‘व्यवसायी नेता’ बीच प्रतिस्पर्धा

पर्वत पोर्तेल

काँकडभिट्ट — झापा १ को प्रदेशसभा सदस्यका लागि ‘व्यावसायिक नेता’ को छवि बनाएका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र कांग्रेसका केशवराज पाण्डे तथा ‘ख’ मा एमालेका गोपालचन्द्र बुढाथोकी र कांग्रेसबाट अशोककुमार पोख्रेलबीच प्रतिस्पर्धा हुँदैछ ।

सबै व्यवसायी भएकाले उनीहरूबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । 

एमालेका मैनाली र बुढाथोकी दुवै यातायात क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । कांग्रेसका पाण्डे उद्योग वाणिज्य संघसँग आवद्ध छन् भने पोख्रेल कानुन व्यवसायी हुन् ।

यातायात क्षेत्रमा मैनालीको लामो समयदेखि सक्रियता छ । एमाले सम्बद्ध मजदुर संगठनमा आवद्ध उनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । मेची बस व्यवसायी संघमा करिब २० वर्षदेखि उनी अध्यक्ष हुन् । मैनालीले क्षेत्र नम्बर १ मा वाम गठबन्धनको अवस्था बलियो रहेको दाबी गर्दै भने, ‘मेरो जित सुनिश्चितजस्तै छ ।’

एमालेकै बुढाथोकी पनि लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील छन् । ०३५ सालमा विद्यार्थीकालबाटै कम्युनिस्ट राजनीतिमा लागेका बुढाथोकी यो क्षेत्रका लोकप्रिय नेता मानिन्छन् । वाम गठबन्धनअघि प्रतिनिधिसभा सदस्यका रूपमा उनको नाम चर्चामा थियो । तर, गठबन्धनले माओवादी नेता राम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । ‘प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएकोमा मलाई दु:ख छैन,’ बुढाथोकीले भने । उनले प्रदेशसभा सदस्यका लागि पनि टिकट मागेनन् । उनी थप्छन्, ‘पार्टीले उठ्नुपर्छ भनेर मात्रै उठेको हुँ ।’ कांग्रेसका पाण्डेको राजनीति पनि विद्यार्थीकालबाटै सुरु भयो । ०४९ सालमा नेपाल विद्यार्थी संघ कन्काई क्याम्पसका सभापति रहेका उनले त्यसपछि पार्टी सदस्यता लिएका हुन् ।

दुई कार्यकाल महाधिवेशन प्रतिनिधि भइसकेका पाण्डे महासमिति सदस्यको यो तेस्रो कार्यकाल हो । पार्टी राजनीतिसँगै उनी ५० को दशकदेखि निजी क्षेत्रको राजनीतिमा पनि सक्रिय रूपमा लागे । ०५६ मा मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेका उनी त्यसपछि अध्यक्ष बने । उद्योग वाणिज्य महासंघको तीन कार्यकाल केन्द्रीय सदस्य भए । पाण्डेका अनुसार पूर्वी नाका देशको मुख्य व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखेका छन् । खासगरी भारत, बंगलादेश र भुटानसहित तेस्रो देशसँगको व्यापारका लागि यो नाका सम्भावना प्रशस्त रहेको उनले बताए । प्रदेशसभामा आफूले जिते आर्थिक समृद्धिका लागि काम गर्ने उनको भनाइ छ ।

झापा १ ‘ख’ बाट उम्मेदवार बनेका कांग्रेस नेता पोख्रेल निष्ठावान कानुन व्यवसायीका रूपमा चिनिन्छन् । ०३५ सालमा धुलाबारी माविमा पढ्दै गर्दा उनी राजनीतिमा लागेका हुन् । कांग्रेसका अगुवा नेता याम भण्डारीले उनलाई नेपाल विद्यार्थी संघमा आबद्ध गरेका थिए । 

स्कुलपछि क्याम्पसमा पनि उनले नेविसंघको राजनीति गरे । क्याम्पसपछि वकालती पेसामा संलग्न छन् । वकालत पेसा सुरु गरेपछि पनि यिनले कांग्रेस राजनीतिलाई छाडेनन् । कांग्रेसलाई आधार बनाएर नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्षसमेत भए ।

उनी विगत ८ वर्षदेखि वकालती पेसामा सक्रिय छन् । तीन कार्यकाल महाधिवेशन सदस्य बने । पोख्रेलले आफ्नो व्यावसायिक अनुभवका कारण पार्टीले जिम्मेवारी दिएको बताए । नेपाली राजनीतिक संस्कारलाई परिवर्तनको खाँचो रहेको उनको बुझाइ छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सहिद परिवार भन्छन् - आशामै बित्यो ३८ वर्ष

रमेशचन्द्र अधिकारी

छिन्ताङ (धनकुटा) — निर्वाचनको चर्चा चुलिएका बेला खोकु छिन्ताङ आँखिसल्लाबासी भने ३८ वर्षदेखि पिरोलिएको एउटै माग अघि सारिरहेका छन् । तत्कालीन शासन व्यवस्था परिवर्तनका लागि जुटेकामाथि ०३६ कात्तिक अन्तिम साता चरम दमन भएको थियो । त्यस क्रममा १६ जनाको त ज्यानै गयो । यो घटना छिन्ताङकाण्डका नामले चर्चित छ ।

छिन्ताङ हत्याकाण्डको स्मृतिमा यति बेला सहिद सप्ताहसमेत मनाइँदैछ । पञ्चायतको विरोधमा भूमिगत शैलीमा संगठन विस्तार गरेको भन्दै तत्कालीन राज्यसत्ताले चरम दमन गरेको थियो । ज्यान गुमाएकालाई भने हालसम्म राष्ट्रिय रूपमा सम्मान नदिइनुमा सहिद परिवारको गुनासो छ ।

अधिकांश हत्या साताभरमा गरिएको थियो । घटनालाई नजिकबाट नियाल्ने स्थानीय जीतबहादुर राईका अनुसार कात्तिक अन्तिम साताभर सिंगो गाउँ रगतले पोतियो । बारुदको धुवाँ र तत्कालीन सैनिक प्रहरीको गर्जनले सर्वसाधारण आतंकित थिए । घटनामा केही गृहणी, सुत्केरीदेखि गोठालो गएका सर्वसाधारणसमेत गोलीको निशाना बने ।

घटनाको पृष्ठभूमिका आधारमा बामपन्थी विचारधाराको नेतृत्व गर्नेहरू शासकका आँखी भएका थिए । तर त्यतिमै सीमित भएन, सर्वसाधारणलाई आतंकित पार्नकै लागि बलात्कारदेखि लुटपाटसम्मका घटना घटाइएको थियो । गर्भवती अवस्थामा बन्दुकको कुन्दाबाट यातनाको सिकार बनेकी श्रीमाया राई (हांखिमा साइँली) को पनि हत्या भएको थियो । यातना दिइएको केही दिनमै (२०३६ साल कात्तिक २९) मा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो ।

स्थानीय रामकुमारी राईको पनि दयनीय कथा छ । उनलाई ०३६ कात्तिक २९ गते तत्कालीन सुरक्षाकर्मीद्वारा भएको शारीरिक हिंसापछि मृत्यु भएको थियो । अनि १४ वर्षीय केशरमान राईलाई कात्तिक २८ गते प्रहरीले गोलीको निशाना बनायो । उनी स्थानीय टप्पुदेवी निमाविमा ७ कक्षामा पढ्थे । सामान्य कृषक धनवीर दमाईलाई पनि कात्तिक २७ गते मारियो ।

सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क र सालिक राखिएको छ । यो हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकका रूपमा स्थानीयलाई दलहरूले प्रयोग गर्दै आएका छन् । सहिद परिवारका सदस्यले आफ्ना आफन्त तथा प्रियजन गुमाउँदाको पीडा बोधमा राज्यले सान्त्वना दिने काम नगरेको दुखेसो भने सधैं गर्दै आएका छन् ।

सहिद पुत्र योगेन्द्र राईले राष्ट्रको नाममा ज्यान गुमाएकाप्रति राज्य कहिल्यै गम्भीर नभएको गुनासो गरे । ‘विभिन्न बहानामा मारिएकाले राज्यको ढुकुटीबाट सहिदको नाममा आर्थिक र अन्य सहयोग पाएका छन्,’ उनले थपे, ‘हामीलाई भने उपेक्षाको हद नाघ्ने गरी व्यवहार गरिएको छ ।’ सहिद परिवार संरक्षण समिति अध्यक्ष तथा सहिद पुत्र बलराम राईले पनि सहिदको नाम बेचेर कमाउने धेरै भए पनि आफूहरूको अवस्थाप्रति चासो नदिएकामा आक्रोश पोखे । 

सहिद परिवारलाई जीवन निर्वाह, स्वास्थ्य, शिक्षा र रोजगारमा राज्यपक्षबाट उचित सहयोग गरी राष्ट्रिय सहिद घोषणा गर्न नसकेको विभिन्न प्रतिवेदन सार्वजनिक भइसकेका छन् । हाल छिन्ताङ सहिद परिवारका ३० मध्ये २३ परिवारको अवस्था दयनीय छ । सहिद परिवारले पटकपटक प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सहिद घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्रलगायत उचित सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT