गुठी जग्गाको जिम्मा स्थानीय तहलाई दिन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — गुठी जग्गा र सम्पदा संरक्षणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने नगरप्रमुखहरूले माग गरेका छन् । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । 

उपत्यका क्षेत्रभित्रका स्थानीय तहमा रहेका सरकारी, सार्वजनिक, गुठी जग्गा हिनामिना वा अतिक्रमण र नेपाल सरकारबाट सार्वजनिक हितका लागि अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिता भएको सम्बन्धमा आयोजित अन्तरक्रियामा नगर प्रमुखहरूले गुठी जग्गा र सम्पदा संरक्षणको जिम्मा स्थानीयतहलाई दिनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनील प्रजापतीले गुठी जग्गा, घर तथा सम्पत्तिको संरक्षण र ससाना देवालय, शिवालय, मठमन्दिर संरक्षण, मर्मतलगायतका गुठी संस्थानसँग सम्बन्धित अधिकारको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा आयस्रोत पनि बढ्ने र सांस्कृतिक सम्पदाहरूको संरक्षण पनि हुने उनले उल्लेख गरे ।

नगरप्रमुख प्रजापतिले मठाधीश भनेका गुठी जग्गाको मालिक नभई संरक्षण गर्न राखेका कर्मचारीसरह व्यक्ति मात्र भएका बताए । सरकारले गुठी विधेयक फिर्ता लिएका कारण गुठी जग्गा कमाउने हजारौं किसान मोहियानी हकबाट वञ्चित भएको बताउँदै उनले संस्कृति जोगाउने नाममा सम्पदा जोगाइराख्ने किसानको हक खोसिएको समेत बताए । उनले गुठी संस्थानका व्यक्तिहरू नै गुठी जग्गा बेचबिखनजस्ता कुत्सितकार्यमा संलग्न भइरहेको बताए ।

कार्यक्रममा काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा पर्ति र सरकारी जग्गाहरू अतिक्रमण धेरै भइरहेको स्वीकार्दै सार्वजनिक जग्गा जनिएका जग्गाहरूको व्यवस्थित अभिलेखीकरणआवश्यक भएको बताए ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले गुठी तथा सरकारी जग्गाको संरक्षण गर्न आफ्नो नगरपालिकाले छुट्टै आयोग गठन गरी सार्वजनिक जग्गा संरक्षण कार्य गरिरहेको र सामुदायिक भवन व्यवस्थापनमा कठिनाइ भइरहेको बताइन् । कार्यक्रममा विभिन्न महानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणको पक्षमा आआफ्नो रायसुझाव व्यक्त गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाईजात्रा रूटमा सवारी निषेध

कान्तिपुर संवाददाता

(भक्तपुर) — भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै छ ।

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसीसँगै गाईजात्रा सुरु हुने गर्दछ ।

बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।

नगरको मुख्यमुख्य स्थानमा जात्रा रूट पर्ने भएकाले दुईपांग्रे, चारपांग्रे सवारीसाधन नभित्र्याउन अनुरोध गरेको भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले ठाउँठाउँमा पार्किङको व्यवस्था गरेको समेत उनले बताए ।

नगरपालिकाले मंगलबार जात्रा रूटमा सरसफाइ तथा जनचेतना र्‍यालीको समेत आयोजना गरेको छ । प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाईं, सृजना सैंजू, नगरप्रमुख सुनील प्रजापती, उपप्रमुख रजनी जोशी, महानगरीय प्रहरी भक्तपुर प्रमुख एसपी सविन प्रधान, १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालय, कलेजका विद्यार्थी, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतामा जात्रा रूटको व्यवस्थापन तथासरसफाइ गरेको हो ।

प्रकाशित : श्रावण २९, २०७६ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT