१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुरु–चेलाबीच प्रतिस्पर्धा

आफूलाई प्रशिक्षित गराउनेसँग चुनाव लड्न पाउँदा खुसी छु – जयकुमार राई
वाम राजनीतिका तेस्रो, चौथो पुस्तासम्मले मलाई सघाउँछन् – अशोक राई
प्रदीप मेन्याङ्बो

धरान — सुनसरी क्षेत्र १ को प्रतिनिधिसभामा गुरु र चेला उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । धरानमा कांग्रेस र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएपछि प्रतिनिधिसभाका लागि फोरम वरिष्ठ नेता अशोक राईले उम्मेदवारी दिएका छन् ।

गुरु–चेलाबीच प्रतिस्पर्धा

राईलाई सहयोग गरेबापत सुनसरी फोरमले प्रदेशसभामा सुनसरी १ कका किशोर राई र ख का बुद्धि कटवाललाई सघाउने सर्त रहेको छ । अन्य निर्वाचन क्षेत्रमा यस्तो नभए पनि धरानमा लोकतान्त्रिक गठबन्धन भनिएको छ ।

राष्ट्रिय राजनीतिमा चिनिएका फोरमका राईलाई चुनौती दिँदै उनबाटै प्रशिक्षित चेला जयकुमार राई एमाले माओवादी गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार छन् । भलै, जिल्लास्तरका नेता भए पनि आफ्ना गुरुको सम्मान गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको उनले बताए । सुनसरी १ पञ्चायतकालदेखि वामपन्थी पकड भएको क्षेत्र मानिन्छ । कांग्रेसले कहिल्यै जित्न नसकेको अवस्थामा प्रतिनिधिसभा चुनावमा गुरु अशोक पुराना वामपन्थी मत र कांग्रेसको मत, चेला जय एमाले र माओवादी केन्द्रको मत तान्न लालायित छन् ।

निश्चिन्त रहेका अशोक राईले भने, ‘धरानबाटै मैले आफ्नो राजनीतिक जीवन सुरु गरेको हुँ र यहाँ वाम राजनीतिका तेस्रो चौथो पुस्ताका युवा नेता कार्यकर्ता अधिकांश मैले उत्पादन, प्रशिक्षण दिएको हुँदा अब गुरुदक्षिणा दिने पालो उनीहरूको आएको छ ।’ उनी ती चेलाले आफूलाई गुरुदक्षिणास्वरूप अमूल्य मत दिएर जिताउनेमा ढुक्क छन् ।

धरानमा विगतदेखि नै एमाले विजयी हुँदै आएको क्षेत्र भएको पनि उनी बिर्सन सक्दैनन् । वाम गठनबन्धनका उम्मेदवार जयको भन्दा आफ्नो राजनीतिक उचाइ अग्लो भएकाले सोहीअनुसार मतदाताले मूल्यांकन गर्ने उनको दाबी छ । चुनावी राजनीतिमा नयाँ अनुहार जयकुमार पनि अशोक राई आफ्नो गुरु भएको स्विकार्छन् । उनलाई ‘आफ्नै गुरुसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा कत्ति चिन्ता लागेको छैन ?’ जिज्ञासामा उनले भने, ‘गुरुसँग राजनीतिक प्रतिस्पर्धा गर्ने हो । यो रेस्लिङ होइन । पार्टी र सैद्धान्तिक विचारको लडाइँ हो । अशोक गुरुसँग म किन डराउने ? मैदानमा जहिल्यै उत्साही हुनुपर्छ भन्ने उनैले सिकाएका थिए ।’

एमालेका राई पहिल्यैदेखि आफ्नो पार्टीको वर्चस्व रहँदै आएको ठाउँमा अझ वाम गठबन्धनले जित सुनिश्चित रहेकामा ढुक्क छन् । साबिक भरौल, बराहक्षेत्र र बक्लौरीका सबैमा एमालेले नै जित्दै आएकाले अरूले कुनै ‘चान्स’ नपाउने जयको भनाइ छ ।

गठबन्धनले आफ्नै उम्मेदवारले जित्ने दाबी गर्दै आएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता छन् । चुनावी अंकगणितअनुसार स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा एमालेले ३० हजार १ सय ३८ ल्याएको थियो ।यस्तै, कांग्रेसले २३ हजार २४ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्ति पार्टीले ५ हजार ५ मत र राप्रपाले ५ सय ८७ मत पाएको थियो ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन भएपछि माओवादी केन्द्र र एमालेले पाएको कुल मत जोड्दा ४२ हजार ८ सय ७८ हुन्छ । कांग्रेस र संघीय समाजवादी फोरमले पाएको मत जोड्दा २८ हजार २९ हुन्छ ।

चुनावी अंकगणित यस्तो रहे पनि फोरमका संगठन सचिव ध्यानबहादुर राईको तर्क अर्कै छ । ‘स्थानीय तहमा एमालेले जिते पनि परिवर्तनलाई आत्मसात् गर्ने मतदाताले फेरि उसैलाई दिन्छन् भन्ने ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘पहिले उसले पाएको मत यसपटक अशोकमा जान्छ ।’ तर स्वतन्त्र राजनीतिक विश्लेषक प्राडा राजेन्द्र शर्माले सुनसरी क्षेत्र नम्बर १ का मतदाताको प्रवृत्ति जहिले पनि एउटै धारमा बग्ने गरेको बताए । उनले भने, ‘इतिहासकालदेखि यो क्षेत्र वामपन्थीको आधार क्षेत्र बन्दै आएको छ । यहाँका मतदाताले उम्मेदवार हेर्दैनन् । वामपन्थीले जस्तो कम प्रभावशाली वा विवादास्पद उम्मेदवार उठाए पनि पार्टीको नीति र सिद्धान्तअनुसार मत दिन्छन् ।’

‘समानुपातिक मतका लागि उम्मेदवारी’
धरान– राजनीतिक ध्रुवीकरणबीच मध्यमार्गी जनमतलाई सुरक्षित गर्न नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिएको बताएको छ । पार्टीको प्रदेश समितिले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश १ को धनकुटा, झापा ३, सुनसरी ४ बाहेक सबै स्थानमा नयाँ शक्तिले प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारबारे जनाएको छ ।

पार्टीका प्रदेश १ संयोजक राजेन्द्र किरातीले मध्यमार्गी पार्टीका रूपमा वाम र लोकतान्त्रिक गठबन्धनसँग केही सिटको तालमेलका लागि प्रस्ताव गर्दा गोरखा र रसुवामा बाहेक नपत्याएको बताउँदै भने, ‘प्रदेश एकमा हाम्रो उम्मेदवारी चुनाव जित्नका लागि भन्दा मध्यमार्गी जनमत समानुपातिक मतमार्फत सुरक्षित गराउनुका लागि हो ।’ उनले राजनीतिक परिवर्तनमा त्यसअघि नपत्याएका शक्तिले खोलेको भूमिकाजस्तै नयाँ शक्तिलाई हेर्न आग्रह गरे ।

पार्टीले प्रदेशसभा चुनावमा केही सिटका लागि तालमेल प्रयास गरेको उनले बताए । सुनसरी १ मा तालमेल प्रयास भए पनि मनोनयनपत्र दाखिलापछि मात्र जवाफ आएको बताउँदै संयोजक किरातीले भने, ‘तालमेलको छलफल मतदानको अघिल्लो दिनसम्म चल्न सक्छ ।’ केन्द्रीय सदस्य सुनीता मरिक डोमले दलित, महिला, पिछडिएका समुदायबाट सबैभन्दा बढी समावेशी उम्मेदवार बनाउने नयाँ शक्ति भएको दाबी गरिन् ।

प्रकाशित : कार्तिक २३, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?