कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चुनावी मुद्दा सधैं अधुरा

प्यूठान — स्वर्गद्वारी नगरपालिका–७ सोत्रे बेलवासका ७३ वर्षीय ठाकुरप्रसाद पूर्णासैनीले जीवनमा धेरैपटक मतदान गरे । भोट माग्न आउने हरेक उम्मेदवारका विभिन्न आश्वासन सुन्न थालेको पनि धेरै समय भइसक्यो तर अहिलेसम्म उनले ती आश्वासन पूरा भएको देखेका छैनन् ।

केही समयअघि स्थानीय निर्वाचनका उम्मेदवार आश्वासनका पोका बोकेर आएका थिए चुनावपछि उनीहरू फर्केर आएका छैनन् । अहिले फेरि नेता यो गर्छु, त्यो गर्छु भन्दै गाउँगाउँ पसेका छन् । उनलाई रत्तीभर पत्यार लागेको छैन ।

‘पञ्चायतकालदेखि भोट हाल्न थालेको हुँ । नेताहरूले चुनावका बेला धेरै कुरा गर्छु भने तर कसैले केही गरेनन्,’ उलने भने, ‘उतिबेला पनि गाउँमा विकास गर्छु भन्थे तर अहिलेसम्म कतै केही गरेका छैनन् । हाम्रा दु:ख उस्तै छन् । अहिले फेरि नेताहरू आउन थालेका छन्, जो आए पनि गर्ने केही होइन ।’

चाल्नेटार विमानस्थल निर्माण गर्ने कुरा पञ्चायती नेताहरू खेमराज पण्डित, टंंकबहादुर विष्ट र बहुदल आएपछि कांग्रेसका शिवराज सुवेदी, राजमोका हरि आचार्य, नवराज सुवेदी, एमालेका वामदेव गौतमलगायतका नेताको चुनावी मुद्दा हुने गरेको उनले बताए । ‘गाउँमा जहाज ल्याउने कुरा गर्न थालेको ४० वर्षभन्दा बढी भयो,’ उनले भने, ‘सबैले गर्छौं भन्छन् । गरेर कसैले देखाएनन् । अब कसरी पत्याउनु ?’ विकास हुने आशामा सबै पार्टीलाई भोट हालेको उनले बताए । ‘पञ्चायत कालमा हलोमा भोट हाल्यौं, बहुदल आएपछि रूखमा भोट दिइयो । द्वन्द्वपछि केही गर्छन् कि भनेर कम्युनिस्टलाई मतदान गरियो,’ उनले भने, ‘व्यवस्था परिवर्तन भयो । नेता फेरिए तर चुनावमा भोट माग्न उठाउने मुद्दा फेरिएनन् ।’

जिल्ला सदरमुकाम खलंगाबाट ओझेलमा परेको क्षेत्र भनेर चिनिने माडी भेगका बेलवास, बर्जिबाङ, सारी, भिंगृ, स्वर्गद्वारी खाल, कोचिबाङ लगायतका मतदाताले नेताले आश्वासन पूरा गर्नेतर्फ कहिल्यै ध्यान नदिएको गुनासो गरे । बेलवासको डाब्रा फाँटमा माडीको पानी तानेर सिँचाइ गर्ने आश्वासन दिन थालेको वर्षौं भए पनि आजसम्म योजना अघि नबढेको बर्जिबाङ दहचौरका किसान नरेन्द्र जीसीले बताए । नजिकै माडी नदी निरन्तर बगिरहे पनि सय मिटरमाथिको फाँट गाई–बाख्रा चराउने क्षेत्र भएको देख्दा निकै दु:ख लाग्ने बेलवासका सामाजिक अगुवा सेतुराम गोराथोकीले बताए । ‘यहाँसम्म लुङ्ग्री–माडी सिँचाइ आयोजनाको पानी ल्याउने कुरा धेरैपटक सुनियो,’ गोराथोकीले भने, ‘३० वर्षसम्म माडी नदीमा धेरै पानी बगिसक्यो तर नहर अझै सारीसम्म समेत आउन सकेको छैन ।’ २०४४ सालमा रोल्पाको सुलीचौरबाट लुङग्री नदीको पानी ल्याउन थालिएको लुङग्री–माडी सिँचाइ नहर अझै अधुरै रहेको उनले बताए । 

 चुनावमा ठूल्ठूला मुद्दा उठाएर जनतासँग भोट माग्ने र पूरा नगर्ने गुनासो जिल्लाका सबै ठाउँका मतदाताले गरेको कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार गोविन्दराज पोख्रेलले बताए । ‘यसपालि मैले ७ बुँदे प्रतिबद्धतापत्र मात्र बनाएर जनतासँग भोट मागेको छु,’ पोख्रेलले भने, ‘बजेट विनियोजन गरेका पुलपुलेसा र सडक पूरा गर्नेमा मेरो जोड हुनेछ । नसक्ने कुरा म गर्दिनँ ।’ वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले पनि अब विकासको समय आएको बताइन् । यसअघिका निर्वाचनमा भएका वाचा पूरा नभए पनि अब प्यूठानका वामपन्थी दल एकजुट भएकाले विकासमा सहजता हुने विश्वास व्यक्त गरिन् । ‘आजसम्म राजनीतिक बहस बढी भयो अब विकासकै बहस हुन्छ,’ उनले भनिन् । 

प्रकाशित : कार्तिक २३, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?