२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

घनश्याम खतिवडा र डिगबहादुर लिम्बू : सधैंका प्रतिस्पर्धी

विराटनगर — अढाई दशकअघि घनश्याम खतिवडा र डिगबहादुर लिम्बूले मोरङको तत्कालीन लेटाङ गाविस अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । एमालेका खतिवडा र कांग्रेसका लिम्बू यसपटक फेरि आमनेसामने भएका छन् ।

 घनश्याम खतिवडा र डिगबहादुर लिम्बू : सधैंका प्रतिस्पर्धी

दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मोरङ क्षेत्र १ का यी ‘चिरपरिचित प्रतिस्पर्धी’ बीच भिडन्त हुन लागेको हो । समग्रमा यी दुई नेताबीचको प्रतिस्पर्धा यो तेस्रोपटक हो । पहिलोपटक स्थानीय निकाय, दोस्रोचोटि संविधानसभा निर्वाचन अनि यसपालि प्रतिनिधिसभा सदस्यका लागि उनीहरूबीच प्रतिस्पर्धा हुँदैछ । २०४९ को स्थानीय निकाय निर्वाचनमा लिम्बूलाई पराजित गर्दै खतिवडा गाविस अध्यक्ष बनेका थिए । त्यसपछि २०७० को संविधानसभा निर्वाचनमा लिम्बूले खतिवडालाई पराजित गरेका थिए । यसपालिको प्रतिस्पर्धामा कसले कसलाई पछि पार्ला ? मोरङ १ मा उत्तिकै लोकप्रिय यी दुई नेताबीचको प्रतिस्पर्धा निकै रोचक हुँदैछ । खतिवडा वाम गठबन्धनका तर्फबाट अघि सारिएका उम्मेदवार हुन् । मोरङ कांग्रेसका सभापति लिम्बू निवर्तमान सांसद हुन् । २०७० सालको संविधानसभामा लिम्बूले खतिवडालाई झन्डै १ हजार ५ सय मतले पराजित गरेका थिए । त्यसबेला माओवादीका नेता वर्षमान पुन पनि चुनावी मैदानमा थिए । उनले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । 

तर २०६४ को पहिलो संविधानसभा निर्वाचनमा लिम्बू माओवादीका नगेन्द्रप्रसाद धिमालसँग पराजित भए । यो क्षेत्रका मुख्य प्रतिस्पर्धी लिम्बू र खतिवडा नै हुन् । फरक राजनीतिक धारका भए पनि उनीहरूबीच धेरै कुरामा समानता छ । दुवै लेटाङ नगरपालिकाका स्थायी बासिन्दा हुन् । दुवै पूर्वशिक्षक हुन् । २०४९ र २०५४ सालमा गरी दुईपटक लेटाङ गाविस अध्यक्षमा निर्वाचित खतिवडा जितका लागि आफूले गरेको विकास नै पहिलो आधार भएको बताउँछन् । लिम्बूको सामुदायिक वन उपभोक्ता महासंघतर्फ सक्रियता थियो भने खतिवडा सहकारी अभियन्ताका रूपमा समेत परिचित छन् । आदिवासी जनजातिको बाहुल्य रहेको क्षेत्र १ मा जिल्लाको पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका ४ वटा स्थानीय तह पर्छन् । केराबारी, मिक्लाजुङ गाउँपालिका तथा लेटाङ र उर्लाबारी नगरपालिका समेटिएको यस क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा कांग्रेसले उर्लाबारी, लेटाङ र केराबारीमा विजय हासिल गरेको थियो । 

एमाले मिक्लाजुङमा विजयी भएको थियो । स्थानीय तहमा कांग्रेसको जित र क्षेत्रगत विकासमा आफूले गरेको योगदान नै विजयी बन्नका लागि उपयुक्त आधार भएको लिम्बूको भनाइ छ । 

स्थानीय तहको निर्वाचनमा वडागत परिणामलाई हेर्ने हो भने क्षेत्र नं. १ मा कांग्रेसभन्दा एमाले ५ सय ८२ मतले बढी देखिन्छ । ३७ वटा वडामा एमालेको कुल मत २४ हजार २ सय ८ छ भने कांग्रेसको २३ हजार ६ सय २६ छ । गठबन्धनको मत सुरक्षित रहे तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको कुल ८ हजार ९ सय ६२ मत एमालेमा गाभिनेछ । यसरी कांग्रेसभन्दा वाम गठबन्धन झन्डै ९ हजार मतले अगाडि आउने आकलन गरिएको छ । 

सुरुमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । तर अन्तिम समयमा आएर मोरङका ६ मध्ये ४ र ५ केन्द्रका भागमा परे । क्षेत्र १ प्रदेशसभा अन्तर्गत ‘क’ मा एमालेका लोकप्रिय नेता मानबहादुर श्रेष्ठले टिकट नपाएकाले उनका समर्थक असन्तुष्ट छन् । वाम गठबन्धनभित्रका असन्तुष्टलाई समेटदै कांग्रेस चुनाव जित्ने दाउमा देखिन्छ । यो क्षेत्र विकासको हिसाबले निकै पछाडि परेको छ । विराटनगर सदरमुकामबाट सबैभन्दा टाढा रहेको यो क्षेत्रको सिमाना इलाम र धनकुटा जिल्लासँग जोडिन्छ । समकक्षी यी २ उम्मेदवारका चुनावी एजेण्डा र प्रतिबद्धता उस्तैउस्तै छन् । दुवै नेताले क्षेत्रभित्रको चुरे पहाडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न चाहेका छन् । क्षेत्रमा विकास भित्र्याउन वर्षौं लाग्न सक्ने भएकाले उनीहरू दुवैले त्यस क्षेत्रका लागि विकासको मेरुदण्ड बन्न सक्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकतर्फ आँखा लगाएका छन् ।

‘यो सडकलाई धरानबाट पूर्व याङशिला–केराबारी–लेटाङ–टाँडी–मधुमल्ला, झापाको दमकबाट बाहुनडाँगी हुँदै भारतसँग जोड्न सकियो भने उत्तरी मोरङको विकासमा कायापलट हुन्छ,’ उम्मेदवार लिम्बूले भने । उनले यसपटकको चुनावको प्रमुख एजेण्डा नै यो सडकलाई धरानबाट पूर्व ल्याउने रहेको बताए । वाम गठबन्धनअन्तर्गत माओवादीको साथ पाएका एमाले नेता खतिवडा यसपटक चुनाव जित्नेमा आशावादी देखिन्छन् ।

‘अघिल्लो चुनावभन्दा अहिलेको अवस्था फरक छ, गठबन्धनको धेरै मत हुन्छ,’ खतिवडाले भने, ‘त्यसैले यसपटक चुनाव हार्ने मैले सोचेको छैन ।’ बक्राहा, तेली, चिसाङ र खदम खोला नियन्त्रण दुवै उम्मेदवारका प्रमुख चुनौती हुन् । 

‘नयाँ/पुराना जो भए पनि मतदाताले विकास र समृद्धि खोजेका छन् । त्यसमा मेरो पहिचान के हो उहाँहरूलाई थाहा भइसकेको छ,’ लिम्बूले भने, ‘सांसदका रूपमा नेतृत्व गर्दै आएका विकास निर्माणका केही काम अधुरा रहेकाले तिनलाई पनि म पुरा गर्नेछु ।’

प्रकाशित : कार्तिक २४, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?