कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राणा र सिलवालको कडा टक्कर

कान्तिपुर संवाददाता

ललितपुर — लितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनावी भिडन्त रोचक बन्दै गएको छ । चुनाव नजिकिँदै जाँदा मुख्य प्रतिस्पर्धी कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालले प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका छन् । उनीहरूको दैनिकी घरदैलोदेखि चुनावी र्‍यालीमा बितेको छ ।

 राणा र सिलवालको कडा टक्कर

दुवै उम्मेदवारबीच मतदातालाई आफ्नो पक्षमा पार्न प्रतिबद्धताको पोको फुकाउने प्रतिस्पर्धा पनि उत्तिकै छ । 

विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका अर्थ राज्यमन्त्री राणा र पूर्वप्रहरी अधिकृत सिलवालबीचको भिडन्त राजधानीकै ‘हाइप्रोफाइल’ प्रतिस्पर्धाका रूपमा देखिएको छ । दुवै उम्मेदवारले आफ्ना एजेन्डासँगै प्रतिस्पर्धीका विभिन्न कमजोरीका कारण पनि आफूले जित्ने दाबीसमेत गर्दै आएका छन् । 

चुनाव प्रचारप्रसारकै क्रममा शुक्रबार दिउँसो वाग्मती गाउँपालिका वडा नं. ७ दुर्गम गिम्दीगाउँमा रहेका राणाले मतदातासँगको पुरानो सम्बन्ध र क्षेत्रको विकासमा आफूले पुर्‍याएको योगदान नै आफ्नो जितको प्रमुख आधार रहेको दाबी गरे । काठमाडौंलाई तराईसम्म जोड्ने कान्तिपथमा पर्याप्त बजेट उपलब्ध गराउनु, दर्जनौं सडकहरूको स्तरोन्नति, पक्की पुलहरूको निर्माण, विभिन्न सिँचाइ आयोजनाहरूको काम सुरु हुनुमा आफ्नो पहल रहेको राणाको दाबी छ । उनले चापागाउँमा प्रस्तावित रंगशालालाई बजेट विनियोजन गराउनु, दर्जनौं स्कुल तथा सामुदायिक भवनहरूको निर्माण तथा मर्मतसम्भार लगायतका कामहरू आफ्नो विशेष पहलमै भएको बताए । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत पनि दर्जनौं पूर्वाधारका काम सम्पन्न भएका छन्,’ राणाले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा, समावेशी विकास, पर्यटन, सिँचाइका क्षेत्रहरूमा आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गरिनेछ ।’  सिलवालले पनि चुनावी दौडलाई तीव्र पार्दै जित्ने दाबी गरेका छन् । ‘विगतमा गरिएका पानी, बिजुली, सडक, पुललगायतका चुनावी आश्वासनहरू केही पूरा भएका छैनन् त्यसले पुराना प्रतिनिधिप्रति जनताको विश्वास कमजोर छ,’ सिलवालले थपे, ‘मैले ठूला केही आश्वासन दिएको छैन, आफ्नो क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा मात्र मेरो ध्यान केन्द्रित छ ।’ कृषिमा उन्नत प्रविधि भित्र्याउने, महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विशेष जोड दिने, एकीकृत बस्ती विकासजस्ता कार्यक्रमहरू जनताको मत पाउन पर्याप्त भएको सिलवालको दाबी छ । 

राणा भने आफ्नो निष्कलंक छवि र पुरानो राजनीतिक कार्यकर्ताका हिसाबले गाउँठाउँ बुझेको र जनतामाझ भिजेको हुँदा सहजै चुनाव जित्ने कुरामा कुनै दुविधा नभएको बताउँछन् । ‘मैले त आफ्नो जीवन नै राजनीतिमा होमेको छु, प्रतिस्पर्धी (नवराज) त भर्खरै आउनुभएको त्यसमा पनि उहाँको पृष्ठभूमि नै निकै विवादास्पद छ ।’ तर, सिलवाल भने राजनीति पेसा नभएर विशुद्ध सेवा भएकाले कसले कति समय बितायो भन्ने कुराको कुनै अर्थ नहुने तर्क गर्छन् । ‘म राजनीतिलाई उद्योगधन्दा बनाउन आएको होइन । न कि यो जीवनयापन गर्ने पेसा नै हो’ सिलवालले बताए । 

ललितपुर १ नं क्षेत्रअन्तर्गत गोदावरी नगरपालिका, महाकांल गाउँपालिका, बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिका पर्छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रको कुल मतदाता संख्या ७६ हजार ५६७ छ । गत स्थानीय निर्वाचनमा गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा कांग्रेस, कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र र महांकाल गाउँपालिकामा एमाले विजयी भएको थियो । स्थानीयमा नगर प्रमुख र गाउँपालिका अध्यक्षले प्राप्त मतलाई आधार बनाउँदा ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा कांग्रेसले २० हजार ६६२, एमालेले १६ हजार ८९७ र माओवादीले १० हजार ३८ मत प्राप्त गरेका थिए । त्यसैगरी राप्रपाले करिब ४ हजार मत पाएको थियो । 

प्रकाशित : कार्तिक २६, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?