । वडाअध्यक्ष विष्टले सरकारको नाममा ल्याउनुपर्ने जग्गा थुप्रो भएको बताए । ‘कतिपय जग्गा खोज्नुपर्ने अवस्थामा छ,’ उनले भने ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?