२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चुनाव मुखमै राष्ट्रपति किन जाँदैछिन् यूएई ?

– अहिले खाडीको भ्रमण उचित छैन : परराष्ट्र
– ‘राष्ट्रपतिको भ्रमण चाहनालाई सरकारको सम्मान मात्र’
चन्द्रशेखर अधिकारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् । निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।

चुनाव मुखमै राष्ट्रपति किन जाँदैछिन् यूएई ?

राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् ।

निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् । संविधान जारी भएपछि देशमा हुन लागेको पहिलो निर्वाचनकै बेला राष्ट्रपति विदेश जान हतार गर्नुको कारणबारे राष्ट्रपति कार्यालय भने मौन छ । निर्वाचनपछि बन्ने संसदले नयाँ राष्ट्रपतिको चयन गर्दैछ ।

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । कृष्णबहादुर महरा बिनाविभागीय भएपछि अहिले परराष्ट्रमन्त्रीसमेत छैनन् । यसको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राजदूत र परराष्ट्रमन्त्री दुवै नभएका बेला राष्ट्रपतिको भ्रमण गराउन खोजिनुलाई परराष्ट्र मामिलाका ज्ञाताहरूले आश्चर्यका रूपमा हेरेका छन् । खाडी मुलुकबीच आपसमा कूटनीतिक द्वन्द्व र धु्रवीकरण भइरहेका बेला देशकै अभिभावकको भ्रमणले मुलुककै पक्षधरतासमेत झल्किने उनीहरूको भनाइ छ ।

यूएई, साउदी अरेबिया र इजिप्ट लगायतका मुलुकले कतारमाथि नाकाबन्दी लगाएपछि खाडीमा ठूलो धु्रवीकरण छ । नाकाबन्दीविरुद्ध कतारले र पक्षमा अन्य मुलुकले लबिइङ गर्दै आएका छन् । कतारका प्रतिनिधिले नेपालमै आएर नाकाबन्दीविरुद्ध उभिन आग्रह गरेका थिए । यस्तो द्वन्द्व भइरहेका बेला त्यहींको कुनै एक देशमा जानुलाई अर्थपूर्ण रूपमा लिइने जोखिम पनि रहन्छ । ‘यो क्षेत्रमा नेपालीको संख्या निकै ठूलो छ, राष्ट्रपति एउटा मात्रै देशमा गइदिँदा त्यसैको पक्ष लिएको जस्तो पनि देखिनसक्छ, यसमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालय चुकेको देखिन्छ,’ एक विज्ञले भने ।

परराष्ट्रका एक अधिकारीले मन्त्रालयबाट यो कूटनीतिक परिदृश्य स्पष्ट रूपमा राखिएको बताए । ‘हामीले यो अवस्थाबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छौं,’ उनले भने, ‘यस्तो परिदृश्यमा राज्य प्रमुखबाट भ्रमण हुनुले अर्कै प्रकारको कूटनीतिक संकेत गर्छ ।’ सद्भावना/औपचारिक जे भनिए पनि यूएईका युवराजको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले अगाडिदेखि नै यूएई जाने तयारी गरेकी भए पनि उनलाई औपचारिक निमन्त्रणा मंगलबार मात्र प्राप्त भएको हो । नेपालका लागि यूएईका राजदूत सैयद हम्दान नक्पितले राष्ट्रपतिलाई शीतलनिवासमा भेटेर अबुधावीका राजकुमार तथा यूएईका उपप्रमुख मोहम्मद विन अल जाहेद नाहिदको निमन्त्रणा हस्तान्तरण गरेका हुन् । त्यसपछि भ्रमणको अन्य तयारी अघि बढेको परराष्ट्रको भनाइ छ । राष्ट्रपतिले आफ्नो कार्यकालको अन्तिम समयमा विदेश भ्रमणको इच्छा देखाएकाले सरकारले उनको इच्छाको सम्मानबाहेक यो भ्रमणको अर्को पाटो नरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए ।

राष्ट्रपति सोमबार त्यसतर्फ जाने र बिहीबार फmर्कने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । ‘यूएईका राजकुमारको निम्तामा राष्ट्रपति त्यसतर्फ जान लाग्नुभएको हो । यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई राम्रो बनाउन र लगानी भित्र्याउन उपयोगी हुने हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘हामीले त्यहाँको कूटनीतिक अवस्थाभन्दा पनि नेपाल र यूएईको सम्बन्धलाई मात्र केन्द्रमा राखेर हेरेका हौं । अन्य मूल्यांकन परराष्ट्रले गर्ला, सरकारबाट निर्णय भइसकेकाले पनि यसको नतिजा नराम्रो पक्कै आउँदैन ।’ परराष्ट्रका एक वरिष्ठ अधिकारले भने अहिलेको भ्रमणले सम्बन्धमा नकारात्मक सम्बन्ध पार्न सक्ने भन्दै राजदूत नियुक्तिपछि भ्रमण गर्न सुझाव दिएको बताए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले यो भ्रमण उपयुक्त देखेरै सरकारले निर्णय गरेको हुनुपर्ने बताए । राष्ट्रपति आफैं कतै नजाने र सरकारबाट निर्णय भएर आएपछि राष्ट्रपति भ्रमणमा जाने उनले उल्लेख गरे । परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले यसमा कुनै धारणा राख्न चाहेनन् । भ्रमण हुने विषयमा कुराकानी भएको र उपयुक्त समयमा भ्रमणको सबै जानकारी दिने बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?