कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भोट माग्दै सुटिङस्थलमै पुगे उम्मेदवार

कान्तिपुर संवाददाता

भक्तपुर — हास्य कलाकार हरिवंश आचार्य स्क्रिप्ट हेर्दै थिए । अर्का कलाकार किरण केसी सेक्यूरिटी गार्डको पोशाक लगाएर मोटरसाइकलमा आएका दिपकराज गिरीलाई स्यालुट गर्दै थिए । त्यति नै बेला भोट माग्दै भक्तपुर क्षेत्र नम्बर २ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत सुटिङ स्थलमै छिरे । सुटिङ भइरहँदा चर्को आवाजमा माइकिङ गर्दै एक हुल सुटिङ भएतिरै हानिए ।

भोट माग्दै सुटिङस्थलमै पुगे उम्मेदवार

यही क्षेत्रका अर्का उम्मेदवार दमननाथ ढुंगाना पनि अहिले यही बस्तीमा बस्छन् । अरु बेला पनि कार्यकर्ताको ओहोरदोहोर भएपनि यसरी माइकिङ गर्दै भने कुनै उम्मेदवार आएका थिएनन् । जब चुनाव प्रचार टोली सुटिङस्थलमै छिरेपछि सुटिङ हेरेर बसेका सर्वसाधरण भने फिल्मकै एउटा दृश्य हो की भन्ने आँकलन समेत गर्न भ्याए । तर, त्यो र्‍याली सुटिङको अंश नभई वास्तविक चुनावी प्रचार थियो ।

बालकोटस्थित रोज भिलेजमा मह सञ्चारको सत्रुगते फिल्मको किरण केसीको प्रस्तुतिमा सुटिङ भइरहेको थियो । ‘सुटिङ भइरहेको थियो । चुनाव प्रचार प्रसारमा आएको टिमले एक छिन रमाइलै गर्‍यो,’ केसीले भने । कलाकारहरु भक्तपुर क्षेत्र नम्बर २ को उम्मेदवार नभएपछि भोट मागे । कलाकारहरुले उम्मेदवारसँग चुनावी माहोलको जानकारी लिए । चुनाव प्रचारप्रसारमा हिँडेका कार्यकर्ताहरु कलाकारसँग फोटो खिचाउन समेत भ्याए । चुनाव प्रचार टोलीले गर्दा सुटिङ केही बेर रोकियो ।

भक्तपुरको क्षेत्र नम्बर २ मा यसपाली पूर्व सभामुख दमननाथ ढुंगाना उम्मेदवार भएपछि चुनावी चासो बढेको छ । उनका प्रतिस्पर्धी एमालेबाट बस्नेत छन् । नेमकिपाबाट अनुराधा थापामगर छिन् । ढुंगानाले शनिबारदेखि चित्तपोलबाट घरदैलो सुरु गरेका हुन् । मंगलबार सिपाडोलमा घरदैलो सकाए भने बस्नेतले सोमबारदेखि सूर्यबिनायक नगरपालिका १ बालकोटबाट घरदैलो सुरु गरेका हुन् । मंगलबार बालकोट क्षेत्रमा घरदैलो सकाए । उनीहरुका प्रतिस्पर्धी थापामगरले भने कार्यकर्ता भेटघाटमा व्यस्त छिन् ।

यी तीन जना सहित भक्तपुर क्षेत्र नम्बर २ मा १३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयका अनुसार मालेबाट बसन्तबहादुर खत्री, जनमोर्चाबाट शिवहरी खनाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ताराकुमारी बास्कोटा, राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ, विवेकशिल साझाबाट शशिबिक्रम थापा, नयाँ शक्ति पार्टीबाट राम खाइजु र नेपाल दलित पार्टीबाट कमला बर्देवा उम्मेदवार हुन् । त्यस बाहेक सुरेन्द्र था श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, धर्मराज थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित : कार्तिक २८, २०७४ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?