१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दिवंगतको सम्झनामा ताहामचा

कान्तिपुर संवाददाता

भक्तपुर — पन्ध्र हात लामो बाँस । बाँसमा हातले बुनेको कपडाले बाँधिएको छ । दिवंगत आफन्तको फोटो, देवीदेवताको तस्बिर, कमलको फूल, चमर सजाइएको छ । गाईको आकृति त्यहीँ अड्याइएको छ ।

दिवंगत आफन्त महिला भए हाकुपटासी र पुरुष भएमा सेतो कपडाले शृंगार गरी छाता ओडेको पूर्ण आकृति ताहामचा हो । सोही ताहामचालाई भक्तपुरबासीले वर्ष दिनभरि दिवंगत भएका आफन्तको सम्झनामा नगर परिक्रमा गराउने परम्परा छ ।


उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यंग्यात्मक हुने र ‘घिन्तात्वाङ, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’, भनेर नाचिने आकर्षक घ्यान्ताङघिसि नाचको बढी चर्चा हुने गरेको छ ।


गाईजात्रा प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने मान्यता छ । जनैपूर्णिमाका दिन साँझ नै भक्तपुर तलेजुस्थानबाट ताहामचा बनाई देश परिक्रमा गरेपछि जात्रा सुरु हुने परम्परा छ । पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई दिवंगत आफन्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।


१४ औं शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिरबाट गाईजात्रा सुरु भएको अनुमान गरिन्छ । गाईजात्रा उमेर नपुग्दै मृत्यु भएका बालबालिकाको साँचा बनाई परिक्रमा गर्ने र उमेर पुगेकाका व्यक्तिको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ ।


कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रूपमा शृंगारेर ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको बूढापाका बताउँछन् । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमारकुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।


नगरको विभिन्न टोलबाट निकालिएको गाईजात्रा भक्तपुर दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमा परिक्रमा गर्ने प्रचलन छ । जात्रामा विभिन्न कार्टुन तथा व्यंग्य चित्र बोकेर व्यंग्य गरी हर्सोल्लासका साथ परिक्रममा गर्ने परम्परा छ ।


गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी धौभडेलले बताए । यस दिन पाप गरे मृत्युपश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा कसैले पापकर्म गर्न नहुने भनाइसमेत रहेको उनले बताए ।


दिवंगत भएका आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । जात्रा समापनको क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ ।


तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि पर्वको पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।


आठ दिनसम्म लगातार भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाच देवीदेवताका नाचसमेत टोलटोलमा प्रदर्शन गरिन्छन् ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?