आजबाट गाईजात्रा

कान्तिपुर संवाददाता

भक्तपुर — आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ । श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्ताङघिसिसँगै गाईजात्रा सुरु हुने गर्दछ ।

आजबाट गाईजात्रा

बहत्वाबाट निस्किएको घेन्ताङघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ ।

जनैपूर्णिमामा निकालिएको घिन्ताङघिसीले वर्ष दिनभित्र दिवंगत (मृत्यु) भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्न सूचना प्रदान गरेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् । विभिन्न ठाउँमा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यंग्यात्मक हुने गर्दछ ।

भक्तपुरमा ‘घेन्ताङघिसी, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घ्यान्ताङघिसी नाचको बढी चर्चा हुने गर्दछ । घेन्ताङघिसी दुई समूह वा दुईजनाबीच लठ्ठी जुधाएर नाच्ने गरिन्छ । वर्ष दिनभित्र दिवगंत आफन्तको आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जाउन भन्ने उद्देश्य राखिएको हुन्छ ।

प्रत्येक वर्ष श्रावण शुक्लपूर्णिमाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म भक्तपुरमा भव्य रूपमा गाईजात्रा मनाइन्छ । हिन्दुधर्म ग्रन्थमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यता रहेको संस्कृतिकर्मी धौभडेलले बताए ।

पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आआफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

गाईजात्रा पर्व विक्रमको १४ औं शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर सुरु भएको संस्कृतिकर्मी धौभडेल बताउँछन् । विशेषगरी नेवार समुदायमा मात्रै मनाइने गाईजात्रा पर्वमा वर्ष दिनभरि मृत्यु भएकाहरूको परिवारबाट ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिन्छ ।

श्रावण शुक्ल प्रतिपदाका दिन वर्ष दिनभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने र उमेर पुगेका ठूला व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा रहेको छ । जात्रा अवधिको बाँकी आठ दिन विभिन्न देवीदेवता दत्तात्रय, भैरवनाथ, बाराही, छुमा गणेशलगायत मन्दिरमा जात्रा गर्ने परम्परा छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?