मोरङ ३ मा फरक विशेषताका उम्मेदवार भिड्दै

बेलबारी (मोरङ) — एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका उम्मेदवार बनेका मेडिकल कलेज सञ्चालक सुनील शर्माबीच मोरङ ३ मा चर्को प्रतिस्पर्धा देखिएको छ । तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्मा यस क्षेत्रमा उम्मेदवार भएपछि प्रतिस्पर्धाबारे चर्चा चलेको हो । दुवै आ–आफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

मोरङ ३ मा फरक विशेषताका उम्मेदवार भिड्दै

एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका उम्मेदवार बनेका मेडिकल कलेज सञ्चालक सुनील शर्माबीच मोरङ ३ मा चर्को प्रतिस्पर्धा देखिएको छ ।

तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्मा यस क्षेत्रमा उम्मेदवार भएपछि प्रतिस्पर्धाबारे चर्चा चलेको हो । दुवै आ–आफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

बेग्लाबेग्लै विशेषता भएका दुवै उम्मेदवारका कारण यो क्षेत्रमा राजनीतिक वातावरण तातेको छ । दुवै एकअर्कालाई आफूभन्दा फरक भन्दै मतदातामाझ पुगेर आकर्षित गरिरहेका छन् । ढकालले आफ्ना प्रतिस्पर्धी शर्मालाई ‘गैरराजनीतिक व्यक्तित्व’ भनेर टिप्पणी गर्ने गरेका छन् । यस्तै शर्माले ‘पाहुना’ उम्मेदवार भनेर ढकालप्रति कटाक्ष गर्ने गरेका छन् ।

२०७२ देखि संसदको अवधि सकिंदासम्म एमाले संसदीय दलका प्रमुख सचेतक रहेका ढकाल पार्टीमा पोलिटब्युरो सदस्य, संगठन विभाग उपप्रमुख पनि हुन् । उनी समानुपातिक पूर्व सांसद हुन् ।

दुवै उम्मेदवारका चुनावी मुद्दा पनि फरक छन् । ढकालले संविधान कार्यान्वयन नै आफ्नो र पार्टीको मुख्य मुद्दा भएको बताइरहेका छन् । ‘बहुमत नपुग्दा अस्थिर सरकार बन्ने गरेको र यसैका कारण विकास प्रक्रिया अवरुद्ध हुन पुगेको हाम्रो विगत छ,’ उनले भने, ‘अब वाम गठबन्धनको बहुमतको सरकार बन्ने भएकाले स्थिर र दीगो सरकार बन्छ र विकासका काम निर्वाध रुपमा अघि बढ्छ ।’ दुई तिहाइ ल्याएर ५ वर्षसम्म निरन्तर काम गर्ने दाबी गर्दै उनले यही कारण गठबन्धनको औचित्य मतदातामाझ पुर्‍याइरहेको बताए । यसबाहेक विकासका स्थानीय मुद्दा पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।

शर्माले भने क्षेत्रवासीलाई रोजगारी, भरपर्दो निःशुल्क स्वास्थ्य सेवा, विपन्नलाई निःशुल्क चिकित्साशास्त्र अध्ययनको सुविधा दिएको र यसलाई निरन्तरता दिने जस्ता आकर्षक आश्वासन मतदातामाझ पुर्‍याइरहेका छन् । ‘निर्वाचनमा जित हार जे भए पनि यो क्षेत्रको तीन स्थानमा अस्पताल खोलेर भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने योजना छ’ शर्माले भने । उनी नोवेल मेडिकल कलेजका सञ्चालक हुन् ।

ढकाल मोरङ ३ वाम गठबन्धनको सबैभन्दा बढी सुरक्षित स्थल भएकाले आफु जित्नेमा ढुक्क भएको बताउँछन् । यो क्षेत्रका स्थानीय निर्वाचनको मतलाई केलाउँदा कांग्रेसभन्दा वाम गठबन्धन करिब २१ हजारले अघि छ । शर्मा आपूmले यसक्षेत्रमा एक दशकदेखि पुर्‍याएको सामाजिक योगदानका कारण मतदाताले आफुलाई माया गर्नेमा ढुक्क रहेको बताउँछन् ।

यसक्षेत्रका हजारौं बासिन्दालाई सहज र निःशुल्क स्वास्थ्य सेवा, करिब ५ सयलाई रोजगारी र २ सय विपन्न, अल्पसंख्यक र दलितलाई निःशुल्क चिकित्साशास्त्र अध्ययन गर्दै आएकाले मतदाताले आफूलाई साथ र सहयोग गर्ने शर्माको दाबी छ । ‘मैले आफ्नो क्षेत्रका मतदाताको सेवामात्र होइन, सडकजस्ता पूर्वाधारमा पनि काम गर्दै आएको छु,’ उनले भने, ‘त्यसैले भाषणमात्र गर्नेलाई भन्दा बढी सहयोग पक्कै पाउनेछु ।’

रैथाने नेता योग्य र आकांक्षी हुँदाहुँदै ‘पाहुना’ उम्मेदवार ल्याएको भनेर असन्तुष्ट बनेका एमालेका स्थानीय नेता–कार्यकर्ताले विरोध पनि गरेका थिए । यही कारण एमालेका भेषराज रिजालले प्रतिनिधिसभा र डिबी राईले प्रदेशसभामा बागी उम्मेदवारी दिएका थिए । पछि उनीहरुले उम्मेदवारी फिर्ता लिए । ‘केही आन्तरिक समस्या थियो,’ ढकालले भने, ‘तर गहन छलफलपछि सबै समस्या समाधान भएको छ, अब हामी एक ढिक्का भएका छौं ।’

साविकको क्षेत्र नम्बर २, ३ र ८ लाई मिलाएर अहिले बनेको यो क्षेत्र २०४८ सालदेखि दोस्रो संविधानसभा निर्वाचनसम्म एमालेले जित्दै आएको क्षेत्र हो । यसअघि भरतमोहन अधिकारी, लालबाबु पण्डित र गोपी अछामीले संसद र संविधानसभामा प्रतिनिधित्व गरिसकेका छन् । यसैगरी पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लालबहादुर मगरले एमालेका अधिकारीलाई हराउँदै बिजयी बनेका थिए ।

पूर्वपश्चिम राजमार्गसमेत पर्ने यो क्षेत्र विकासमा भने पछि नै छ । ‘धेरै बिरालाले मुसा मार्दैन भनेझै भयो विगतमा यो क्षेत्र’ बयरवन रमाइलोका एमाले अगुवा कार्यकर्ता विष्णु पौडेलले भने, ‘अबचाहिँ विकासका काम नगरे झन् पछि पर्ने अवस्था छ, त्यसैले अबका प्रतिनिधिले यसमा गम्भीर हुनैपर्छ ।’

उनका अनुसार भित्री क्षेत्रमा सडक, सिंचाई, खानेपानीको सहज सुविधा छैन । चिसाङ र डाँस खोलाको कटान अनि डुबानबाट गाउँले बर्सेनि पीडित बन्नुपरेको उनले बताए । यसैगरी अव्यवस्थित सुकुम्बासी समस्या र जग्गामा द्वैध स्वामित्वको समस्या पनि यहाँको पुरानै हो ।

प्रकाशित : कार्तिक २७, २०७४ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?