कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यल पञ्चदानमा आकर्षण

प्रशान्त माली

काठमाडौँ — पञ्चदानमा भिक्षु, ब्रहृमाचारी, चैलक्यसँगै शाक्य र बज्राचार्य थरकाहरू बही, बिहार, टोल, चोक, घरआँगनमा पुगेर दान माग्ने जाने परम्परा छ । पछिल्लो समय लाजको कारणले दान थाप्न जाने युवाहरूको संख्यामा कम हुँदै आएको थियो ।

यल पञ्चदानमा आकर्षण

अहिले संस्कृति, पर्व संरक्षण गर्नुपर्छ भन्ने एक खालको जागरण आएको छ । बिहीबार ललितपुरमा सम्पन्न यल (पाटन) पञ्चदानमा युवाहरूको उल्लेखनीय सहभागी देखिनु यसको ज्वलन्त उदाहरण हो ।


पाटन बहालका युवा राजेश बज्राचार्य भन्छन्, ‘विगतका वर्षहरूमा पर्वमा युवाहरूको उपस्थित कम हुँदै गएको थियो । अहिले सोचमा परिवर्तन आएको छ । शाक्य बज्राचार्य मात्र नभई बौद्धधर्ममा विश्वास राख्ने अन्य समुदायका व्यक्तिको पनि सहभागिता हुन थालेको छ ।’ उनका अनुसार दान भनेको लोभ, लालच नराखी शुद्ध मनले निःस्वार्थ रूपमा दिने गरिन्छ । बौद्धधर्ममा दानधर्मको ठूलो महत्त्व छ । ‘बुद्धत्व प्राप्त गर्न आवश्यक दस पारमितामध्ये दान पारमिता पनि एक हो,’ उनले भने ।


पञ्चदान बौद्ध धर्मावलम्वी नेवारहरूको ठूलो पर्व मानिन्छ । यो पर्व बौद्ध परम्पराअनुसार श्रावण शुक्लपक्ष अष्टमीका दिन ललितपुरमा मात्र आयोजना हुन्छ । त्यसलाई ‘यल पञ्चदान’ भन्ने गरिएको हो । काठमाडौं, भक्तपुर, थिमि, बनेपा, साँखु, पनौतीलगायत ठाउँमा भने प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीमा मनाइन्छ ।


पर्वको अवसरमा पाटनका नागबहाल, गोल्डेन टेम्पल, श्रीबच्छ महाविहार, पाटन दरबार क्षेत्रको हखाः लगायत टोलमा दीपंकर तथा बुद्धका मूर्ति र पौः बाः सजाई सामूहिक पञ्चदानको आयोजना गरेको थियो । पञ्चदानमा धानचामल, गहुँ, नुन, कालो भटमास, क्षीर, फलफूल र दक्षिण दान गरिन्छ ।


पञ्चदान गर्दा फुद्यो (अन्तिम पञ्चदान लिन आउने) नआएसम्म दान गरिराख्नुपर्ने परम्परा छ । पञ्चदान लिन आउनेले ‘लोकमा दान नै विभूषण, दानले नै दुर्गति निवारण गर्दछ, दानले स्वर्गमा ठाउँ पाइन्छ’ भन्ने अर्थको स्तोत्र पाठ गर्दै अगाडि बढेका थिए । दान लिएपछि दाताको आयु, आरोग्य, यश, जन, धन, सन्तान वृद्धि र शान्तिको कामना पनि गरेका थिए ।


लिच्छविकालमा गुल्तङ ग्राम नामले प्रसिद्ध उक्त ठाउँमा सत्य युगमा सर्वानन्द नाम गरेका राजाले आफ्नो दरबारमा दीपंकर तथागत र उनका शिष्यलाई निमन्त्रणा गरी सर्वप्रथम पञ्चदानको आयोजना गरेको विश्वास गरिन्छ । पर्वको अवसरमा खीर खाने पनि चलन छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?