२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘त्यागी’ र तरुणको भिडन्त

जनक नेपाल, तुलाराम पाण्डे

कालीकोट — वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर रावत ३५ वर्षदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर छन् । उनलाई चुनौती दिँदै छन्, कांग्रेसका ३५ वर्षीय तरुण नेता भूपेन्द्रजंग शाही । एउटै निर्वाचन क्षेत्र रहेको जिल्लामा त्यागी नेताको परिचय बनाएका रावत र सम्भावना बोकेका युवा नेता शाहीको प्रतिस्पर्धा रोचक बनेको छ ।

 ‘त्यागी’ र तरुणको भिडन्त

फरक विचार र अनुभव बोकेका यी प्रतिस्पर्धीबीच एउटै समानता छ, दुवै १४ वर्षको कलिलै उमेरमा विद्यार्थी राजनीतिमा तानिए । एमाले–माओवादी गठबन्धनका उम्मेदवार रावत दुवै दलका समर्थकको मन जित्न गाउँ पुगिरहेका छन् । गाउँ तथा नगरस्तरीय कार्यकर्ता भेला गरिरहेका छन् । उनी जन्मजात खुट्टाको अपाङ्ग छन् । तर, पैदल उकालोओरालो गर्दै मतदाता भेट्न व्यस्त छन् ।

उनी माओवादी र एमाले नेतासहित कालीकोटको प्रदेश (ख) का ४ वटा पालिकास्तरीय संयुक्त भेला सकेर मान्म फर्किएका छन् । अपांगताका कारण रावत दैनिक २/३ घण्टाभन्दा धेरै पैदल हिँड्न सक्दैनन् । ‘चुनावी दौडधुप गर्न खुट्टाले केही समस्या पारेको छ,’ उनले भने, ‘साथीहरूले कतै घोडा व्यवस्था गर्छन् । बाटो पुगेका ठाउँमा गाडी खोजेर पठाउँछन् । उनी बिहीबारदेखि प्रदेश (क) का चुनावी सभामा जाँदैछन् । कांग्रेस भातृसंगठन तरुण दलका महासचिव शाही ०७० को संविधानसभा निर्वाचनका पनि प्रत्याशी हुन् । चुनावमा पराजित भए पनि बारम्बार मतदाताकहाँ पुगिरहेकाले प्रचारप्रसारका लागि घरदैलो भने नगर्ने उनले बताए । ‘अघिल्लो चुनावमा मैले हारे पनि जित्नेभन्दा धेरै पटक गाउँ आउने प्रतिबद्धता गरेको थिएँ,’ शाहीले भने, ‘बितेको चार वर्षभरि मैले घरदैलो गरिरहेको छु । त्यसैले चुनावमा कार्यकर्ता परिचालनमा जोड छ ।’ उनले बरु सामाजिक सञ्जाल, एफएम रेडियो लगायतका नयाँ प्रविधिलाई भरपूर उपयोग गरेका छन् ।

नेमकिपाको राजनीतिसँगै ०४२ देखि ०५४ सम्म प्रावि तहको शिक्षक रावल स्थायी जागिर छाडेर माओवादी ‘जनयुद्ध’मा सामेल भए । एरिया इन्चार्ज, जिल्ला जनसरकार उपप्रमुख हुँदै ०६४ यता माओवादी जिल्ला संयोजकको जिम्मेवारीमा छन् । नेतृत्वमा रहेर ०६४ र ०७० को निर्वाचनमा माओवादीलाई जिताएका रावतसँग आफैं प्रत्यक्ष उम्मेदवार बनेको अनुभव छैन । कांग्रेसका शाही भने अघिल्लो संविधानसभा निर्वाचनका प्रत्याशी हुन् ।

फरक पुष्ठभूमिका दुई उम्मेदवारका चुनावी नारा पनि फरक छन् । रावल कालीकोटका अरू धेरै सम्भावनासँगै युद्ध पर्यटनलाई महत्त्व दिन्छन् । शाही भने सुन्दर र समृद्ध कालीकोटको नारालाई अभियानमा बदल्ने बताउँछन् । ०७० को संविधानसभा चुनाव र ६ महिनाअघि सम्पन्न स्थानीय चुनावलाई आधार मान्दा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धनको मत झन्डै दोब्बर देखिन्छ । तर, यो चुनावलाई दुवै उम्मेदवारले विभिन्न कोणबाट सहज र कठिन आकलन गरेका छन् । माओवादी उम्मेदवार रावत वाम गठबन्धनको मत जोगाउन सके सहज जित हुनेमा ढुक्क छन् भने शाहीलाई विगतमा एमाले र माओवादीबीच कालीकोटमा रहेको द्वन्द्वका कारण एमालेको भोट तान्ने रणनीति बुन्दै छन् ।

०४८ मा कांग्रेस, ०५१ र ५६ मा एमाले, ०६४ र ७० मा माओवादीले चुनाव जितेको कालीकोटमा यस पटक भने दलहरू दुई कित्तामा उभिएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेश सदस्यका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा भए पनि वाम गठबन्धनका रावत र कांग्रेस, दुई राप्रपा र नयाँशक्तिबीचको लोकतान्त्रिक गठबन्धनका शाहीबीच मुख्य भिडन्त हुने देखिएको छ ।

रावत ०४७ पछि सधैंजसो सत्तामा रहेको कांग्रेसबाट परिवर्तन नहुने भएकाले वाम गठबन्धनको सरकार बनाउन आफूले जित्नुपर्ने बताउँछन् । भौगोलिक कठिनाइ भए पनि ३ हावापानी रहेकाले कृषि पर्यटन, पिली र कोटवाडालाई युद्ध पर्यटकीय क्षेत्र बनाउने उनको प्रतिबद्धता छ । ‘निर्वाहमुखी कृषि प्रणालीलाई सुधार गर्दै व्यावसायिक खाद्यान्न उत्पादन तथा तरकारी खेती, पशुपालनलाई जोड दिनेछु,’ उनले भने ।

कांग्रेस उम्मेदवार शाही कर्णालीबाट नेविसंघ र तरुण दलको केन्द्रीय तहमा पुग्ने पहिलो नेता हुन् । ‘तपाईं मलाई भोट दिनुहोस्, म सुन्दर र समृद्ध कालीकोट दिन्छु’ जस्ता आकर्षक नारासहित उनी मैदानमा छन् । कालीकोटलाई समृद्ध बनाउने आफूसँग योजना रहेकाले मतदाताले विश्वास गर्ने अपेक्षा राखेको उनले बताए । विगतमा हुने कांग्रेसको गुटबन्दीको पूर्णरूपले अन्त्य हुनु, माओवादी र एमालेका नेता/कार्यकर्ताबीचको अन्तरविरोध, दुई राप्रपा र नयाँ शक्तिसमेतको साथले आफूलाई चुनाव जित्न सजिलो हुने उनको दाबी छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?