गाईजात्रा रूटमा सवारी निषेध

कान्तिपुर संवाददाता

(भक्तपुर) — भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै छ ।

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसीसँगै गाईजात्रा सुरु हुने गर्दछ ।

बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।

नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले दुईपांग्रे, चारपांग्रे सवारीसाधन नभित्र्याउन अनुरोध गरेको भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले ठाउँठाउँमा पार्किङको व्यवस्था गरेको समेत उनले बताए ।

नगरपालिकाले मंगलबार जात्रा रूटमा सरसफाइ तथा जनचेतना र्‍यालीको समेत आयोजना गरेको छ । प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाईं, सृजना सैंजू, नगरप्रमुख सुनील प्रजापती, उपप्रमुख रजनी जोशी, महानगरीय प्रहरी भक्तपुर प्रमुख एसपी सविन प्रधान, १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालय, कलेजका विद्यार्थी, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतामा जात्रा रूटको व्यवस्थापन तथासरसफाइ गरेको हो ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

झोरमा बालमैत्री पार्क

सीमा तामाङ

काठमाडौँ — टोखा नगरपालिकाले झोरमा प्राकृतिक झरनालाई संरक्षण गर्दै बालमैत्री पार्क र शौचालय निर्माण कार्य सुरु गरेको छ । नगरपालिकाले बौडेश्वर महादेव मन्दिर परियोजनाअन्तर्गत पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण कार्य थालनी गरेको हो ।

करिब ३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा बन्ने बालमैत्री पार्कमा बालबालिकालाई लक्षित गरी पिङ, चिप्लेटीलगायत अन्य संरचना निर्माण गरिने जनाएको छ । ६० वर्ग किलोमिटर प्लिन्थ एरिया अर्थात् क्षेत्रफलमा एकतल्ले पुरुष तथा महिलाशौचालय निर्माण हुने छ ।

बालमैत्री नगरपालिका घोषणा गर्ने अवधारण राखिएकाले नगरपालिकाको वडा नम्बर १ झोरमा पहिलो प्राथमिकता बालमैत्री पार्कलाई दिइएको नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । । ‘१० वर्षे योजना अन्तर्गत विभिन्न पार्क निर्माण गरिने छ,’ उनले भनिन्, ‘पहिलो चरणमा बालमैत्री पार्क र शौचालय निर्माण गरे पनि चरणबद्व रूपमा झोलुगें पुल, युवा/युवती मैत्री पार्क, झरना बग्ने ढुंगालाई महादेवको स्वरूप दिइने छ ।’

उनका अनुसार टोखा नगरपालिकाअन्तर्गत रहेका पर्यटकीय स्थल अध्ययन गर्दा पुरानो पर्यटकीय क्षेत्र र प्राकृतिक झरना भएकाले झोरलाई प्राथमिकता दिएको हो । वडा १ को झोरमा रहेको झरनालाई संरक्षण गर्दै अन्य वडालाई पनि निरन्तरता दिने उनले बताइन् ।

हाल निःशुल्क आवतजावत गर्न सकिए पनि पार्क निर्माणको काम सकिएपछि टिकटको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । संघीय सरकारको विशेष अनुदान र काठमाडौं महानगरको नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाले पार्क तथा शौचालय निर्माणका लागि ३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । पहिलो चरणको निर्माणका लागि २ करोड ७७ लाख रुपैयाँ (करबाहेक) शृखंला निर्माण सेवा कम्पनीलाई ठेक्का दिइएको नगरपालिकाका इन्जिनियर रूद्र आचार्यले बताए ।

उक्त कम्पनीले बालमैत्री पार्क र शौचालय निर्माण गर्ने उनले बताए । ‘चालु आर्थिक वर्षमा पार्क र शौचालय निर्माण कार्य सक्ने गरी काम सुरु गरिसकेको छ,’ उनले भने । सम्पूर्ण परियोजनाअन्तर्गत झरनामा रहेको ढुंगालाई महादेवको मूर्ति बनाउने, युवायुवतीमैत्री पार्क, पिकनिक स्पोर्ट, चारैतिरका दृश्य हेर्नका लागि झोलुगें पुल, रक क्लाइम्बिङ निर्माण गरिने छ । जुन परियोजन सक्नका लागि ८ वर्ष लाग्ने छ ।

सम्पूर्ण परियोजनाका लागि करिब ३० करोड बजेट अनुमान गरिएको उनले बताए । हाल वर्षायाममा मात्र झरना आउने भएकाले बाह्रै महिना झरना झर्नका लागि थप अध्ययन गरिँदै छ ।

झोरमा बन्ने सम्पूर्ण संरचनाको डिजाइन भने पारागन इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडले बनाएको हो । झोरमा हाल अन्य संरचनाहरू नभए पनि प्राकृतिक झरनाले गर्दा वर्षायाममा पर्यटकको घुइँचो लाग्छ । साउन महिनामा व्रतालुहरूको, बाल चतुर्दशी र बैकुण्ठ चतुर्दशीमा बत्ती बाल्नेको भीडसँगै मेला लाग्ने गरेको बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारीले बताए । हाल उक्त ठाउँमा सवारीसाधनको पहुँच कम भए पनि आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वर्षायाममा झरना झरे पनि झरनाको माथि खानेपानीको मुहानभएकाले हिउँदमा नझर्ने उनको भनाइ छ ।

झोरस्थित श्रीकृष्ण बरूणेश्वर महादेवको मन्दिर एउटा गुफा मात्र नभई अहिले पर्यटकीय स्थल नै बनेको छ । अप्रभंश भएपछि हाल स्थानीयले यस मन्दिरलाई बौडेश्वर एवं वन महादेव भनेर चिनिन्छ । मन्दिरसँगै महादेवको गुफा, झरना र ठुल्ठूला ढुंगाले झोरको महिमा बढाएको छ ।

बौडेश्वर क्षेत्रलाई आदिम कालदेखि नै धार्मिक स्थलको रूपमा लिइँदै आएको छ । स्वस्थानी व्रत कथाको १२औँ अध्यायमा उल्लेख भएअनुसार सतीदेवीको मृत शरीरलाई महादेवले बोकी हिँड्दै गर्दा उनको बायाँ स्तन पतन भई भुवनेश्वरी देवी भुवनमायोगिनी श्रीकृष्ण बरुणेश्वर महादेवको उत्पत्ति भएको जनश्रुति छ । उक्त स्थलमा आई नरनारीहरूले तपस्या गर्न थालेको र उनीहरूले मागेको कुरा पूरा हुँदै गएको जनविश्वासरहेको प्रधानाध्यापक अधिकारीले बताए ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT