१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : कांग्रेस ढुक्क, गठबन्धन मख्ख

डडेल्धुरा — आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ । विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : कांग्रेस ढुक्क, गठबन्धन मख्ख

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको कांग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय कांग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने कांग्रेसका स्थानीय नेता बताउँछन् ।

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनी विजयी हुनेमा ढुक्क छन् । तर उनलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए । 'प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो' उनले भने– 'यहाँका मतदाता कहिल्यै कांग्रेसको विपक्षमा हुँदैनन् ।' पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उनले स्वीकारे । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

'म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ' मल्लले भने– 'जिल्लाभर सबै भ्रातृ संगठन चुनावीसभामा खटिएका छन् ।' उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाए । 'चार चारपटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? ।' उनले भने– 'हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा कांग्रेसमा आबद्ध हुँदैछन ।' उनले डडेल्धुरामा कांग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे ।

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताए । उनको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताए । वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा चारवटामा कांग्रेस, दुईवटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।

वाम गठबन्धनका उम्मेदवार भट्टले चार/चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उनको विकल्प खोज्ने बताए । सत्ताइस वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उनको आरोप छ ।

'वाम गठबन्धनले यस पटक कांग्रेसलाई पराजित गर्छ,' उनले भने । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।

त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताए । 'धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्' उनले भने–'उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।' गत स्थानीय तहको निर्वाचनमा कांग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार जोशी ढुक्क छन् ।

देउवाका लागि सधैँ गठबन्धन : नेता मल्ल

वाम गठबन्धन पनि डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेसका पार्टी सभापति देउवालाई नै चुनाव जित्न यस पटक कठिन रहेको हल्ला फैलिरहेका बेला कांग्रेस डडेल्धुराले भने त्यसलाई सामान्यरुपमा लिएको छ । कांग्रेस जिल्ला सभापति मल्लले देउवाविरुद्ध डडेल्धुरामा सधैँ गठबन्धन हुने गरेको र पटक पटक सफल हुन नसकेको बताए । 'यस पटक देशव्यापी रुपमा वाम गठबन्धन भएकाले नौलो विषय लागेको हो ।' सभापति मल्लले भने– 'डडेल्धुरामा त २०४८ सालदेखि नै कांग्रेसको विपक्षमा गठबन्धन हुँदै आएको छ ।'

उनले जति गठबन्धन भए पनि डडेल्धुरामा कांग्रेसलाई असफल पार्न सम्भव नरहेको जिकिर गरे । 'यहाँ धेरै गठबन्धनका पात्र कांग्रेससामु टिक्न सकेका छैनन्,' उनले भने । गठबन्धनले डडेल्धुरामा देउवाले केही गर्न सकेन भन्नु अनर्गल प्रचारबाजी मात्रै भएको उनको दाबी छ । 'सुदूरपश्चिमको विकास निर्माणमा सभापति देउवाले गरेको योगदान गनेर सम्भव छैन,' मल्लले भने ।

यस्तै, डडेल्धुरा शिक्षक संघका अध्यक्ष कर्ण मडै स्थानीय तहमा कांग्रेसको आपसी तालमेलले मात्रै केही ठाउँमा पराजय व्यहोरोको बताउँछन् । आगामी निर्वाचनमा कांग्रेसलाई जितका लागि कुनै समस्या नहुने उनको भनाइ छ । 'कांग्रेस अहिले आन्तरिक गुटबन्दी हल गरेर चुनावी मैदानमा उत्रेको छ, मतपरिणाम कांग्रेसकै पक्षमा रहन्छ,' मडैले भने । एक सय १७ वटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता रहेका छन् ।

- रासस

प्रकाशित : कार्तिक २८, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?