थुनुवा घर कमजोर
काठमाडौँ — महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनुवा घरबाट गत शनिबार लागूऔषध मुद्दामा थुना परेका अनिल थापा, चोरी मुद्दाका सुब्बा लामा र मदन थापा झ्यालको डन्डी काटेर भागे ।
असार अन्तिम साता ललितपुरको भैंसेपाटीस्थित थुनुवा कक्षको ग्रिल काटेर तीन थुनुवा फरार भए । डाँका र लागूऔषध मुद्दामा थुनामा परेका शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना भागेका हुन् । दुवै ठाउँबाट भागेकालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यी घटनाले काठमाडौंका प्रहरी थुनुवा घरहरूको कमजोर सुरक्षालाई उदांगो पारिदिएका छन् । कमजोर पूर्वाधार, परम्परागत सुरक्षा प्रणाली र क्षमताभन्दा बढी व्यक्ति कोचेर राखिनु सबैजसो थुनुवा घरका समस्या हुन् । जेठ ८ मा जबर्जस्ती करणी मुद्दामा महाराजगन्ज वृत्तमा रहेका पदम श्रेष्ठ प्रहरीलाई छक्याएर फरार भएका थिए ।
स्वास्थ्य जाँचका लागि वीर अस्पताल लगिएका बेला उनी उम्किएका थिए । भैंसेपाटी र सिंहदरबारका घटनामा थुनुवाले झ्यालको डन्डी ह्याक्सोले काटेको देखिन्छ । भैंसेपाटीको थुनुवा घरभित्र प्रहरीको सुरक्षा जाँच छलेर ह्याक्सो पुर्याइएको थियो भने सिंहदरबार वृत्तमा पनि यस्तै शैली देखिएको थियो ।
आफैं पक्राउ गरेकाका अलावा वन कार्यालय, अख्तियार र वैदेशिक रोजगार विभागले अनुसन्धान लागि नियन्त्रणमा लिएका थुनुवालाई पनि प्रहरीले राख्ने गर्छ । आफैंले पक्राउ गरेकालाई राख्ने ठाउँ नभएका बेला अन्य सरकारी निकायले अनुसन्धान लागि नियन्त्रणमा लिएकालाई समेत राख्नुपर्दा क्षमताभन्दा बढी कोच्नुपरेको प्रहरीले बताउँदै आएको छ । प्रहरी परिसर काठमाडौंमा औसत सयभन्दा धेरै थुनुवा रहन्छन् ।
जबकि परिसरको थुनुवा कक्षको क्षमता ६० जनाजति मात्रै हो । परिसरका डीएसपी होबिन्द्र बोगटी क्षमताभन्दा धेरै थुनुवा राख्नुपर्दा पानी र शौचालयजस्ता न्यूनतम सुविधा उपलब्ध गराउन कठिन परेको बताउँछन् । काठमाडौंमै रहेका प्रहरीको मानव बेचबिखन ब्युरो र लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका व्यक्तिलाई पनि परिसरअन्तर्गतकै वृत्तमा राख्ने गरिएको छ ।
यो साता मात्रै लागूऔषध नियन्त्रण ब्युरोबाट पठाइएका १२, मानव बेचबिखन ब्युरोबाट पठाइएका ४, वैदेशिक रोजगार विभागले पठाएका ८, वन कार्यालयले पठाएका १५, अख्तियारले पठाएका ४७ र जिल्ला अदालत काठमाडौंले पठाएका एक जना थुनुवा प्रहरीका विभिन्न वृत्तमा राखिएका छन् ।
डीएसपी बोगटीले क्षमताभन्दा धेरै थुनुवा राख्नुपरेको बताए । उनले भने, ‘केही थुनुवा घरको संरचना साह्रै जीर्ण छ, केही सहरको बीचमा छन् ।’ कमजोर भौतिक संरचना र कोचिएर बस्नुपरेका कारण बेला–बेला थुनुवा भाग्ने गरेको उनले बताए ।
प्रकाशित : भाद्र १, २०७६ ०८:३४