कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाइयो ढाङकुमो

कान्तिपुर संवाददाता

ललितपुर — किरात वाम्बुले राईहरूले महान् चाड ढाङकुमो राजधानीमा धुमधामसाथ मनाएका छन् । जनैपूर्णिमा तिथिमा पर्ने उक्त चाड बर्खे बालीलाई पितृ र प्रकृतिको पूजासहित मनाउने परम्परा छ ।

वाम्बुले राई समाज, नेपाल संस्थाको आयोजनामा विगत १९ वर्षदेखि राजधानीमा समेत मनाउँदै आएको संस्थाका महासचिव जीवन हाताचोले बताए ।


‘यो ढाङकुमो सांस्कृतिक कानुनमा आधारित महान् चाड हो,’ महासचिव हाताचो भन्छन्, ‘ढाङुमो लिब्जु पुर्खाको विशेष पूजासहित प्रकृति र पितृ मनाउने गरिन्छ । सामाजिक परम्पराको पालना नगर्ने व्यक्ति र परिवारलाई समाजले बहिस्करण पनि गर्ने गर्थ्यो । अहिले पनि कायमै छ ।’


चारजना कुलपुजारी (नाक्सो) को भूमिका महत्त्वपूर्ण हुने उनले जनाए । जसलाई सिसी नाक्सो, ढाङकुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो भनेर चिनिन्छ । नाक्सो भेट्न जानका निम्ति हरेक टोलका घरघरबाट छुट्टाछुटै रीत लिएर जाने चलन छ । थुन्सेमा एकएक घैला रक्सी, ब्वाम्ला लिएर भेट्छन् ।


‘ढाङुमोको अर्थ प्रकृति भन्ने हुन्छ, जुन वर्षाऋतुको अन्ततिर पर्दछ,’ प्रकृति र पितृलाई आभार व्यक्त गर्ने परम्पराबारे कोशकार अविनाथ राई भन्छन्, ‘मकै, कागुनोजस्ता बर्खे अन्नबाली पाकेपछि प्रकृति र पितृको पूजा आरम्भ गर्ने महत्त्वपूर्ण चाड हो । संयोगले जनैपूर्णिमा तिथिमा परेको मात्र हो । मौलिक संस्कार संस्कृति हुनु महत्त्वपूर्ण हुन्छ ।


जति महत्त्वपूर्ण हुन्छ, त्यत्तिकै त्यसको संरक्षण, विकास र सम्वर्द्धन गर्दै सकुशल रूपमा पुस्तान्तरण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’ अन्नबालीलाई मूलदेवता लिब्जु, भुम्जु र दिभुज, देवीदेवता, सिकारीबेखारीलाई चढाउने परम्परा छ ।

उँबुगाउँको शिरमा रहेको अग्लो पहाड लिब्जु र दिभुजु र त्यसैको ठीक दूधकोसी पारि खोटाङतर्फको भुम्जु पहाडलाई इष्टदेवताको रूपमा पूजा गर्ने गरिन्छ । किम्वदन्तीअनुसार उहिले लिब्जु देवतालाई माले गोरु बलि दिइन्थ्यो । उक्त बलिको प्रसादलाई चारचौरासका सबैलाई बाँडेर ग्रहण गरिन्थ्यो । अहिले राँगाको बलि दिने चलन रहेको छ ।


कुलपितृ पुर्खाहरूलाई सामूहिक थलोमा बोलाएर उनीहरूको भाग दिने, चित्त बुझाइदिने गर्दछ । नदीनाला, वनजंगल, सिकारीबेकारी सबैलाई बोलाउने गर्दछ । उनले उनीहरूको चित्त बुझाइदिने, सुख, शान्ति, समृद्धिका निम्ति काम गर्ने गर्दछ । ढाङकुम दुई दिनसम्म चल्ने चाड र मेला हो ।


सामूहिक पूजासँगै महिला र पुरुषले ‘चाम्दो’ परम्परागत लोकभाका गाउने र नाच प्रदर्शन गर्ने गर्दछन् । ‘प्रकृतिलाई धन्यवाद र पितृको पूजाआजा गर्ने अनि आनन्दपूर्वक छोरीचेली, माइतीचेली, बूढापाका महिला र पुरुष गाउने र नाच्ने गर्दछन् । चाम्दो नाच तथा गान दसैं पूर्णिमासम्म चल्छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?