कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटपाथमै वृक्षरोपण

कान्तिपुर संवाददाता

भक्तपुर — साँघुरो सडक । सडकबीचमै बिजुलीको पोल ठडिएको छ । त्यही साँघुरो सडकको दायाँबायाँ मुस्किलले हिँड्न मिल्ने फुटपाथ छ । शनिबार विभिन्न सहकारी, संघसंस्थाको समन्वयमा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतले फुटपाथमै वृक्षरोपण गरेका छन् ।

फुटपाथमै वृक्षरोपण

सयौं स्थानीय बासिन्दाको उपस्थितिमा फुटपाथमा वृक्षरोपण गरे पनि फुटपाथ मिचिएको भन्दै धेरैले आलोचना गरेका छन् । ‘सडक बीच मै ठड्याएको बिजुलीको पोलमा अलपत्र छोडिएका तारको व्यवस्थापन छैन,’ स्थानीय रामकाजी खडकाले भने, ‘कतिपय स्थानमा फुटपाथसमेत छैन ।’ फुटपाथको वृक्षरोपणले पैदलयात्रुको सुरक्षामा चुनौती थपिएको उनी बताउँछन् ।


अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको छ । हरियाली क्षेत्र प्रवर्द्वनका लागि सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’ घोषणा गर्दै वृक्षरोपण अभियानसमेत सुरु गरेको छ । सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवारोपण अभियान’ थालेको थियो ।


उक्त अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरुवारोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना सरकारको छ ।


लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोपण गर्ने सरकारको तयारी छ । केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरूलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।


सोही निर्देशनबमोजिम केन्द्र, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि वृक्षरोपण गर्न हौसिएका छन् । वृक्षरोपणमा स्थानीयको उत्तिकै सहकार्य/समन्वय छ तर कार्यक्रम आयोजकले वृक्षरोपण गर्ने ठाउँको सही छनोट भने नगरेको सूर्यविनायक–२ बालकोटकी राजश्री पौडेलले बताइन् । ‘हरियाली अभियानले मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्ने जनचेतना दिएको छ,’ उनले भनिन्, ‘फुटपाथ फराकिलो पार्नुपर्ने समयमा मिचिनु दुर्भाग्य हो ।’


वृक्षरोपणको पहिलो चरणमा प्रदेशसभा सदस्य शशिजंग थापाको संयोजकत्वमा सूर्यविनायक–२ कौशलटारस्थित हनुमन्ते खोलादेखि बालकोट चोकसम्मको फुटपाथमा धुपीको बिरुवा रोपेको छ । सहकारी, विद्यालय, संघसंस्था, स्थानीय बासिन्दाको सहयोगमा दोस्रो चरणमा बालकोट चोकदेखि सिरुटार र तेस्रो चरणमा सिरुटारदेखि बिरुवासम्मको करिब ६ किलोमिटर सडकको फुटपाथमा वृक्षरोपण गर्ने तयारी भएको प्रदेशसभा सदस्य थापाले बताए । सडक किनारामा वृक्षारोपण गर्न करिब ९ लाख रुपैयाँ संकलन भईसकेको समेत उनले बताए ।


वृक्षरोपण कार्यक्रमको थालनी गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिस र प्रकृतिको सन्तुलन विकास, वातावरणको सन्तुलनले सुन्दरता मात्र होइन स्वस्थ, सुखी र समृद्धितिर लैजाने बताए । हनुमन्ते सफाइ अभियानको ७६ औं हप्ताको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा सफाइ अभियन्ता एवं प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सडक ढलजस्ता प्रारम्भिक मागबाट समाज टोल एक तहमाथि उठेको प्रमाणित भएको उल्लेख गर्दै सफाइ, कोरिडर र पार्क निर्माणका काम तदारुकतासाथ भइरहेको जानकारी दिए ।


विभिन्न संघसंस्थालगायतको सहकार्यमा सडक किनारामा रोपिएको बिरुवा संरक्षणमा तदारुकताका साथ लाग्ने सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतले बताइन् । सूर्यविनायक–२ का वडाध्यक्ष कमलनाथ आचार्यले भने फुटपाथमा रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्‍याउने बताएका छन् । ‘बिजुलीको पोल, यत्रतत्र छरिएका तारको व्यवस्थापनमा वडा र नगरपालिका लागि परेको छ,’ उनले भने, ‘चरणबद्व किसिमबाट नगरको विकास तथा व्यवस्थापन हुँदै गएको छ ।’

प्रकाशित : श्रावण २६, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?