३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पशुपति भण्डारखाल छियाछिया

गौशालाको उत्तर पश्चिममा पर्ने यो जंगल १४ सय वर्ष पुरानो मानिन्छ । परापूर्वकालदेखि पशुपतिनाथलाई फूल चढाउनका लागि बगैँचा थियो यहाँ । बगैँचाको रूपमा यसलाई रणबहादुर शाहले पशुपतिनाथलाई समपर्ण गरेको भनाइ छ ।
दामोदर न्यौपाने

काठमाडौँ — गौशालास्थित पशुपति क्षेत्र विकास कोषबाट सडक पारि एउटा गेट छ । पशुपतिको चर्चित वन क्षेत्र भण्डारखाल छिर्ने गेट हो यो । गेटबाट छिर्नासाथ अग्लो रूख देखिन्छ । यो सुकेको छ । झ्याम्म परेको रूख ऐतिहासिक मानिन्छ । यो रूख जंगबहादुरले बेलायतबाट बिरुवा ल्याएर रोपेका थिए । 

पशुपति भण्डारखाल छियाछिया

स्थानीय तहमा ‘मंकी पजल’ नामले चिनिने यो रूखको वरिपरि मिसेन्ट बालुवा प्रयोग गरेर ढुंगा छापेपछि मरेको हो । यो बाह्रै महिना हरियो देखिन्थ्यो । रूख बढदै जाँदा तलतल ठूला ठूला ठोसा देखिँदै जान्छ । बाक्लो ठोसा भएको ठाउँबाट बाँदर पनि रूख चढ्न नसक्ने हुनाले यो रूखलाई ‘मंकी पजल’ भन्ने गरिएको पशुपतिनाथका भण्डारी केदारमान भण्डारी बताउँछन् ।

‘यो रूख भण्डारखालको शोभा थियो,’ भण्डारी भन्छन्, ‘कोषले ढुंगा छापेपछि फेदमा पानी जान पाएन । अनि मर्‍यो ।’ रूख मरेका यो मात्र होइनन् । जंगललाई बीचबाट चिरेर तेब्बर लेनको सडक जत्रो बाटो बनेको छ । बाटोका बीचमै पर्ने ठूलो सल्लोको रूख पनि मरेका छन् । साना अरु साना रूख पनि थुप्रै मरेका छन् ।


मरेका रूख धमाधम काटिराखेका देखिन्छ । ‘जंगल छियाछिया भयो,’ भण्डारी भन्छन्, ‘यति ठूलो बाटो बनाउँदा थुप्रै जंगल मासिए ।’ यहाँ आउनेलाई घुम्न सहज होस भनेर जंगलका ठाउँठाउँबाट ढुंगा छापेर बाटो बनाइएको छ । मुख्य बाटो ठूलो छ । त्यहाँबाट कुना काप्चा जाने साना बाटा बनेका छन् । ठाउँठाउँमा चोक पनि बनाइएको छ । बाटोको छेउमा इँटाको पर्खाल पनि लगाइएको छ । ‘पर्खालमा माटो लगाएर ढुंगा छापेको भए वातावरण प्राकृतिक हुन्थ्यो । ठाउँठाउँबाट पानी पनि छिर्थ्यो । झार पनि पलाउँथ्यो,’ भण्डारखाल घुम्न आएकी जोरपाटीकी सुश्रिया समीपले भनिन् ।


‘सिमेन्ट प्रयोग गर्दा रूख परेछन् । जंगलै उजाड भएछ । साना कुरामा ध्यान दिएको भए हिंड्न पनि सजिलो हुन्थ्यो । जंगलको सोभा पनि कायम रहन्थ्यो,’ उनले थपिन । जंगल जंगल जस्तो नरहने गरी अहिले जंगल छियाछिया बनाउने कामको ठेक्का दिँदासमेत अनियमितता भएको महालेखा परीक्षक प्रतिवेदनले जनाएको छ ।


कममा ठेक्का पारेर बढी भुक्तानी

कोषले भण्डार बगैँचा निर्माण गर्ने भन्दै २०७३ सालमा सम्झौता गरेको थियो । सुरूको निर्माण अनुमान ५ करोड १ लाख ३१ हजार ६ सय ५१ रुपैयाँ थियो । लागत अनुमानभन्दा कम ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा आदर्श निर्माण कम्पनीले ठेक्का हात पार्‍यो । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उसले पाए पनि तोकिएको समयमा काम सकिएन ।


अनुमानित लागतभन्दा कममा टेन्डर स्वीकृत गराएर पछि फेरि ‘भेरिएसन’ रकम माग गर्‍यो । ढुंगा छाप्ने र दुबोको काम बढाउनुपरेको भन्दै थप रकम भुक्तानी लिएको पाइएको छ । भेरिएसन भएको रकम कार्यसम्पदा समितिको बैठकमा कोषाध्यक्षले पेस गरेका थिए । त्यसलाई कार्यसम्पदा समतिले स्वीकृत नगरे सदस्य सचिवले निर्णय गरेर भुक्तानी दिएको महालेखा परीक्षक प्रतिवेदनले औंल्याएको छ ।


प्रतिवेदनले कोषले ठेकेदारलाई दिएको ३४ लाख ३६ हजार ९ सय ५१ रुपैयाँ भेरिसन भएको यकिन नदेखिएको औंल्याएको छ । सार्वजनिक खरिद ऐनले सम्झौता गर्दाको समसमा पूर्वअनुमान गर्न नसकिने परिस्थिति आएमा त्यसको स्पष्ट कारण खुलाई तोकिएको अधिकारीले भेरिएन गर्न सक्ने व्यवस्था गरेको छ । कोषले भनेर स्पष्ट भेरिएसन नखुलाई भुक्तानी दिएको महालेखाले जनाएको छ ।


हेर्दा हेर्दै उजाडियो

कालोपुलकी हेमा सुवेदी भण्डारखाल छेउको बाटोबाट ओहोरदोहोर गर्न थालेको बीस वर्ष भयो । उनले देख्दा यहाँको जंगल घना थियो । रूखबिरुवा बाक्लै थिए । ‘हेर्दाहेर्दै जंगल उजाड भयो,’ उनी भन्छिन्, ‘भएका रूख काटिए । नयाँ रोपिएन । अहिले त खाली नै पो देखिन्छ ।’


गौशलाको उत्तर पश्चिममा पर्ने यो जंगल १४ सय वर्ष पुरानो मानिन्छ । परापूर्वकालदेखि पशुपतिनाथलाई फूल चढाउनका लागि बगैँचा थियो यहाँ । बगैँचाको रूपमा यसलाई रणबहादुर शाहले पशुपतिनाथलाई समपर्ण गरेको भण्डारी बताउँछन् । पशुपतिको बगैँचामध्येमा यसलाई ठूलो बगैँचासमेत भन्ने गरिन्थ्यो ।


‘पशुपतिनाथलाई चढाउने राम्रो फूल यहीं उत्पादन हुन्थे,’ भण्डारी भन्छन्, ‘अहिले यहाँ कुनै फूल छैनन् । बगैँचा नै मासियो ।’भण्डारखालभित्र मडिल्लो, शिरीष, हाडेवयर, सुनचाप, काउलो, प्वाले, कागतेपाट, फलामेकाडा, बाकलपातो, सिलिङगे, कालीमयल, कनकचप्पा, गुन्द्रुकगानो, फित्तिफ्याँ, चिलाउने, देवदार, खरी, सिमल, काभ्रो, आँखा तरुवाजस्ता वनस्पति छन् । बस्तीको बीचमा छ यो जंगल । पशुपति क्षेत्र विकास कोषका अनुसार जंगलको क्षेत्रफल १ सय ३४ रोपनी छ ।


भण्डारखाल बगैँचाको रेखदेख पशुपति क्षेत्रमा बसोबास गर्ने जातिले गर्दै आएका थिए । भण्डारीका अनुसार यसको व्यवस्थापन ब्याङ मोहीले गर्थे । दुका बिर्ता, मनाभोग गुठी, मिठाई गुठी, पायस गुठी, महास्नान गुठी पशुपतिका पर्वपूजा सञ्चालन गर्न राखिएका गुठी हुन् ।


यी गुठीका गुठियारले नै बगैँचाको काम गर्थे । त्यसरी खेताला तीन रोपनीमा काम गर्न एक जना खेताला हुन्थे । स्थायी रूपले रेखदेख गर्न पनि कर्मचारीको व्यवस्था थियो । विसं. १९७५ सम्म यस्तो प्रचलन थियो । एक जना चिताइदार र तीन सिपाहीको

व्यवस्था थियो रेखदेखका लागि ।


पछि यसको रेखदेख पशुपति क्षेत्रको गुठीको रेखदेख गर्दै आएको अमालकोट कचहरीले गर्न थाल्यो । अमालकोट कचहरी गिर्वाणयुद्ध विक्रम शाहको पालामा भएको थियो । उनले विस १९७० मा पशुपतिनाथको देवपाटनलाई चारकिल्लामा बाँधेका थिए । त्यहा गुठी, बिर्ताजस्ता जग्गाको व्यवस्था गरेर त्यसको रेखदेखको लागि अमालकोट कचहरी गर्ने व्यवस्था गरेका थिए ।


भण्डारीको अनुसार ३० को दशकसम्म यहाँ भव्य बगैँचा थियो । दसैंका लागि ल्याइएका भेडाच्यांग्रा यही ठाउँमा राख्दा जंगल सखाप हुन सुरु भएको स्थानीय बताउँछन् । यहाँका सडेगलेको काठ नेपाली सेनाको समरजंग गुल्मले जम्मा गर्ने चलन छ । जम्मा भएका काठ शिवरात्रि लगायतमा धुनी बाल्न प्रयोग हुन्छ ।


के हो भण्डारखाल ?

भण्डारखाल हरेक प्राचीन दरबारमा छन् । वसन्तपुर, ललितपुर दरबार लगायतमा पनि भण्डारखाल छन् । पशुपति विज्ञ संस्कृतिविद् गोविन्द टण्डनका अनुसार राजदरबारमा भण्डारखाल बनाउने चलन थियो । ‘आजकाल भण्डारखालको काम साधारण खेतबारी वा कहिलेकाहीँ बगैँचाजस्तो देखिए पनि प्राचीनेपालमा भण्डारखाल सुरक्षित भण्डारको रूपमा हुन्थ्यो,’ टण्डन पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा लेख्छन् ।


उनका अनुसार, ‘शत्रुको बारम्बार आक्रमण भइरहने हुनाले यस्ता भण्डारखालमा जतनपूर्वक खाडल खनेर धन, सम्पत्ति लुकाइने परम्परा प्राचीनकालमा थियो । सम्भवतः त्यस्तै कामका लागि यहाँको भण्डारखाल पनि प्रयोग गरिएकाले नै सो नाम रहन गयो ।’ देवपतन कुनै बेला बेग्लै राज्य थियो । देवपतनको स्थापना अशोककी छोरी चारूमतिले गरेको मानिन्छ । यही देवपतन रणबहादुर शाहले पशुपतिनाथलाई चढाएका थिए । देवपतनमा थुप्रै दरबार भएको वंशावलीमा उल्लेख छ ।


कति प्राचीन ?

पशुपति क्षेत्रका कैलाशडाँडा, मृगस्थलीमा उत्खननका लागि माटो परीक्षण गरिएको थियो । त्यहाँ उत्खनने गर्दा केही नभेटिएको पुरात्त्व विभागका प्रवक्ता रामबहादुर कुँवर बताउछन् । त्यसमध्ये भण्डारखालमा मात्रै लिच्छविकालीन सामग्री पत्ता लागेका थिए । पुरातत्त्व विभाग र बेलायतको दुराहम विश्वविद्यालयले सन् २०१४ मा यसको उत्खनन् गरेको थियो ।


उत्खनन् गर्दा यहाँ ठूलो ट्यांकी भेटिएको थियो । ट्यांकीको लम्बाइ २३ मिटर, २५ मिटर चौडाइ र ९ मिटर गहिराइ थियो । ट्यांकी इँटाले बनेको पाइएको थियो । ट्यांकी पानी राख्न प्रयोग भएको वा धन राख्न प्रयोग भएको हो, त्यसको अध्ययन भइरहेको विभागले जनाएको छ । यहाँका अभिलेख हेर्दा बगैँचा अंशुवर्माको पालामा बनेको हुन सक्ने अनुमान विज्ञको छ ।


यहाँ विभिन्न सांस्कृतिक गतिविधिसमेत जेलिएका छन् । १२ वर्षमा हरिसिद्धिबाट ल्याइने १२ वर्षे जात्रा भण्डारखालमै लगिन्छ । यो जात्रामा आउदा सुनको ढोकाबाट छिरेर चादीको ढोकाबाट निस्कने चलन छ । बच्छलेश्वरीको जात्रासँग पनि भण्डारखाल जोडिएको छ ।


बत्सलेश्वरी जात्राको खट यही बाटो भएर सिफल लगिन्छ । सिफल लैजादा यहाँको पर्खालमा तीन पटक ठोकाउने चलन छ । ‘हरेक कोणबाट महत्त्व छ भण्डारखालको,’ पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा प्रमुख प्रेमहरि ढुंगाना भन्छन्, ‘भण्डारखाललाई सांस्कृतिक केन्द्रका रूपमा विकसित गर्न सकिन्छ ।’

प्रकाशित : श्रावण २३, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?