पहिलेका उम्मेदवारले झुक्याए, अहिलेकाले के गर्छन् ?
दलचोकी (ललितपुर) — केही वर्षअघिसम्म दलचोकी गाउँमा भ्यु टावर लेखिएको फ्लेक्स बोर्ड ठाउँ–ठाउँमा राखिएको थियो । भ्युु टावर हेर्न भनेर फाट्टफुट्ट पर्यटक पनि आउँछन् । तर, कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीमा कुनै भ्यु टावर नै छैन ।
‘यो २०६४ को चुनावमा भोट माग्न आएका नेताहरूले दलचोकीवासीलाई पर्यटकीय क्षेत्र बनाउने भनेर दिएको आश्वासन मात्र हो,’ स्थानीय लाक्पा शेर्पाले भने, ‘भ्यु टावर छ भनेर झुक्किएर मानिसहरू हेर्न आउने गरेका छन् तर यहाँ भ्यू टावर छैन् ।’
दक्षिणी ललितपुरमा २०७० को संविधानसभा निर्वाचनमा जितेका कांग्रेस नेता एवं अर्थराज्यमन्त्री उदयशमशेर राणा र हालै एमाले पार्टी प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवालको यो क्षेत्रमा प्रतिस्पर्धा छ । ललितपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार राणा मतदातालाई रिझाउन दक्षिण दुर्गम पहाडी भेगमा ४ दिन बस्ने गरी बुधबार दलबलसहित पुगे । सिलवाल पनि भोट माग्न गाउँमै छन् । सिलवाल शनिबार दलचोकी पुगेका थिए ।
दलचोकीमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रमलाई लक्षित गर्दै शेर्पाले भने, ‘जसले विकासका महत्त्वाकांक्षी योजना ल्याउँछ त्यसैलाई चुन्ने छु ।’ उनले थप आश्वासन दिएर जाने मात्र होइन, आफूले जनाएका प्रतिबद्धतासमेत बिर्सने नेतालाई भोट नदिने बताए ।
उपत्यकामा दलचोकी सिरुडाँडाको साग प्रख्यात छ । गुजुमुजु साग भनेपछि बजारमा अन्य ठाउँबाट ल्याइएको सागभन्दा पहिला बिक्री हुन्छ । तर गाउँमा उक्त साग बजारसम्म पुर्याउने गतिलो सडक छैन । ‘ग्राभेलसमेत नगरेका बाटा छन्,’ उनले भने, ‘यसपालि सोचविचार पुर्याएर विकासप्रेमीलाई मात्र मत हाल्नेछु ।’
दक्षिण ललितपुर साना जलविद्युत् आयोजनका लागि उपयुक्त क्षेत्र हो । भूकम्पले क्षतिग्रस्त करिब १५ वटा साना जलविद्युत् सञ्चालन हुन सकेको छैन । यहाँ ठोस्ने, टुंगुल, खानी खोला छन् । ‘अहिले खोलाको पानी खेर गइरहेको छ,’ दलचोकीका विष्णुप्रसाद सञ्जेलले भने, ‘तर पनि कुनै नेतामा यसको सदुपयोग गरौं भन्ने सोच छैन ।’ उनले यसपालि हाम्रा भन्दा पनि राम्रा नेतालाई चुन्ने बताए ।
कोन्ज्योसोम गाउँपालिका नजिकैको चिया पसलमा बुधबार दिउँसो स्थानीयहरू चुनावी जित–हारको जोड घटाउ गर्दै थिए । नेताहरू भोट माग्न दक्षिण पसेपछि गाउँमा पनि माहोल तातेको छ ।
चिया तान्दै चन्द्रबहादुर घलानले भने, ‘दक्षिणका गाउँवासी प्राय: किसान छन्, यहाँ विश्वकै नमुना कृषि पर्यटनको सम्भावना छ ।’ उनले आफू कांग्रेस निकट भए तापनि राम्रो योजना ल्याउनेलाई चुन्ने बताए । दलचोकी कामी टोलकी सानुकान्छी सुनुवारलाई भने निर्वाचनको कुनै मतलब छैन ।
साबिक गाविस भवन नजिकै घाम ताप्दै गरेकी दमकी बिरामी सुनुवारले भनिन्, ‘मुटु पनि दुख्छ, आँखा पनि राम्रोसँग देख्दिनँ ।’ उनले भनिन्, ‘म बुढीलाई गाउँमै एउटा अस्पताल भइदिएको भए हुन्थ्यो ।’ बुधबार राणा दलचोकी र शंखु पुगे भने सिलवाल छम्पी र डुकुछापका मतदातालाई रिझाउन घरदैलोमा व्यस्त रहे । प्रदेशसभातर्फको ६ सिटमा कांग्रेसबाट क्षेत्र नं. १ ‘क’ मा ऋषिराम घिमिरे र ‘ख’ का मीनकृष्ण महर्जन पनि मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ पसेका छन् । उनीहरूका प्रतिद्वन्द्वी क्रमश: माओवादीकी सुशीला पुन, एमालेका चेतनाथ सञ्जेल पनि गाउँमै छन् ।
प्रकाशित : कार्तिक २३, २०७४ ०८:४१