कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विहार पुनर्निर्माण गर्न एक करोड

काठमाडौँ — काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माण गर्न एक करोड रुपैया अनुदान दिएको छ । विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । विभिन्न दाताहरूको सहयोगमा एक वर्षअघिदेखि विहारको पुनर्निर्माण हुँदै आइरहेको थियो ।

शनिबार राजधानीमा आयोजित एक समारोहबीच महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विहार पुनर्निर्माण समिति अध्यक्ष भिक्षु कौण्डन्य महास्थवीर र कोषाध्यक्ष सुरेश महर्जनलाई चेक हस्तान्तरण गरेको हो ।


काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आगः छेँलगायत सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । ‘जनतको साथ, सहयोगबिना मेयर एक्लैले चाहेअनुरूप काम गर्न सक्दैन,’ उनले भने ।


नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा यथोचित बजेट विनियोजित गरेको जानकारी शाक्यले दिए । समितिका अध्यक्ष भिक्षु महास्थवीरले यसबाट बुद्धधर्मको विकास र विस्तार, ध्यान र ज्ञानबाट सर्वसाधारण लाभान्वित गर्ने कार्यमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।


समितिका सहसचिव सुनील महर्जनले कर्मचारी संयन्त्रको सुस्त गति, प्रक्रियामुखी प्रवृत्ति र संघ र प्रदेशको कानुनको अभावका बाबजुद पनि सरोकारवालाको संवेदनशीलतालाई बुझेर महानगरपालिकाले उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा केही उदाहरणीय काम गरेको धारणा राखे ।


विहार ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको छ । विहार नेपाली मौलिकसहित र कलात्मक शैली बनाइने समितिले जनाएको छ । पुनर्निर्माण गर्न करिब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नयाँ भवन बनेपछि करिब ३ सय जना सामूहिक रूपमा बसेर ध्यान, प्रार्थना गर्न मिल्ने, विभिन्न जिल्ला र देशबाहिरबाट आउने आगन्तुक भिक्षुहरूलाई बस्न सहज हुने, भिक्षुहरूलाई तालिम, अभिमुखीकरण गर्न सकिने छ ।

प्रकाशित : भाद्र १, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?