कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती

लीला श्रेष्ठ

(भक्तपुर) — तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०६१ सालमा मनोहरा नदी किनारमा कृषि बजार उद्घाटन गरेका थिए । त्यसको भोलिपल्टै त्यहाँको जग्गामा सुकुम्बासी आएर बसे । अहिले पनि सुकुम्बासीकै बस्ती छ, प्रस्तावित कृषि बजारको अत्तोपत्तो छैन । 

सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती

काठमाडौं र मध्यपुर थिमि नगरपालिकाको संगमस्थल मनोहरा नदी किनारमा ७ सय २० परिवार सुकुम्बासी बसोबास गरिरहेका छन् । सुकुम्बासीले साढे २ सय रोपनी जग्गा अतिक्रमण गरेको मनोहरा जग्गा एकीकरण आयोजनाका इन्जिनियर मनोजकुमार भेटवालले बताए । ‘२०२१ सालमा नापी भएको मनोहरा नदीको बहाव क्षेत्रमा सुकुम्बासी बस्ती छ,’ उनले भने, ‘मनोहरा नदी

व्यक्तिको जग्गामा बगिरहेको छ ।’


काठमाडौं महानगर र मध्यपुर थिमि नगरको समन्वयमा २०५९ देखि जग्गा एकीकरण आयोजना सञ्चालित छ । भेटवालका अनुसार मनोहरा नदी क्षेत्रको विवादबाहेक आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । मनोहरा जग्गा एकीकरण आयोजनाभित्र पर्ने मनोहरा नदी किनारमा १५ वर्षदेखि बसोबास गरिरहेका सुकुम्बासी हटाउने विषयमा स्थानीय प्रशासन मौन छ ।


आयोजनाले भने २०२१ सालको नापीअनुसार नदीको बहाव परिवर्तन गर्दा सुकुम्बासी स्वतः हट्ने जनाएको छ । ०२१ को नापीअनुसार मनोहरा नदी भएकै ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ । फिल्डमा भने बहाव परिवर्तन गरेका कारण नदी अरूकै जग्गामा छ । ‘नदीको जग्गा व्यक्तिले आफ्नो नाममा बनाइसकेछन्,’ उनले भने ।


२०३० तिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा व्यक्तिले निजीकरण गरेको पत्ता लागेको आयोजनाले जनाएको छ । २०३७ असोज २६ मा उक्त जग्गा व्यक्तिका नाममा पास भएको मालपोतको अभिलेखमा छ । साविक दिव्यश्वरी ७ (ख) कित्ता नम्बर २४५ को करिब ५० रोपनी मनोहरा नदी हो । कित्ताकाँट हुँदै जाँदा २५७ र पछि २५८ कायम भएको छ ।


त्यसपछि विभिन्न समयमा कित्ताकाँट हुँदै २५८ बाट २६३, २६४ र २६५ कायम भएको छ । त्यस्तै, २६३ कित्ता बदर भई २६६, २६७ कायम भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार हाल ती कित्ता श्यामजंग सिजापती, राजेन्द्रकुमार सिजापती, सवर्णकुमार सिजापती र प्रेमजंग सिजापतीको नाममा छन् । २६६ कित्ता डण्डपाणि उपाध्यायको नाममा दर्ता छ । विभिन्न समयमा बेचबिखन हुँदै जाँदा २८३ नम्बर कित्ता तेज नसिं द्वारेलगायत २ जना र २८४ नम्बर कित्ता पुरुषोत्तम पौडेलका नाममा रहेको उल्लेख छ । २६७ नम्बर कित्तालगायतको १३ रोपनी जग्गा दर्ता बदर भएको जनाएको छ । मध्यपुर थिमिकै सानोठिमी महेन्द्र शान्ति माविको पछाडिको ९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणमा परेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।


त्यसैगरी, मध्यपुर थिमि १ का वडाध्यक्ष सुरज खडकाका अनुसार मनोहरा नदी किनाराको करिब डेढ रोपनी जग्गा लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले अतिक्रमण गरेका छन् । ‘सार्वजनिक सुक्दै निजी जग्गा फुक्दै गएको छ,’ उनले भने, ‘अरुण चन्दको घरको पर्खाल खोलासम्म छ ।’


सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाको समन्वयमा सिमांकन तथा सिडहरू संकलन गर्ने कार्य गरिरहेको उनले बताए । मध्यपुर थिमि १ लोकन्थलीस्थित स्वास्थ्य चौकीवरिपरिको करिब २ रोपनी पर्ति जग्गा अतिक्रमण भएको वडाध्यक्ष खडकाले बताए । स्वास्थ्य चौकीको पूर्व र उत्तरतर्फको पर्ति जग्गा सडकले ओगटेको र पश्चिमतर्फ व्यक्तिले अतिक्रमण गरेको जग्गाको नक्सा रोक्का राखेको उनी बताउँछन् । मध्यपुर थिमि ३ सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी जग्गा समेत व्यक्तिको नाममा पास गरिएको तथ्य पत्ता लागेको नगरपालिकाले जनाएको छ ।


हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा पूर्वभूमिसुधार मन्त्री जगन्नाथ उपाध्यायको पालामा आफ्नी कान्छी पत्नी विमली उपाध्यायको नाममा दर्ता गरेको पाइएको हो । मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको संगम स्थल नीलबाराहीस्थित १९ रोपनी १० आना पर्ति जग्गा २०४२/४३ सालमा कान्छा सुवालको नाममा दर्ता भएको पाइएको छ ।


सार्वजनिक जग्गा संरक्षणमा नगरपालिका वर्षौंदेखि विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको मध्यपुर थिमि बोडेको ऐतिहासिक पलेस्वाँ पुखु (कमलपोखरी) लाई जिल्ला अदालत भक्तपुरले सार्वजनिक पोखरीको रूपमा कायम गर्ने फैसला गरेपछि नगरपालिकाले संरक्षण थालेको छ । अदालतले २०३५, ०३७ र ०५५ मा विभिन्न व्यक्तिको नाममा पहिले भएका अदालती आदेशलाई समेत बदर गरेको छ । २०२१ को नापीमा समेत सार्वजनिक पुखुकै रूपमा रहेको प्रमाणित रहेको अदालतले जनाएको छ ।


धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको पलेस्वाँ पुखुको १५ रोपनी ९ आना जग्गा जोगाउन माग गर्दै स्थानीयले वर्षौंदेखि दबाब दिँदै आएको थियो । मध्यपुर थिमिले हाल साविक गर्दा व्यक्तिले जग्गा घुसाएको पाइएमा नछोड्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।


मध्यपुर थिमि ६ बसिडोंस्थित २१ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी भूमाफियाले माटो बेच्न लागेको पाइएकाले सिमांकन गरी रोकेको छ । मध्यपुर थिमि ९ सानो वनस्थित करिब १५ रोपनी पर्ति जग्गा, ३ वडा सुन्दर बस्तीमा ब्लक कारखानाले अतिक्रमण गरेको ६ रोपनी ८ आना, ५ वडा स्थित हात्तीमहांकालस्थित ढुंगेधारासहित अतिक्रमण परेको करिब २० रोपनी जग्गाको संरक्षण थालेको नगरप्रमुख श्रेष्ठले बताए ।


प्रकाशित : श्रावण २९, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?