कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा लोकतान्त्रिक गठबन्धनलाई चुनौती

सिन्धुली — स्थानीय तहमा प्राप्त मतका आधारमा सिन्धुलीमा वामपन्थी गठबन्धनका पक्षमा ६० प्रतिशतभन्दा बढी मत छ । तर, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल त्यसैलाई चुनाव जित्ने मुख्य आधार मानेर ढुक्क हुने स्थितिमा छैनन् ।

सिन्धुलीमा लोकतान्त्रिक गठबन्धनलाई चुनौती

सिन्धुली २ बाट प्रतिनिधिसभाका उम्मेदवार गजुरेलले सोमबार सदरमुकामबाट करिब २७ किलोमिटर टाढा मरिण गाउँपालिकाको चुनावी कार्यक्रममा जाने हतारोबीच कान्तिपुरसँग भने, ‘वामपन्थी गठबन्धन छँदै छ, तर मैले जिल्लामा गरेको विकास निर्माणलाई जित्ने मुख्य आधार मानेको छु ।’

गजुरेलले कृषि क्याम्पसको स्थापना, दुम्जादेखि लालबन्दीसम्मको बाटो, कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्मथलो दुम्जालाई बीपी र कृष्णप्रसाद (बीपीको बुवा) को स्मृतिमा पर्यटकीय स्थलका रूपमा विकास, मोटर पुल, झोलुंगे पुल, प्राविधिक शिक्षालय, विश्वविद्यालय स्थापना, जिल्लामा ख्याति कमाएको जुनार जोन बनाउनेलगायत राष्ट्रिय महत्त्वको विकास आफ्नै अग्रसरतामा सुरु भएको दाबी गरे ।

‘२०६४ मा कांग्रेस र एमालेकै मतदाताले भोट हालेर सीपी (चन्द्रप्रसाद गजुरेल) जीलाई जिताएँ । पार्टी फुट्यो । संविधान पनि बनेन । माओवादीप्रति जनताको निराशा छायो,’ गजुरेलले भने, ‘म आएपछि जनतालाई विकाससँग जोड्ने गरी आशा जगाएको छु । सबैमा उत्साह छाएको छ । तैपनि निर्वाचन हो । जितिन्छ भनेर ढुक्क हुने स्थिति छैन ।’
तीनबाट घटेर दुई निर्वाचन क्षेत्र भएको सिन्धुलीमा वाम गठबन्धनबाट एमाले र माओवादी केन्द्रका बराबरी उम्मेदवारी छन् । प्रतिनिधिसभामा १ क्षेत्रमा एमालेबाट गणेश पहाडी छन् भने २ मा गजुरेल । प्रदेशसभाका लागि १ ‘क’ मा माओवादीका लेखनाथ दाहाल (राजन) तथा ‘ख’ मा एमालेका प्रदिप कटुवाल छन् । २ ‘क’ मा एमालेका विनोद खडका र ‘ख’ मा माओवादीका बुद्धिमान माझी छन् ।

एमाले र माओवादी केन्द्रबीच दोस्रो संविधानसभा निर्वाचन र त्यसयता निकै द्वन्द्वपूर्ण स्थिति रह्यो । एकले अर्काको अस्तित्व मेटाउने गतिविधि र होडका बीच केन्द्रमा गठबन्धन बन्यो । त्यसयता जिल्लामा नकारात्मक असर सतहमा देखिएको छैन । तर, कांग्रेस उम्मेदवारहरू भित्रभित्रै एकले अर्काको अस्तित्व नस्वीकार्ने खालको असन्तुष्टि वाम गठबन्धनमा चर्किरहेकाले त्यसको फाइदा आफूहरूलाई हुने आसमा देखिन्छन् । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे वाम गठबन्धनका असन्तुष्ट पक्षसँग कांग्रेसले कुराकानी गरिरहेको बताए । ‘विगतमा चर्केको द्वन्द्वका कारण वाम गठबन्धनका कार्यकर्ता अझै मिलिसकेका छैनन् । त्यसको लाभ कांग्रेसलाई मिल्नेवाला छ,’ घिमिरेले भने, ‘कांग्रेसभित्रको एकता, वाम गठबन्धनमा भित्रभित्रै चर्केको असन्तुष्टिका कारण दुवै क्षेत्रमा कांग्रेस बलियो बन्दै गएको छ ।’ कांग्रेसका पूर्वसांसद मोहन बराल स्थानीय तहमा देखिएको डरलाग्दो मतान्तर मेटाएर कांग्रेसलाई चुनाव जित्न वाम गठबन्धन भत्काउनुपर्ने बताउँछन् ।

‘अहिले हामी रक्षात्मक छौं । हाम्रा निर्वाचन कार्यक्रम र योजनाले ५० प्रतिशत वाम गठबन्धनको मत भत्काउने योजना छ,’ उनले भने, ‘२० प्रतिशत भत्किसकेको छ । अब ३० प्रतिशत भत्काउन सक्यौं भने सहज हुनेवाला छ ।’ कांग्रेसले प्रतिनिधिसभामा क्षेत्र १ बाट प्रेमचन्द्र दाहाल र २ बाट नरेन्द्रजंग थापालाई उम्मेदवार बनाएको छ । प्रदेशमा १ ‘क’ बाट गंगा गिरी र ‘ख’ बाट श्याम घिमिरे उम्मेदवार छन् । २ ‘क’ मा माणिक ढकाल र ‘ख’ मा क्षेत्र बम्जन छन् ।

एमाले जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र १ को प्रदेश ‘ख’ का उम्मेदवार कटुवाल आफ्नै पार्टीभित्र बेमेल रहे पनि एमाले र माओवादी केन्द्रबीचको एकता जिल्लामा बलियो रहेको दाबी गरे । कांग्रेसले एमाले र माओवादी केन्द्रबीच भित्रभित्र चर्केको द्वन्द्वको फाइदा लिन सकिने बताइरहेका बेला उनले भने त्यस्तो सम्भावना सिन्धुलीमा नरहेको बताए । ‘हिजोको दिनमा माओवादी र एमालेबीच प्रतिस्पर्धासँगै द्वन्द्व, झैझगडा थियो नै, अब त्यस्तो घटना नहुने भयो भनेर नै स्थानीयस्तरमै दुई दलबीचको एकता अझ मजबुत भएको छ,’ उनले भने, ‘कांग्रेसले त्यस्तो मत तान्ने नचिताए हुन्छ, वामपन्थी गठबन्धनले जिल्लाका सबै क्षेत्र जित्छ ।’

स्थानीय तहको चुनावमा क्षेत्र १ मा कांग्रेससहितको लोकतान्त्रिकको भन्दा वाम गठबन्धनको मत १३ हजार ४ सय ५१ बढी छ । स्थानीय तहमा कांग्रेसको २१ हजार ६ सय र कांग्रेस गठबन्धनमा रहेको राप्रपाको जम्मा १ सय ५३ मत थियो । जबकि एमालेको २१ हजार ५ सय ८८ र माओवादीको १३ हजार ६ सय १६ मत थियो । क्षेत्र २ मा पनि वाम गठबन्धनको मत १८ हजार ४० ले अघि छ । लोकतान्त्रिक गठबन्धनको पक्षमा यस क्षेत्रमा १७ हजार ७० मत र वाम गठबन्धनको पक्षमा ३५ हजार १ सय १६ मत छ ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनेशकुमार श्रेष्ठले स्थानीय तहमा प्राप्त मतलाई आधार मानेर अहिल्यै परिणाम अनुमान लगाउन गाह्रो हुने बताए । माओवादी र एमालेबीच विगतमा भएका द्वन्द्वको घाउ साम्य भइनसकेका कारण वाम गठबन्धनको मत सर्लक्कै एकै ठाउंँमा जानेमा विश्वस्त हुन नसकिने उनको तर्क छ ।

‘तल्लो तहमा अझै पनि दुई दलका कार्यकर्ताबीच तिक्तता छ । त्यसको फाइदा कांग्रेसले लिने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ,’ उनले थपे, ‘कांग्रेसले आन्तरिक घरझगडा मिलाएको र उम्मेदवार दिँदा पनि पुराना र संघर्षशील नेतालाई दिएका कारण वामपन्थीले स्थानीय तहमा पाएको मत निर्णायक नहुने देखिन्छ ।’ यद्यपि कांग्रेसका लागि वामपन्थी मत तानेर जित्न ठूलो चुनौती रहेको उनले बताए ।

०४८ यताको निर्वाचन परिणाम केलाउने हो भने यहाँका जनताले निरन्तर एउटै पार्टीलाई विजयी बनाएका छैनन् । पुन:संरचना अघि कायम रहेका तीन निर्वाचन क्षेत्रमा ०७० को संविधानसभा चुनावमा कांग्रेस, एमाले र माओवादीले एक/एक सिट जितेका थिए । ०४८ मा २ सिटमा कांंग्रेस र १ सिटमा एमाले आएको थियो । ०५१ को मध्यावधि निर्वाचनमा तीनवटै सिटमा कांग्रेस विजयी भएको थियो । ०५६ मा कांग्रेसले सबै सिट गुमायो । त्यतिबेला एमाले २ र जनमोर्चा नेपाल एक सिटमा विजयी भएको थियो । ०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीले २ सिट जित्यो भने एमाले एक सिटमा विजयी भएको थियो । विभिन्न समयमा भएका निर्वाचन परिणामका नतिजाले मतदाताहरू स्थिर भएर एउटै पार्टीमा रहेको देखिन्न ।

सिन्धुली बहुमुखी क्याम्पसका पूर्वप्रमुख विश्वराज शर्मा सिन्धुलीमा पहिल्यैदेखि वामपन्थी जनमत बढी भएको बताउंँछन । ‘अहिले पनि ६२ देखि ६५ प्रतिशतको हाराहारीमा वामपन्थी मत छ,’ उनले भने, ‘विगतमा वामपन्थीहरू विभाजित भएको फाइदा बेलाबखत कांग्रेसले लिएको हो । तर, एकीकरण हुँदा कांग्रेसका लागि कठिनाइ छ ।’

भित्रभित्रै ‘दाउपेच’ को राजनीति नभए दुवै क्षेत्रमा वामपन्थी उम्मेदवार निर्वाचित हुने ठोकुवा पनि शर्माले गरे । ‘सिन्धुलीमा जातीय भोट छैन । सैद्धान्तिक मात्रै हो,’ उनले भने, ‘सैद्धान्तिक मतमा तलमाथि भएन भने वामपन्थीकै पकड हुने देखिन्छ ।’ तर, स्थानीय नेताहरू भने केही प्रतिशत जातीय मतको प्रभाव रहने दाबी गर्छन् । जिल्लामा सबैभन्दा बढी तामाङको बाहुल्य छ । तामाङको मात्रै यहाँ ३६.२८ जनसंख्या छ । जबकि खसआर्यको २३ प्रतिशत छ । दलितको १३ प्रतिशत छ । जातीय मत तान्न कांग्रेसले क्षेत्र २ को ‘ख’ मा तामाङलाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट तामाङ उम्मेदवार छैनन् । गठबन्धनले क्षेत्र २ ‘ख’ मा सीमान्तकृत माझीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?