२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

झापा १ मा ‘उदाहरणीय’ प्रतिस्पर्धा

शर्मा र कार्कीले दिए एकअर्कालाई शुभकामना
गंगा बीसी/पर्वत पोर्तेल

काँकडभिट्टा — झापा क्षेत्र नम्बर एकका कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र वाम गठबन्धनका उम्मेदवार राम कार्की (सुरेन्द्र कार्की) भेट हुन साथ एक अर्कालाई अंगालो हाले । हात मिलाए र शुभकामना दिए ।

झापा १ मा ‘उदाहरणीय’ प्रतिस्पर्धा

दुई निकट प्रतिस्पर्धीबीच यस्तो सौहार्दता हुनु धेरैका लागि अनौठो हुन सक्छ । किनकी अन्य क्षेत्रका उम्मेदवारहरु खुला रुपमा गालीगलौजमा उत्रिएका बेला शर्मा र कार्की भने एउटै मंचमा एकले अर्कोलाई सम्मान र आदर गर्दै आफ्ना कुरा राख्छन् । प्रतिस्पर्धाबीच असल राजनीतिक संस्कार बसाल्न उनीहरुले प्रयास थालेका छन् ।

यतिसम्म कि जसले जिते पनि झापा १ को विकासका लागि राम्रै हुने बताउँछन् । कान्तिपुरले मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा दुबै नेताले एउटै स्वरमा भने, ‘जसले जिते पनि हामी असल राजनीतिक संस्कार बसाल्न चाहन्छौ । अरु क्षेत्रबाट हेर्दा अभिनय गरेजस्तो देखिन सक्छ ।’

एउटै मंचमा बसेर दुबैले आआफ्नो चुनावी मुद्दा स्पष्टसँग राखे । उनीहरुले राष्ट्रका लागि दुबै नेताको आवश्यकता भएको बताए । वामगठबन्धनका उम्मेद्वार कार्कीले कांग्रेसका भविष्य भएका नेताको रुपमा शर्मालाई अघि सारे । ‘कांग्रेसमा उदयीमान नेताको रुपमा विश्वको नाम आउँछ’ कार्कीले भने ।

शर्माले लामो समय कम्युनिस्ट आन्दोलनमा संघर्ष गरेको पूर्वको अनुभवी नेताको रुपमा कार्कीलाई चिनेको बताए । ‘राम दाइ मभन्दा अनुभवी नेता हुनुहुन्छ, उहाँ संघर्षशील नेता हो । म आदर गर्छु ।’ केही समय उनीहरुले एकअर्काको प्रशंसामा खर्च गरे ।

यी दुई उम्मेदवारले एक अर्कालाई सम्मान मात्र गरेनन्, कटाक्ष पनि गरे । जुन कटाक्ष वौद्धिक रंग मिसिएको थियो । ‘झापा १ म जन्मिएको ठाउँ हो, मातापितालाई दागबत्ति दिएको ठाउँ हो । पढेको र बढेको ठाउँ हो । म मरेपछि जलाउने नदी पनि यही छ । त्यसैले मलाई जिताउने हात मतदाताको छ’ कांग्रेस उम्मेदवार शर्माले भने ।

माओवादी नेता एबं गठबन्धनका उम्मेदवार कार्कीले त्यसको प्रतिवाद गरे । ‘जन्म हातमा हुँदैन, कर्म हातमा हुन्छ । मेरो यो क्षेत्रसँग भावनात्मक सम्बन्ध छ । मैले यो क्षेत्रमा पार्टी इञ्चार्जको रुपाम धेरै समय बिताएको छु । मेचीमा म मात्र माओवादीबाट प्रतिनिधिसभामा उम्मेदवार भएको छु । मलाई जिताउने मतदातामा नैतिक दवाव छ’ उनले तर्क गरे ।

राजनीतिमा हारजित हुनु स्वभाविक भएको भन्दै दुबै नेताले जसले जिते पनि माला लगाइदिने जनाए । ‘राम दाइले जिते म आफ्नौ हातले उनेको माला लगाइदिने छु’ शर्माले यो भनिरहदा माओवादी उम्मेदवार कार्कीले मुस्काउँदै भने, ‘मबाट पनि त्यस्तै हुनेछ ।’

उसो भए तपाई एकले अर्कोलाई भोट हाल्छु हुन्छ त ? भन्ने प्रश्नमा दुबैको भनाइ थियो, ‘भावनात्मक रुपमा हामी एकअर्कालाई सम्मान गर्छौ ।’

वौद्धिक नेताका रुपमा चिनिएका शर्मा र कार्की एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुनु संयोग हो । उम्मेदवार टुंगो लाग्नु अघि दुबै उम्मेदवार फरकफरक क्षेत्रबाट उठ्ने चर्चा चलेको थियो ।

दुबै नेताले राजनीतिक र वैचारिक संघर्ष भएकाले चुनावी मैदानमा उत्रनु स्वभाविक भएको बताए । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने मान्यताका साथ दुबै नेता एउटै मंचमा रहेर बहस गर्छन् । आफ्ना कुरा राख्छन् ।

‘झापा १ वामपन्थी ब्याड हो, यहाँबाट धेरै कम्युनिस्ट जन्मिएका छन्’ कार्कीको तर्क छ, ‘यसकारण पनि मलाई सजिलो छ ।’ उनलाई यो क्षेत्रमा समर्थन गरेको छ ।

वामपन्थी गठबन्धन टिकाउ नहुने तर्क गर्दै शर्माले आफू यो क्षेत्रको रैथाने उम्मेदवार भएकोले मतदाताले न्याय गर्ने बताए । ‘म केही गर्नुपर्छ भनेर आफ्नो भूमिमा फर्केर आएको हुँ । अघिल्लोपटक पराजित भए पनि मैले यो क्षेत्रमा निरन्तर बस्दै आएको छु ।’ दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासंग ६ सय ८९ मतले पराजित भएका थिए ।

कार्की २०६४ को निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भई पराजित भएका थिए ।

‘विचार मिल्ने एक हुनु राम्रो’
राजनीतिक रुपमा विचार मिल्ने शक्ति एक ठाउँमा उभिनुपर्ने दुबै उम्मेदवारको भनाइ छ । देशको विकास हुने राजनीतिनै अहिलेको आवश्यकतना भएको उनीहरुको भनाइ छ ।

‘दलले जित्दा देशले हार्नु हुँदैन’ कांग्रेस उम्मेदवार शर्माले भनाइ छ, ‘विचार मिल्नेहरु एकठाउँमा उभिनुपर्छ ।’

माओवादी उम्मेदवार कार्कीले कांग्रेसले विचार मिल्ने शक्तिसँग मिलेर जानु राम्रो हुने बताए । ‘सबै मिलेर मुलुकलाई संक्रमणबाट पार लगाउनुपर्छ ।’

प्रकाशित : कार्तिक २२, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?