१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तेस्रोलिंगीको महान् पर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रोलिंगीले दिवंगत आफन्तको सम्झनासँगै महान् पर्वका रूपमा  गाईजात्रा मनाएका छन् । काठमाडौंको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनबाट सुरु गरिएको र्‍याली असन, इन्द्रचोक हनुमान ढोका, वसन्तपुर र न्युरोड हुँदै टुँडिखेलमा पुगेको थियो । 

र्‍यालीमा सातै रंगका छाता, झन्डाहरू प्रयोग गरिएका थिए । समलिंगी र तेस्रोलिंगीको छाता संस्था नीलहीरा समाजको अगुवाइमा विभिन्न क्षेत्रका व्यक्ति, चर्चित कलाकार तथा अन्य सरोकारवालाको पनि सहभागिता थियो । जनकपुर, सर्लाहीलगायत जिल्लाका तेस्रोलिगींसँगै जर्मन, अमेरिका, थाइल्यान्ड र यूकेबाट आएकाहरू पनि र्‍याली र कन्सर्टमा सहभागी भएको कृति मगरले बताइन् । ‘टुँडिखेलमा यस्तो बृहत् कन्सर्ट पहिलो ठूलो भेला हो,’ उनले भनिन्, ‘अरूको दसैंजस्तै हाम्रा लागि गाईजात्रा ठूलो पर्व हो ।’


समुदाय छैन भनेर सधैं आक्षेप लगाउने गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक महाशाखामा कार्यरत सिम्रन शेरचनले बताइन् । त्यसैले हामी पनि यही समुदायको मान्छे हौँ भनेर चिनाउन गाईजात्रा मनाउने गरेको उनको भनाइ छ । अहिले पनि वर्षभरि आत्मा र बाहृय लाञ्छाना बोकेर घरभित्रै दबेर बस्नुपर्ने अवस्था छ । त्यसैले तेस्रोलिंगी पनि रमाउन पाउनुपर्छ भनी पहिलो पटक नेपालमा रेन्बो कन्सर्ट आयोजना भएको उनले सुनाइन् । पहिलेभन्दा समाजमा हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन् ।


परापूर्वकालमा तेस्रोलिंगीलाई समाजमा नकारात्मक दृष्टिकोणबाट हेरिन्थ्यो । त्यसैले गाईजात्राकै दिन उनीहरू समूह बनाएर बाहिर निस्केको मानिन्छ । त्यसैले प्रचलनअनुसार अहिले पनि गाईजात्रालाई महोत्सवका साथ मनाउँदै आएको शेरचनले बताइन् । जात्रासँगै आयोजित कन्सर्टमा राष्ट्रिय कलाकारसँगै तेस्रोलिंगीले पनि आ–आफ्नो प्रस्तुति देखाएका थिए ।


नयाँ संविधानमा तेस्रोलिंगीको पनि अधिकार समेटिएको छ । कार्यान्वयन पक्ष भने फितलो रहेको आरोप लैंगिक अल्पसंख्यकको छ । धारा १२ मा लैंगिक पहिचानसहित नागरिकता प्राप्त गर्न सकिने, धारा १८ मा धर्म, वर्ण, लिंग, जाति, अपांगता, भाषा वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगरिने उल्लेख छ ।


साथै, यौन अल्पसंख्यक समुदायसहितका अन्य सिमान्तकृत समुदायको संरक्षण, सशक्तीकरण वा विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख छ ।


त्यस्तै धारा ४२ मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसमेत समेटेर समावेशी सिद्धान्तका आधारमा राज्यको

सम्पूर्ण निकायमा सहभागिताको हक हुने व्यवस्था छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?