आकाशेपानी संकलन प्रणाली जडान

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले ‘रिजार्च काठमाडौं’ अभियानलाई आफ्नै घरबाट सुरु गरेका छन् । शनिबार श्रेष्ठले आफ्नो घरमा आकाशेपानी संकलन प्रणाली जडान गरेका हुन् ।

‘भूकम्पपछि पानीको धेरै समस्या थियो,’ उनले भने, ‘अब आकाशेपानीको संकलन गरिसकेपछि त्यो समस्या केही हदसम्म अन्त्य हुन्छ ।’ घर बनाउँदा नै आकाशेपानी सकंलन गर्ने किसिमले बनाएकाले यो प्रणाली जडान गर्दा धेरै लागत नलाग्ने उनको भनाइ छ । तर बनाइसकेको घरमा अब आकाशेपानी संकलनका लागि ठाउँ बनाउने हो भने अनुमानित लागतभन्दा बढी लाग्ने उनले बताए ।


आकाशेपानी संकलन प्रणाली जडान गर्दा जस्ता तथा प्लास्टिकको डुडँ (गटर), पाइप र स्काई वाटर फिल्टरको आवश्यकता पर्दछ । आकाशेपानी संकलन गरेर प्रयोग गर्दा घरायसी प्रयोजनाका लागि किन्ने पानीको पैसा पनि बचत हुने गर्दछ ।


आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण योजनालाई जोड दिँदै महानगरले ‘रिजार्च काठमाडौं’ अभियान सुरु गरेको थियो । सोहीअनुरूप विभागका प्र्रमुख हरिकुमार श्रेष्ठले आफ्नो घरबाट प्रारम्भ गरेको छ । आकाशबाट पानी परेका बेला पहिले पानी बग्न दिएर बाँकी पानी संकलन गर्ने हो । पानीको उपयोग केमा गर्ने हो ? त्यो आवश्यकताका आधारमा शुद्धीकरण गर्ने प्रविधि जडान गर्ने हो भने जुनसुकै काममा पनि प्रयोगमा ल्याउन सकिन्छ ।


भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशेपानी संकलन गर्ने र जमिनमुनि पठाउने ‘रिचार्ज काठमाडौं’ को प्रमुख लक्ष्य हो । विभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन् ।


यी मापनले सतहभन्दा पानी भेटिने गहिराइ बढदै गएको देखाएको छ । गएका वर्षहरूमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का ट्युबेलहरूमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि संकटको अवस्था देखिएको गुठी संस्थाका प्राविधिक सल्लाहाकार प्रकाश अमात्याले बताए ।


त्यस्तै ढुंगेधारा र इनारमा पानी नआउनुले पनि यस विषयलाई पुष्टि गर्छ । खानेपानीको संकट भइरहे पनि पानी परेका बेला उपत्यकाका धेरै ठाउँहरू डुबानमा पर्ने गरेका छन् । यो क्रममा वर्षैपिच्छे वृद्धि हुँदै गएको छ । यसका धेरै कारणमध्ये एउटा पानी झरेको ठाउँबाट जमिनमुनि जान नसक्नु पनि हो ।


आकाशेपानी जम्मा गरेर अरू प्रयोजनमा ल्याउँदा शुद्धीकरणको कुरा आउँछ । तर यो पानी घरायसी प्रयोगमा पनि ल्याउन सकिन्छ । तर अभियानको सुरुवातमा पानी बटुलेर जमिनमुनि पठाउने मात्र तयारी गरेको महानगरले जनाएको छ । पहिले पहिले घर कम थिए, वर्षातो पानी आफैं पनि जमिनमुनि जान्थ्यो अहिले उपत्यकाको धेरै जमिन घरले ढाकिसकेको अवस्था छ । त्यसैले योजना बनाएरै पानी जमिनमुनि नपठाए संकट आइलाग्ने विज्ञहरूको भनाइ छ ।


पानीको समस्या काठमाडौं र नेपालमा मात्र होइन । यो विश्वव्यापी समस्या हो । त्यसैले महानगरले अघि सारेको ‘रिचार्ज काठमाडौं’ योजना राम्रो सावित हुने अनुमान विज्ञहरूको छ । महानगरको करिब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढाकेको छ । यस कारण पनि आकाशबाट परेको पानीलाई संकलन गरेर सहरी व्यवस्थापन एवं प्राकृतिक सन्तुलनमा काम गर्नुपर्ने देखिन्छ ।

प्रकाशित : भाद्र १, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?